भर्खरै :

ओलीलाई प्रश्न

 कृष्ण बेलबासे
कार्तिक २, २०७६ को कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित प्रम केपी ओलीको विस्तृत अन्तर्वार्तामा ओलीले केही गैरजिम्मेवार कुराहरू व्यक्त गरेका छन् । तीमध्ये दुईवटा कुराहरूमा टिप्पणी गर्न मन लाग्यो । एक, अन्तर्वार्तामा ओलीले सामाजिक सञ्जालमा उनको सरकारको कार्यशैलीको विरोध गर्नेहरूलाई तिनका भावी पुस्ताले अविवेकी भन्नेछन् भनेका छन् । यसले ओलीलाई सत्यप्रति कति हदसम्म अरुची रहेछ भन्ने कुरा प्रस्ट्याउँछ । यदि ओलीलाई सत्यप्रति थोरैमात्र रुची र सरोकार भइदिएको भए उनले सामाजिक सञ्जालमा सरकारको कार्यशैली सम्बन्धमा आफ्ना आलोचनात्मक विचारहरू व्यक्त गर्नेहरूलाई एकमुष्ट अविवेकी ठहया¥उने थिएनन् ।
उनले सामाजिक सञ्जालमार्फत आफू र आफ्नो सरकारका कमजोरी औँल्याई दिनेहरूलाई हृदयदेखि धन्यवाद दिँदै आफ्ना गल्तिहरूलाई सच्याउने र दोहोरिन नदिने प्रतिबद्धतासहित कतिपय अविवेकी खालका अभिव्यक्तिहरूप्रति आफ्नो असहमति राख्नुपर्दथ्यो । तर त्यसो नगरेर सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गर्नेहरूलाई एकमुष्ट अविवेकी ठहया¥उने उनको व्यवहारले सरकार किन हरेक क्षेत्रमा गलत मान्छेहरूलाई जिम्मेवारी सुम्पिरहेको छ ? अनि सरकारले जिम्मेवारी सुम्पेका व्यक्तिहरूले खुला भ्रष्टाचार र अनियमित कार्यहरू गरेर सम्बन्धित क्षेत्रलाई तहसनहस पार्दै सरकारलाई नाङ्गो बनाउँदा पनि किन सरकार र सम्बन्धित निकाय कानमा तेल हालेर बस्छन् ? भन्ने कुरा यसबाटै प्रस्ट हुन आउँछ । ओलीको अभिव्यक्तिले देखाउँछ, उनलाई भ्रष्ट मन्त्री र आसेपासेहरूले नाङ्गै विचरण गराउंँदै छन् । उनलाई आफू नाङ्गिएको कुरामा लाज र चिन्ता होइन, आनन्द बोध भइरहेको छ । उनको यही चाला कायम रहने हो भने आगामी पिँढीले उनले दाबी गरेजस्तो सामाजिक सञ्जालमा सरकारको आलोचना गर्नेहरूलाई नभएर उनलाई नै अविवेकी ठहया¥उने छन् भन्ने कुरा सुनिश्चित छ ।
दोस्रो, ओलीले दुर्गम क्षेत्रहरूमा तुइन विस्थापनको कुरामा जोड दिंदै “अघिल्लो पटक प्रधानमन्त्री हुँदा मैले तुइन विस्थापित गर्छु भनेँ, काठमाडौँमा सडक चिल्ला पार्छु भनिनँ । काठमाडौँका मान्छेलाई गाडी चढ्दा अलिकति हल्लिन नहुने, दुर्गमका मान्छे त तुइन चढेर खसिरहेका, मरिरहेका छन् । पहिले त खस्न मर्न दिनु भएन नि ! बाउ, आमा खसे मरे, कसले हुर्काउँछ बच्चाबच्ची ? तिनका लागि चाहिँ कोही बोल्दैन ।
काठमाडौँमा गाडीभित्र जिउ हल्लियो भने सरकारलाई गालि गर्छन् ! भनेका छन् । जतिबेला ओलीले तुइन विस्थापनको कुरा गरेका थिए, त्यतिबेला काठमाडौँलगायत सबै क्षेत्रका जनताले उनको सो कदमको प्रशंसा गरेका थिए । त्यतिमात्र नभएर तुइन विस्थापन गर्न ढिलो गरेकोमा धेरैले सरकारको ध्यानाकर्षण गराउने कार्यसमेत गरिरहेका थिए । यसरी आफूले प्रतिबद्धता व्यक्त गरेको कुरा समयभित्र पूरा गर्न नसक्दा आफँै आत्मालोचित हुनुपर्नेमा प्रमले त्यसको दोष काठमाडाँैवासीहरूमा थोपर्ने कार्य गरेका छन् । उनले काठमाडौँका सडकहरू मर्मत गर्ने (ओलीको भाषामा चिल्ला पार्ने) कुरोलाई तुइन विस्थापन अभियानविरुद्धको कुरो भनी देखाउन खोजेका छन् । यो निम्नस्तरको फट्यार्ईँबाहेक केही होइन । कारण, काठमाडौँका जनताले ओलीले भनेजस्तो गाडी चढ्दा जिउ न हल्लियोस् भन्ने कुराको माग गरेकै होइनन् । उनीहरूले राजधानी सहरका सडकहरू वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भइरहने र त्यसले जनस्वास्थ्य र जनजीवनमा प्रतिकूल असर गर्ने कुरो वर्षौँ कायम रहिरहँदा यसो हुन भएन भनी आवाज उठाएका हुन् । जुन बिल्कुल जायज कुरा थियो र हो पनि । त्यस किसिमको अवस्थाको अन्त्य अझै भएको छैन ।
कुरो त्यतिमात्र नभएर राजधानीलगायत देशभरिका सार्वजनिक यातायातका साधनमा यात्रा गर्नु भनेको नर्कको यात्रा गर्नुजस्तै हुने गरेको छ । सार्वजनिक यातायातबाट यात्रा गर्ने यात्रुहरूले शारीरिक र मानसिक यातना भोग्ने गर्छन् । त्यहाँ महिला, वृद्ध एवं अशक्तहरूमाथि दुव्र्यवहार र हिंसा हुने गर्दछ । त्यो यातायातको साधनका स्टाफहरूबाट बढी हुने गर्दछ । त्यसलाई व्यवस्थित र मर्यादित तुल्याउने दायित्व कसको हो ? त्यसैगरी राजधानीका फुटपाथ व्यापार र पार्किङ्ग क्षेत्रको रूपमा परिणत भई दिँदा पैदल यात्रुहरूले सहजरूपमा हिँडडुल गर्न पाइरहेका छैनन् । पैदल यात्रुहरूले जेब्राक्रसबाट सडक पारगर्दा समेत लामो समय कुर्नुपर्ने र ज्यानकै खतरा हुने अवस्था छ । राजधानीका ट्राफिक प्रहरीको काम भनेको जेब्राक्रसबाट पैदल यात्रीलाई सहज सडक पार गर्न रोकेर गाडीलाई निर्वाध आवतजावत गर्न दिनु रहेको पाइन्छ ।
यी सबै कुराहरू सुविधाजनक, सुरक्षित र महँगा गाडीहरूमा यात्रा गर्ने ओली (श्री ३ प्रम) महाराजलाई के थाहा होस् । आफूले विदेशमा उपचार गराउने र विदेशबाट आयातीत पानी सेवन गर्ने ओली महाराजलाई देशका अस्पतालहरू ठगी र अव्यवस्थाको केन्द्र बनेको र आर्थिक स्वार्थका कारण मेलम्ची योजना पूरा हुन नसक्दा जनताले पिउने पानीका लागि दुःख पाउनु र ठगिनु परेको कुरो सँगै उनले आफैले नियुक्त गरेकाहरूले विश्वविद्यालयहरू तहस नहस पार्ने गरेको कुरासम्म पनि थाहा छैन होला । यसरी सत्ताको वैभवका कारण विस्मृतिको खाडलमा जाकिएका र उखान टुक्कामा विशेषज्ञता प्राप्त ओली महाराजको अभिव्यक्तिलाई गैरजिम्मेवारीपनको पराकाष्ठासिवाय अरु केही मान्न सकिँदैन । राजधानीका सडकहरूको अवस्था ओली महाराजले दाबी गरेजस्तै गाडी चढ्दा जिउमात्र हल्लिने र अन्य सबै कुरा ठीकठाक भएको भए विदेशी पाहुना आउँदा रातारात मर्मत किन गर्नुपर्दथ्यो त ? सार्वजनिकरूपमा कुतर्कहरू छाटिरहँदा यी कुराहरूप्रति ओली महाराजले ध्यान पुया¥उनु पर्दैनथ्यो ? हुन त ओलीको अभिव्यक्ति तथ्य र तर्कमा आधारित नभएर प्रधानमन्त्रीत्वको दम्भ प्रदर्शन गर्ने हेतुले मात्र आएको देखिन्छ । तापनि यसले एउटा जिम्मेवार नागरिकलाई गम्भीर भएर सोच्न बाध्य तुल्याउँछ, देशको प्रधानमन्त्रीको सोँच र व्यवहार नै यति निम्नस्तरको र हतपत् नसुध्रिने खालको छ भने देशको अवस्था कहिले ? र कसरी ? सुध्रिएला ।
(बेलबासे नेपाल ल क्याम्पसका पूर्व प्रमुख हुनुहुन्छ । प्रस्तुत टिप्पणी लेखकले आफ्नो फेसबुकमा सार्वजनिक गर्नुभएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *