नार्सियाली अर्थात् मनोगतवादी रोग अत्यन्त आत्मघाती हुन्छ
- जेष्ठ १७, २०८३
धु्रवरत्न हाडा
(३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्य)
डाक्टर अशोकानन्द मिश्रको कुरा सुन्दा सुन्ने धित मरेको छैन । पहिलेको भक्तपुरको कुरा सुन्दा निकै रोचक लाग्यो । भक्तपुरको पहिलेको अस्पताल, बाटोघाटो र अरु कुराको चर्चाले मलाई पनि धेरै कुराको याद गरायो । ५०–५१ वर्षअघि म पनि भक्तपुरका टोल टोलमा हास्यव्यङ्ग्य प्रदर्शन गर्दै हिंड्थेँ । यस्ता सम्मेलन हुँदा म नभई हुँदैनथ्यो । त्यतिबेलाको मदनकृष्ण–हरिवंश भने पनि भयो ।
नेपालभाषामा बोल्न गाह«ो, बोल्नभन्दा लेख्न गाह«ो अनि लेख्नभन्दा पढ्न झन गाह«ो । ५१ वर्षअघि हामीले ‘अन्तर्वार्ता’ नामको एउटा हास्यव्यङ्ग्य प्रस्तुत गरेका थियौँ । त्यसमा एक जनाले सोध्छ–“तिमीलाई अङ्ग्रेजी भाषा त निकै आउने होला !”
जवाफ आउँछ,“किन नआउनु । अङ्ग्रेजी भाषामा नआई कोही अन्तर्वार्ता दिन आउँछ ?”
एउटा कागज दिएर प्रश्नकर्ताले भन्छ,“लौ त यो पढेर सुनाउनु त ।”
कागज यसो नियालेपछि उत्तरदाताले भन्छ,“माफ गर्नुहोला । म यो दिउँसो पढ्न सक्दिनँ ।”
“दिउँसो पढ्न नसक्ने रे । किन ?”
“म नाइट कलेजबाट पास गरेको हुनाले म यो दिउँसो पढ्न सक्दिनँ ।” मलाई पनि आज पढ्न गाह«ो भइरहेको छ ।
अन्तर्वार्तामा भन्छ,“तपाईँको अनुहार हेर्दा त धेरै ठाउँमा अन्तर्वार्ता दिनुभएको जस्तो लाग्छ ।”
उत्तरदाताले भन्छ,“धेरै ठाउँमा दिइसकेको छु । के गर्नु सबैतिरबाट फेल भनेर फाल्छन् ।”
“कसरी ?”
“लिखितमा त उत्तीर्ण हुनैपर्ने । नेपालको प्रधानमन्त्री को भन्ने प्रश्न थियो । मैले राम्ररी नै जवाफ दिएको थिएँ ।”्
“अनि कसरी अनुत्तीर्ण हुनुभयो त ?”
“परीक्षाको नतिजा निकाल्दासम्म प्रधानमन्त्री नै अर्कै भइसकेको हुन्छ । अनि म अनुत्तीर्ण हुन्दिन त ।” त्यतिबेला तीन तीन महिनामा मन्त्रीहरू फेरिरहन्थ्यो ।
“एउटा अर्को प्रश्न सोध्छु । खानेकुरामध्ये सबभन्दा मीठो, जति खायो त्यत्ति मीठो, असाध्यै मीठो के हो ?”
“त्यो त निकै सजिलो प्रश्न भयो ।”
“के हो त भन ।”
“घूस हो घूस । माथिल्लो ओहदाकालाई जति खाए पनि नपुग्ने, खाइरहन मन हुने ।”
अर्को प्रश्न, “जेरीमा कसरी चास्नी पस्यो ?”
उत्तरदाताको उत्तर, “भ¥र्याङ हुँदाहुँदै झ्यालबाट अरुको स्वास्नी सुत्दै गरेको कोठामा कसरी पस्यो ? रक्सी बोकेर अरुको श्रीमती बसेको कोठामा कसरी पस्यो ? हो, चास्नी पनि त्यसरी नै जेरीमा पस्यो ।”
मेरा धेरै हास्यव्यङ्ग्यमध्ये एउटा थियो, अन्तर्वार्ता ।
मदनकृष्ण मेरो भाइजस्तै थिए । उनी नेपालभाषामा गीत गाउँथे । म हँसाउने । एक दिन मलाई निकै गौर गरेर हेरिसकेपछि उनले भने, “ध्रुव दाइ मलाई पनि सबैलाई हँसाएर गीत गाउन रहर लाग्यो ।”
“भोलि सूर्यविनायकमा कार्यक्रम छ । मैले पनि हँसाउन पाए गज्जब हुने थियो”, उनले भने ।
मैले भनेँ, “भोलिको कार्यक्रममा तिमीलाई चाइनिज भाषाबाट बोलेजस्तो गरेर उद्घोषण गरेर आफ्नो गीत प्रस्तुत गर्दा हुन्छ ।”
उनले भने,“सकिएला त ।”
उनले रातभर रिहर्सल गरेछन् । मैले ‘चिनियाँ भाषा’ मा बोलेको देखेर उनी खुब हाँस्थे ।
पद्म हाइस्कूलमा साहित्य सम्मेलन हुन्थ्यो । कहिले तालाक्वमा । विराटभाषा साहित्य सम्मेलन हुन्थ्यो ।
आजभोलि मलाई कसैले चिन्दैनन् । बुढो भएँ । पहिलेका कोही बाँकी छैनन् । मेरा मिल्ने साथीहरू रामशेखर नकर्मी, गणेशचरण राय सबै रहेनन् । अब त मेरै पालो हो । यहाँका पुराना पुराना व्यक्तित्वहरूको तस्वीर राखेर सङ्क्षिप्त जीवनी राख्न पाए भोलिको पुस्ताले हाम्रो ठाउँमा पनि यस्ता मानिस रहेछन् भनी थाहा पाउने थिए ।
मेरा धेरै हास्यव्यङ्ग्यमध्ये अन्तर्वार्ता नामको यो हास्यव्यङ्ग्य धेरैले मनपराएको हास्यव्यङ्ग्य हो ।
“ङातापोल कसले बनाएको ?”
“भूपतीन्द्र मल्लले बनाएको ।”
“कहाँ हुनु !”
“डकर्मी, सिकर्मी, अवालले बनाएका हुन् । कसको पालामा बनेको भन्दा भूपतीन्द्र मल्लको पालामा भन्न मिल्छ । बनाउने त भूपतीन्द्र मल्ल थिएनन् ।”
भक्तपुरको पुरानो कलाकारको नाताले मलाई नेपालभाषा साहित्य तःमुंज्याको दबुमा सम्मान गरेकोमा म ज्यादै खुसी छु । त्यसको लागि म आभारी छु । त्यसो त भक्तपुरको कला क्षेत्रमा पाइला राख्न नपाएको धेरै भयो । तर, कला क्षेत्रमा मैले विगतमा गरेको योगदानको कदर गर्दै मप्रति माया दर्साउनुभएकोमा म पुनः आभार व्यक्त गर्न चाहन्छु । हामीले सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्दै जानुपर्छ । यसरी सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न नसके हाम्रो अस्तित्व बाँकी रहँदैन । हाम्रो अस्तित्व जोगाउन सधैँ अघि बढ्न जरुरी छ । सांस्कृतिक गतिविधि अघि लान सजिलो काम होइन । खुबी भएका लेखक र कलाकारमात्र भएर पुग्दैन, आर्थिक टेवाको पनि खाँचो छ । एउटा घटना सम्झन्छु । नारायणगोपालसँग हामी कीर्तिपुरको एउटा कार्यक्रममा सहभागी बनेका थियौँ । त्यत्तिबेला पैसा दिने चलन थिएन । सम्हेबजी र अलिकति रक्सी खान दिइन्थ्यो । दर्शकले ताली बजाएपछि हामी मख्ख पथ्र्यौं । आधा रातसम्म कार्यक्रम गरेर हामी फर्कियौँ । फर्किन लाग्दा आयोजकले भन्यो,“अर्को महिना एउटा अर्को कार्यक्रम गर्ने कि !”
नारायणगोपालले जवाफ दिए, “कार्यक्रम गर्न कलाकारको पेट पनि त भर्नुप¥यो नि । भोको पेट भएको मान्छेलाई सुन्दर हिमाल देखाएर कुनै अर्थ हुन्न । गुलाब देखाएर पनि कुनै अर्थ हुन्न । पहिले पेट भर्नुप¥यो । पेट नभरेकोले कसरी नाच्छ ?”
रातको १ बजे घर पुग्यौँ । ढोका सबै बन्द थियो । यस्तै कार्तिक महिनाको समय थियो । बा ! भनेर बोलाएँ । छरछिमेकी सबै ब्युँझे । यसो झ्यालबाट हेरे । “आमा ! आमा !” भनेँ । अहँ, ढोका खोलेन छरछिमेक सबैले हेर्दा लाज भयो । आखिरमा बुबाले ढोका खोल्नुभयो र भन्नुभयो,“सारङ्गी एउटा लिएर आऊँ कि । टोल टोलमा गएर मागी खान । दबु देख्नै नहुने नाच्दै हिँड्ने । त्यही जाऊ । यहाँ किन आउँछौ ।”
म त लाजले भुतुक्कै भएँ । बाले गाली गरेर लाज लागेको थिएन, हेर्दै गरेका टोलछिमेक हाँसेकाले लाज भयो ।
सांस्कृतिक गतिविधि गर्न सजिलो छैन । कलाकारलाई माया र आर्थिक सहयोगको पनि आवश्यक छ । संस्कृति सम्पदाको संरक्षण इज्जतको विषय हो । सरकारले पनि यसमा सोच्नुपर्छ ।
कला क्षेत्रमा मैले सिकेका कुरा आजको पुस्तालाई पनि हस्तान्तरण गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । अहिलेको पुस्तालाई सिकाएर जान पाए हुन्थ्यो । त्यसको लागि म जहिले पनि तयार छु । इच्छा र लगनशीलता नै आफ्नो योग्यता हो । क्वीन्टल क्वीन्टल धन्यवाद । पहिले मुरी मुरी धन्यवाद भनिथ्यो । आजभोलि माना, मुरी केही छैन । त्यसैले क्वीन्टल क्वीन्टल धन्यवाद !
(हाडा हास्यकलाकार हुनुहुन्छ । ३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा उहाँलाई सम्मान गरिएको थियो ।)
Leave a Reply