भर्खरै :

चिनियाँ समाचार संस्था सिन्ह्वामा सी चिनफिङको नेपाल भ्रमण

चाङ निङ, केङ स्युपेङ र चाओ शिनपिङ
चिनियाँ राष्ट्रपति सी चिनफिङको आइतबार सम्पन्न नेपालको राजकीय भ्रमणले दुईपक्षीय सम्बन्धको मार्ग तय गरेको छ । भ्रमणको क्रममा सीले नेपालका अन्य राजनीतिक व्यक्तित्वहरूसहित नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नुभयो । उहाँ २० वटा दुई पक्षीय सहकार्य दस्तावेजमाथि हस्ताक्षर कार्यक्रममा सहभागी हुनुभयो ।
दुई पक्षले विकास र समृद्धिको लागि दिगो मित्रताका लागि रणनीतिक साझेदारी सहकार्यलाई अझ उचाइमा अघि बढाउने सहमति गरेका छन् । साथै चीन–नेपाल सम्बन्धको नयाँ अध्यायको पनि आरम्भ गर्नेमा सहमत भएका छन् ।
ऐतिहासिक मित्रता
सीलाई स्वागत गर्दै धेरै नेपाली जनताले सिन्ह्वालाई चीनले आफ्नो देशको सामाजिक र आर्थिक विकासमा सहयोग गरेको बताए । उनीहरूले दुई देशबीचको सम्बन्ध अझ निकट बन्ने आशा व्यक्त गरे ।
चिनियाँ राष्ट्रपतिले राजधानी काठमाडौँमा न्यानो स्वागत पाउनुभयो । सी पुग्नुभएको सहरका सबैजसो खम्बामा चीन र नेपालका राष्ट्रिय झन्डा तथा सी र भण्डारीका तस्वीर टाङ्गिएको थियो ।
“नेपाल र चीनबीच ऐतिहासिक मित्रता छ । राष्ट्रपति सीको भ्रमणपश्चात् हामीबीचको सम्बन्ध अझ अघि बढ्नेमा नेपाली जनता आशावादी छन्”, काठमाडौंको सबभन्दा चल्ती बजारमध्ये पर्ने ठमेल बजारमा खास्टो पसले मन्जुरले भन्नुभयो । उहाँले आफ्नो पूरा नाम भने उल्लेख गर्न चाहनुभएन ।
मध्य नेपालको काठमाडौँ उपत्यकामा अवस्थित भक्तपुर नगरका नगरप्रमुख सुनिल प्रजापतिले सीको भ्रमणले धेरै चिनियाँ जनताको राडरमा नेपाल समावेश हुने अपेक्षा गरेको र धेरै चिनियाँ पर्यटक नेपाल आउने आशा व्यक्त गर्नुभयो । यसले नेपालको आर्थिक विकासको निम्ति नयाँ महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो ।
“राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाल र चीनबीचको सहकार्यलाई अझ गहिरो बनाउनुका साथै नेपालको विकासमा नयाँ गति हासिल हुनेछ”, नगरप्रमुख प्रजापतिले भन्नुभयो ।
पूर्वाधार स्तरोन्नति
सहकार्यका दस्तावेजमा भएको सहमतिप्रति खुशी व्यक्त गर्दै नेपाली साप्ताहिक पिपुल्स रिभ्युका प्रधानसम्पादक पुष्पराज प्रधानले “यातायात र व्यापारसम्बन्धी दस्तावेजमा भएको सहमतिले नेपालको आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने” बताउनुभयो ।
प्रधानले दुई देशबीच भएको बृहत् पूर्वाधार कार्यक्रम अन्तरहिमालय सम्बन्ध सञ्जालले नेपालका सडक, रेलमार्ग र हवाई यातायातमा विकास हुनुका साथै दुई पक्षीय सम्बन्ध विस्तार हुनेमा आशा व्यक्त गर्नुभयो ।
बङ्गलादेशका लागि नेपालका पूर्व राजदूत मोहन लोहनीले अन्तर हिमालय सम्बन्ध सञ्जालको महत्वमा जोड दिँदै हस्ताक्षर भएको सहकार्य दस्तावेजले ‘भविष्यमा दुई देशबीच अझ कसिलो सम्बन्ध जोडिने आशा जगाएको’ बताउनुभयो ।
अन्तर हिमालय सम्बन्ध सञ्जालको योजनाले प्रभावकारी मार्गको रुपमा काम गर्ने, त्यही मार्ग भएर धेरैभन्दा धेरै नेपाली वस्तु चीनमा जानेछ र सो क्षेत्रको बृहत् बजारमा पहुँच हासिल विस्तार हुने नेपालका चर्चित राजनीतिक विश्लेषक युवराज संग्रौलाले भन्नुभयो ।
परराष्ट्र नीतिविद् हिरण्यलाल श्रेष्ठले भन्नुभयो,“हिमालय वारपार पूर्वाधार विकासका लागि चीनको चासोले हिमाललाई अवरोध नभई मित्रताको चिन्ह हुनेछ ।”
आधारपत्र
सीको भ्रमणअघि ओलीले सिन्ह्वालाई चीनसँगको मित्रता बलियो बनाउन र बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत चीनसँग सम्बन्ध विस्तार गर्न चाहेको बताउनुभयो । “बीआरआई र अरू दुई पक्षीय परियोजनामार्फत आर्थिक विकासमा हामी आफैं केन्द्रित छौं”, प्रधानमन्त्रीले भन्नुभयो, “चीन हाम्रो ठूलो सहयोगी हो ।”
ओलीले सीको ऐतिहासिक भ्रमणले नेपाल–चीन सम्बन्धले ‘नयाँ आधार’ निर्माण गरेको र नयाँ युगको सम्बन्धको रुपमा अघि बढ्ने बताउनुभयो ।
“दुवै देशले आपसमा सधैं सम्मान गर्दै आएका छौं, एक आपसलाई समर्थन गर्दै आएका छौं र एक आपसका आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गरेको छैन”, उहाँले भन्नुभयो,“हाम्रो ऐतिहासिक सम्बन्ध अटुट छ ।”
(ल्यु तियान, पाई सु र माओ पेङफेईको सहयोगमा)
– सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *