सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
–सुरजसिंह
एमाले र एमाओवादीको अपूर्ण एकीकरणबाट जन्मेको पार्टी नेकपाको वर्तमान सरकारलाई कम्युनिस्ट सरकारका बारेमा स्वयम् नेकपाले भन्दा बढी नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरूले प्रचार कार्य गरिरहेको देख्दा अचम्म लाग्छ । अहिलेको नेकपा भनौँ वा हिजोको एमाले वास्तवमा भाइकाङ्ग्रेस मार्कामात्र हो । वर्तमान नेकपाको ओली–दाहाल सरकार हिजोको नेपाली काङ्ग्रेसको एकमना सरकारकै पदचिह्नमा हिँडिरहेको छ । आजको ओली – दाहाल सरकार राजनीतिक र आर्थिक नीतिदेखि कुनै पनि क्षेत्रमा हिजोको नेपाली काङ्ग्रेसको सरकारभन्दा भिन्न ढङ्गले अगाडि बढ्न सकेको छैन । पात्रहरू फरक छन् तर नीति र प्रवृत्ति उही छ । त्यसैले देशको कुनै पनि क्षेत्रमा स्वाभाविकरूपमा हुने विकासबाहेक सरकारको सक्रियतामा कुनै उल्लेख्य विकास भएको छैन । अनियमितता र भ्रष्टाचारका काण्ड र घटना उस्तैरूपमा अगाडि आइरहेका छन् । हिजो काङ्ग्रेसी मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका थिए । मन्त्री हुन नपाएका अरू काङ्ग्रेसी सांसद र नेताहरू आफ्नै पार्टीको सरकार र मन्त्रीहरूको विरोध गर्थे, खेदो खन्ने गर्थे । आज ओली–दाहाल सरकारका मन्त्रीहरू एकपछि अर्को पद दुरुपयोग, अनैतिक सुविधा, अनियमितता, भ्रष्टाचारका काण्डहरूमा फसिरहेका छन् । नेकपाकै केही नेताहरू सरकार र मन्त्रीहरूको कदमको विरोध गरिरहेका छन् । उनीहरूको विरोधमा कता कता स्वाङमात्र देखिन्छ वास्तविक विरोध पटक्कै लाग्दैन । यस्तोमा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरूले कम्युनिस्ट तौर–तरिकाले शासन गर्न खोजेको जुन आरोप लगाइरहेका छन्, त्यो सरकारमा बसेर हालीमुहाली गर्न नपाएको अवस्थामा उत्पन्न आकुलब्याकुलपनबाहेक अर्थोक लाग्दैन । ओली–दाहाल सरकारबारे जनतामाझ भ्रम फैलाएर उनीहरू अर्को निर्वाचनमा आफ्नो पार्टीको सरकार आफ्ना लागि सांसद र मन्त्री पद सुरक्षित गर्ने पुँजीवादी राजनीतिको खेल खेलिरहेका छन् ।
Leave a Reply