भर्खरै :

नेमकिपाको सातौँ महाधिवेशनमा विभिन्न जिल्लाको आवाज

रूपन्देही
भदौ २९ गते रूपन्देहीको रोहिणी गाउँपालिकाका महेन्द्र कुर्मीमाथि दिनदहाडै गोली प्रहार भयो । कुर्मीको घटनास्थलमै मृत्यु भयो भने मृतकसँग भएको पाँच लाख नगद लुटी हत्याराहरू भागे । हत्यारा एवम् लुटेराहरू सीमापारि भारततिर भागेको प्रत्यक्षदर्शीहरूले बताए । नेपाल – भारत खुला सीमाको कारण अपराधीहरूको मनोबल बढेको छ । सीमा क्षेत्रका जनता आतङ्कित छन्, असुरक्षित छन् भन्ने यो एउटामात्र उदाहरण हो । खुला सीमाका कारण सीमा क्षेत्रका जनता नै बढी जोखिममा छन् । अपराधी, तस्करी, चोर र डाँकाहरूले मात्र फाइदा लिएका छन् । यद्यपि, भारतीय विस्तारवादीहरूले सीमा नियमित गरे परम्परादेखि चल्दै आएको रोटीबेटीको सम्बन्धमा समस्या आउने भ्रम छरिरहेका छन् । नेपाल भारत सीमा नियमित गर्दैमा रोटीबेटीको सम्बन्धमा अप्ठ्यारो आउने होइन बरु अझ व्यवस्थित बनाउन सकिन्छ ।
भारतीय विस्तारवादी शासकहरूले बेलायती साम्राज्यवादी विरासत बोकेका छन् । बेलायती साम्राज्यवादको प्रभाव क्षेत्र रहेको सबै क्षेत्रलाई भारतीय विस्तारवाद आफ्नो तखतमा राख्न चाहन्छ । नेपालसँग खुला सीमा कायम राखी ‘विशेष सम्बन्ध’ देखाउन चाहन्छ । सीमा अतिक्रमण गरेरमात्र होइन, दलाल नेपाली शासकहरूमार्फत नेपालमाथि कब्जा जमाउन चाहन्छ । विस्तारवादी भारतीय शासकहरूले स्वतन्त्र राज्य काश्मीरलाई ‘विशेष दर्जाको राज्य’ को रूपमा भारतीय संविधानमा जोडे । आज फासीवादी मोदी सरकारले बलपूर्वक ‘विशेष दर्जाको राज्य’ खोस्यो । काश्मीरमाथि थिचोमिचो गर्ने विस्तारवादी र फासीवादी भारतीय शासकहरूको गलत कदमको विरोधमा व्यापक जनतालाई सचेत बनाउन आवश्यक छ ।
दुईतिहाइको सरकार आएपछि स्थिरता आउने र देशको विकास अनि समृद्धि हुने धेरैले आशा गरेका थिए । कम्युनिस्ट नाम गरेको ओली सरकारको बोली र व्यवहारको अन्तरविरोधको कारण यतिबेला व्यापक जनतामा असन्तुष्टि बढेको छ । रूपन्देहीबाट निर्वाचित सरकारी नेकपाका महासचिव बालुवाटारको आठ आना जग्गा लिएर सो¥ह सय आना सरकारी जग्गा हडप्न मतियार बनेको चर्चा छ । जिल्लाकै आफ्नै कार्यकर्ताहरूका हत्याराहरूलाई नै संरक्षण गरिरहेको भनी जिल्लामा उनैका कार्यकर्ताहरू ठोकुवा गर्छन् । सरकारको पक्षमा ढाकछोप गर्न केही ‘अरिङ्गाल’हरू भुनभुनाए पनि अधिकांश एमाले–माओवादीकै कार्यकर्ता निराश हुन थालेका छन् । असन्तुष्टिले विद्रोहको रूप लिन धेरै समय लाग्ने छैन । प्रमुख प्रतिपक्ष काङ्ग्रेसका प्रभावशाली नेताको जिल्ला भए पनि प्रभावकारी भूमिका छैन । जनमुक्ति पार्टीले भ्रष्टाचारविरोधी अभियानको नाममा केही गतिविधि गरिरहेको छ । मसाल वा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरू आपसी द्वन्द्वमा फसेका छन् । उनीहरूको पार्टीले औपचारिकरूपमा ‘हाँक’ पत्रिका बन्द गर्ने निर्णय गरे पनि स्थानीय कार्यकर्ताहरू ‘हाँक’ पत्रिकामै सक्रियतापूर्वक लागिरहेका छन् । चीनलाई साम्राज्यवादी देश भनी कम्युनिस्ट सिद्धान्तको गलत व्याख्या गर्ने मसालका कार्यकर्ताहरू आपसमै रुमल्लिरहेका छन् । नयाँ शक्तिवाला समाजवादीका कार्यकर्ताहरू भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोध सुन्न पनि तयार छैनन् । वैद्य र विप्लव समूहका कार्यकर्ताहरू एकले अर्कोलाई भारतीय शासक वर्गको सहयोगविना बाँच्न नसक्ने बताउँछन् ।
काभ्रे
अन्य राजनीतिक दलहरू
काभ्रेपलाञ्चोक जिल्लामा नेपाली काङ्ग्रेस जन्मजात पुँजीवादी पार्टी रहिआएको छ । सामन्त, जमिन्दार र धनाढ्यहरूको हालीमुहाली चल्छ नेपाली काङ्ग्रेसमा । मध्यम वर्ग अवस्थाअनुसार आपूmलाई बदल्ने गर्छन् । चुनाव जित्ने र सत्तामा जाने अनुमान लगाएर पक्ष लिन्छन् । आवश्यक पर्दा हात थाप्नुपर्ने र पैँचो – गर्जो टर्ने आशयले पनि नेपाली काङ्ग्रेसको पछि लाग्नेहरू नभएका होइनन् । आपूmलाई प्रजातन्त्रको मसिहा ठान्ने गरे तापनि व्यवहार प्रजातान्त्रिक देखिन्न । नेपाली काङ्ग्रेसभित्रकै अन्तरद्वन्द्व र फूटका कारण पनि कार्यकर्ताहरू हैरान देखिन्छन् ।
नेकपाभित्रका माओवादी पार्टीप्रति सर्वसाधारणको आकर्षण तिनको सत्तारोहनपश्चात्को व्यवहारबाट क्रमशः घट्दै गएको छ । एमालेसँगको पार्टी एकता भएको भनिए तापनि जिल्लामा दुवै पक्ष एक आपसमा सशंकित देखिन्छन् । माओवादी र एमाले एकता सैद्धान्तिक नभई चुनाव जित्ने र सत्तामा पुग्ने आसयकै कारण भएकोले पनि सबैले पदिय भाग खोज्ने गरेका छन् । भागनास्ति हुनासाथ असन्तोषको आँधिले छोप्ने गरेको छ । हरेक वर्ष दसँै तिहारको शुभकामना तथा चियापान कार्यक्रममा समेत पक्षपात भयो, आ–आप्mनालाई मात्र सहभागी गराइएको आक्षेप सामाजिक सञ्जालमा समेत देखिएकै हो । एमालेले ‘जनताको बहुदलीय जनवाद’ को संशोधनवादी बाटो अपनाएर चुनावबाटै सत्तामा जाने र नेपाली काङ्ग्रेसकै नीति पछ्याएर टिक्ने गरिरहेको थियो । बहुदल पुनः स्थापना भएपछि आजसम्ममा एमाले र माओवादीले जिल्लामा पटक–पटक जितेका भएपनि आमूल परिवर्तनको लागि ठोस कार्य गरेका छैनन् ।
राप्रपामा पञ्चायतकालमा पहँुच भएकाहरूको नेतृत्व अगाडि छ । बहुदल आएपछि कतिपय पञ्चहरू काङ्ग्रेस, एमालेलगायत पार्टीभित्र छिरे । बाँकी आप्mनो अस्तित्व बचाउन राप्रपामा रहिरहेका छन् । उनीहरू आप्mनो ‘गुमेको स्वर्ग’ फर्काउन चाहन्छन् । तर, बच्चा बेलाको भोटो जिउमा नमिल्ने भइसकेको चाल पाउन सकिरहेका छैनन् ।
समाजवादी फोरम, नयाँ शक्ति पार्टी, विवेकशील, नेपाल जनता पार्टी, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा पनि काभ्रे जिल्लामा छन् । तीमध्ये कतिपय पार्टी जुट्ने र फुट्ने गरिरहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *