भर्खरै :

तःमुंज्या साहित्यिक र राजनीतिक दबु

उद्धव सुजखू
(३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्य)
तःमुंज्यालाई साहित्यिक दबुको साथै राजनीतिक दबुको रुपमा लिइँदै आएको छ । यो राजनीतिक आन्दोलनको कार्यक्रम पनि हो । यो दबुले कामदार जनताको पक्षमा क्रान्तिको लागि आवाज उठाउँदै जनताका साहित्यकार हुर्काउँदै आएको छ । कामदार जनताले आफ्नो लागि आफ्नो दबु आफैँले बनाई आफ्नो साहित्य प्रस्तुत गर्ने काम भइरहेको छ । तःमुंज्याको यही विशेषता र गौरव हो ।
‘जनता बाँचे भाषा बाँच्छ’, तःमुंज्याको मूल नारा हो । ‘साहित्य राजनीतिको हतियार हो’ भन्ने साहित्यकार हरिबहादुर श्रेष्ठको भनाइलाई आधार मानेर तःमुंज्या अघि बढिरहेको ३९ वर्ष पुग्यो । तःमुंज्याको यो भनाइमा हिजो असहमति राख्ने र खण्डन गर्नेहरू आज क्रमशः कम हुँदैछन् । जनताको बीचमा हुर्के बढेका यी भनाइहरू सत्य हुन् भन्ने कुरा सम्मेलनबाट पुष्टि भइरहेको छ । यो एउटा प्रमाण हो ।
साहित्यकार हरिबहादुर श्रेष्ठले भन्नुभएको छ, “जनताको साहित्यको उद्देश्य देश र जनताको सेवा गर्नु हो । क्रान्तिको सेवा गर्नु हो ।” आजको सम्मेलनमा तःमुंज्याको भावनाअनुसार नै विभिन्न लेखक, कवि र कलाकारहरूले आफ्नो रचना वाचन गर्नुभएको छ, गीत गाउनुभएको छ, विचार व्यक्त गर्नुभएको छ । देश र जनताले किन दुःख खेप्नुपरेका छन्, आज के कस्ता विकृति फैलिरहेका छन् अनि तिनको समाधान के हो भन्ने विषयमा विचार अभिव्यक्त भएको छ । भारतीय विस्तारवाद र एकाधिकार पुँजीले नेपालमाथि गरिरहेको हस्तक्षेपको विरोध भएको छ । भारतले एकतर्फी बनाएका बाँध र तटबन्धले नेपालको जमिन र गाउँ डुबानमा परेको विषयमा लेखकहरूले कलम चलाउनुभएको छ ।
तःमुंज्यामा जम्मु र काश्मीरमा भारतीय हस्तक्षेप, चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्ध र अन्य स्वतन्त्र देशहरूमा संरा अमेरिकी साम्राज्यवादी हस्तक्षेपविरुद्ध आवाज व्यक्त भएको छ ।
साहित्यकार हरिबहादुर श्रेष्ठको पुस्तक ‘जनताको साहित्य र साहित्यकार’ मा लेखिएको छ, जनताको साहित्यमा विचार पक्ष प्रधान हुन्छ । कला पक्ष सुन्दर भएर विचार पक्ष कमजोर भएको साहित्यले जनताको सेवा गर्नसक्दैन । विचार पक्षमात्र राम्रो तर कला पक्ष कमजोर भएको साहित्य पनि जनताको मनसम्म पुग्न सक्दैन । यसबारे नवोदित लेखकहरूले विचार गर्नु उपयुक्त हुन्छ ।
(सुजखू निवृत्त शिक्षक हुनुहुन्छ । ३९ औँ नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिनको सभापति हुनुहुन्थ्यो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *