भर्खरै :

भूमाफियाहरू दलभित्र सक्रिय !

– गोपाल नगरकोटी
कुनै पनि कम्युनिस्ट पार्टीले निर्वाचनमा पैसाले मतदाता खरिद गर्दैन । निर्वाचनमा आफ्नो दल र उम्मेदवारको प्रचारप्रसारको निम्ति खर्च गर्नु एउटा पाटो हो भने भोज खुवाएर, पैसा बाँडेर, जागिरको लोभ देखाएर, ठेक्कापट्टा दिने विश्वास दिलाएर र डर धम्की दिएर मत लिनु अर्को पाटो हो । गएको निर्वाचनमा पूर्व एमालेले पैसा बाँडेकै हो, भोज खुवाएकै हो । यो कम्युनिस्टको सिद्धान्त र विचारविपरीत कार्य हो । निर्वाचनमा त दलको सिद्धान्त र विचार प्रचार गरी आफ्नो उम्मेदवारी जिताउनुपर्ने हो । डर, धम्की, लोभलालच देखाएर निर्वाचन जितेरै के गर्ने ? निर्वाचनमा मतदाता या कुनै समूहलाई पैसा बाँड्नु हुँदैन भन्ने कुरालाई एमालेकै नेताहरूले पैसा बाँडेको स्वीकार्दै भने, पैसा बाँड्नु पनि त निर्वाचनको लागि भएको खर्च हो । यसले थाहा हुन्छ, ठूला दलका नेताहरूलाई निर्वाचनमा होस् या अरु बेला मुख्य कुरा दलको सिद्धान्त र विचार होइन जसरी भए पनि निर्वाचन जित्ने, सरकारमा जाने र निर्वाचनमा भएको खर्च उठाउने ।
राजनीतिलाई दलले कमाउ खाने धन्दा बनाएकैले देशमा भ्रष्टाचार बढेको हो, कुशासनले ठाउँ पाएको हो । देशको नेतृत्व गर्ने दलको नियत्त नै खराब भएपछि, राजनीति नै भ्रष्ट भएपछि देशमा कसरी सुशासन र विधिको शासन हुन्छ ? प्रत्येक राजनीतिक दलको नियत सफा हुनुपर्छ । त्यही भएर नेकपाकै नेता युवराज ज्ञवालीले भने, “देशमा राजनीति गर्नेहरूलाई समाजवादउन्मुख होइन, भोगविलासउन्मुख बनाउँदै छ ।” सरकार समाजवादउन्मुखतिर अघि बढेको भए सरकारको बजेट, नीति तथा कार्यक्रमबाट काम गरी खाने जनताले बढी राहत पाउनुपर्ने हो । तर, देशमा तिनै शोषितपीडित जनता बढी प्रताडित छन् । सरकारको नेतृत्व गर्ने दल देश र जनताप्रति समर्पित नहुँदा राजनीति जनताको सेवा गर्न नभएर आ–आफ्नो डम्फू बजाउन या पेट भर्न केन्द्रित भएको देखिन्छ ।
देशको नेतृत्व गर्ने दल सम्पति लुट्ने काममा सरिक भइरहेको जनगुनासो उहिलेकै हो । कम्युनिस्ट भनिने पार्टीका नेता र मन्त्रीहरू किसान र मजदुरको सेवा त के उच्चारण गर्न पनि मनपराउँदैनन् । दलको काममा भूमाफियाहरू किन सक्रिय हुन्छन् ? ‘गुण्डा’ भनी चिनिने पात्रहरू पार्टीको किन विश्वासिला पात्र बन्छन् ? भूमाफिया र गुण्डाहरू हातमा लिएर देश चलाउने, विकासको ध्वाङ फुक्ने र विकास देख्न आँखा खोल भनी अरुलाई ‘अन्धा’ देख्ने प्रधानमन्त्री ओलीको फुइँ पनि कम्तीको छैन । के ओली नेतृत्वको सरकारको शासन कम्युनिस्टको आचरणअनुसार भइरहेको हो ? के अब नेपालमा पुँजीवादी शोषण छैन ? सामन्तवादका अवशेष छैनन् ? देशमा सामन्ती अवशेष र पुँजीवादी बन्दोबस्त नै छ भने कम्युनिस्टको सरकारको अ‍ैचित्यता के ? कम्युनिस्ट शासन स्थापना हुनेबित्तिकै सबै शोषण, दमन अन्त्य नभए पनि कमसेकम त्यो कम हुँदै जानुपर्छ, कम गर्न पहल गर्नुपर्छ । सरकारले के काम गरेको आधारमा देशमा कम्युनिस्टको सरकार छ भनेर विश्वास गर्ने ? सरकारको नेतृत्व त कुनै दलले गर्छ । तर, यहाँ सरकारको नेतृत्व गरेर गर्व गर्ने होइन, बहुमत जनताको हितमा काम गरेर पो गर्व गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *