भर्खरै :

नेपाल–भारत सम्बन्ध र भारत

समा
नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छँे एक सिद्धान्तनिष्ठ एवम् आदर्श राजनीतिक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँ सटिक राजनीतिक विश्लेषक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका अध्येता तथा स्पष्ट विचारकका रूपमा बौद्धिक समुदायबीच परिचित हुनुहुन्छ । एक सशक्त लेखकका रूपमा पनि उहाँ चिनिनुहुन्छ । उहाँका दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन, रुसी संशोधनवाद सामाजिक–साम्राज्यवादमा पतन, समाजवाद र सान्दर्भिक विषयवस्तु, चिनियाँ जनकम्यून, ऐतिहासिक किसान आन्दोलन एक अध्ययन, अक्टोबर क्रान्ति र यसको महत्व, चीन यात्रा, कोरिया भ्रमण, सय वर्षपछिको भक्तपुर, आत्मनिर्भरता र नेपालको आर्थिक विकास उहाँका केही उत्कृष्ट पुस्तकहरू हुन् । यी सबै पुस्तकहरू नेपाल मजदुर किसान पार्टीको दृष्टिकोण र विचारका पुञ्ज हुन् ।
उहाँका थुप्रै पुस्तकहरूमध्ये कार्यकर्ता, बौद्धिक समुदाय र संवेदनशील पाठकहरूले अध्ययन गर्न छुटाउन नहुने एउटा पुस्तक हो – ‘नेपाल–भारत सम्बन्ध र भारत’ । भारत र भारतीय जनतालाई हेर्ने नेपाली जनताको दृष्टिकोण यस पुस्तकमा पाइन्छ । नेपाल भारतको सम्बन्ध इतिहासजत्तिकै पुरानो भएको यथार्थ उजागर गरिएको छ । नेपाल–भारत सम्बन्धका वास्तविक एवम् यथार्थ तरेलीहरू पस्केको यस पुस्तकको अध्ययनले इतिहास, कूटनीति र परराष्ट्र मामिलाको विगत–वर्तमान छर्लङ्ग्याउँछ ।
नेपाल–भारतको सम्बन्ध जति पुरानो छ भारतीय विस्तारवाद र एकाधिकार पुँजीको नेपालमाथि दमनको इतिहास पनि उत्तिकै पुरानो हो । यसका थुप्रै तथ्यहरू पुस्तकमा उजागर गरिएका छन् । ‘तराई एक उपेक्षित क्षेत्र’ शीर्षकमा भारतको साप्ताहिक पत्रिका ‘दिनमान’ ले छापेका पूर्वाग्रही लेख आपैmँमा दक्षिण सिमानामा भारतीय शासकवर्गको उपद्रोहको एक दृष्टान्त हो । साम्प्रदायिक र क्षेत्रीय सङ्कीर्णताले भरिएको उक्त लेखलाई बिजुक्छेँज्यूले ‘के तराई एक अपेक्षित क्षेत्र हो ?’ मा खण्डन गर्नुभएको छ । वर्गीय समाजको वास्तविक स्थितिलाई लुकाउन या देशमा भइरहेको वर्गसङ्घर्षलाई टुक्राउन र जनताको ध्यानलाई अर्कोतिर मोड्न शासनमा रहेका शोषक वर्ग क्षेत्रीय र जातीय भावना उठाउन सदा प्रयत्नशील रहने धारणा पुस्तकमा अभिव्यक्त छ । कुनै पनि देशका क्षेत्र उपेक्षित हुने होइन बरु कामदार वर्ग भने वास्तवमै उपेक्षित छन् । आजभन्दा ४० वर्ष अगाडि जस्तो स्थिति थियो उस्तै छ । त्यसकारण वर्गीय मुद्दा र प्रश्न अहम् हुन्छ । पुस्तकमा व्यक्त सबै तर्क र तथ्यहरूले तराई उपेक्षित क्षेत्र होइन भन्ने प्रमाणित गर्छ ।
“ हिमेशिया’ र ‘मातृभूमि’ एउटै ड्याङका मुला’ शीर्षकको लेखमा विभिन्न जातजाति, भाषाभाषीको पृष्ठभूमि र गहिरो अध्ययन प्रस्तुत गरिएको छ । तराईवासीहरूलाई उपत्यकाका नेवारहरूको तुलनामा राजनैतिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रहरूमा पछाडि पारिएको भनी आक्षेप लगाउँदै जातिवादी र क्षेत्रीयवादी कुरा हिमेशियामा उठाइएको छ । त्यसको खण्डनसहित नेवार समुदायको उत्पत्तिदेखि ब्राम्हण क्षेत्रीको सामाजिक व्यवस्थासम्मका ऐतिहासिक तर्कहरू पुस्तकमा प्रस्तुत छन् ।
नेपाल भारत सम्बन्धमा देखापरेका गतल समझदारीहरू र सही समाधानका उपायहरूबारे पुस्तकमा छलफल गरिएको छ । भारत बेलायती साम्राज्यवादबाट स्वतन्त्र भएको सात दशक नाघिसक्दा पनि दक्षिण एसियामा भारतको औपनिवेशिक र विस्तारवादी मति भने उस्तै छ । पुस्तकमा लेखिएको छ – “सुगौली सन्धि र गोर्खा भर्ती नै नेपाली राष्ट्रको मुटुको किला हो । तर, बेलायती साम्राज्यवाद भारतबाट गइसक्दा पनि ‘स्वतन्त्र भारत’ का शासक वर्गले आप्mना छिमेकी देशहरूमाथि बेलायती उपनिवेशवादी नीतिलाई नै लागू गर्दै गयो ।” थुप्रै असमान सन्धि र सम्झौताहरू नेपाली जनताका निम्ति अभिशाप बन्दैछन् । भारतीय शासक वर्गको थिचोमिचो, उपनिवेशवादी मानसिकताविरुद्ध उठेका सङ्घर्षलाई जात विशेषको असन्तुष्टि ठान्नु सङ्कीर्णताको पराकाष्ठा नै हो । भारतका नेपालविद् श्रीमद नारायणको यस्तै विचार रहेको पुस्तकमार्पmत प्रस्टिन्छ । त्यसको खण्डन पुस्तकमा छ – “नेपाली जनताको भारतीय एकाधिकार पुँजीविरोधी सङ्घर्ष जातिवादी होइन बरु उपनिवेशवादविरोधी सङ्घर्षकै एक रूप हो जसको मुख्य कारण जाति विशेष होइन आर्थिक र राजनैतिक हो ।” नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनुमा चीनको भन्दा भारतीय कम्युनिस्ट पार्टीको बढी हात छ । माक्र्सवाद –लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई हिन्दी र अङ्ग्रेजी भाषामा नेपालका कम्युनिस्टहरूले अध्ययन गरे । सत्य र न्यायको पक्षमा उठेका हरेक सङ्घर्षलाई भाषिक, जातीय र क्षेत्रीय आँखाले हेर्नु बैमनश्यताबाहेक केही होइन । का.रोहितले पुस्तकमा श्रीमद नारायणलगायत नेपालविद्हरूका खोटा विचारहरूको तर्कसङ्गत खण्डन प्रस्तुत गर्नुभएको छ । नेपालमा प्रगतिशील विचारधारा र कम्युनिस्ट सिद्धान्त पैmलिनुमा जातिवादी कारण होइन बरु त्यो नेपाली जनताको राजनैतिक चेतनाको विकासको फलका रूपमा व्याख्या पुस्तकमा पाइन्छ ।
भारतका बुद्धिजीवीहरूबाट माओ त्सेतुङ विचारधाराको विरोध भइरहँदा र नेपाली जनताको न्यायपूर्ण सङ्घर्षलाई चीनको उक्साहट देख्ने भारतका नेपालविद्हरूतर्फ इङ्गित गर्नुहुँदै का.रोहित लेख्नुहुन्छ – “माओ त्सेतुङ विचारधारा नराम्रो कुरा होइन, यो त करोडौँ करोड जनताको साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्षले खारिएको एक धारिलो हतियार हो । यो हाम्रो युगको सबभन्दा अगाडि बढेको दर्शन र विज्ञान हो । यो बीसौँ शताब्दीको ठूलो उपलब्धि हो । यो संसारका सबै क्रान्तिकारी जनताको साझा सम्पत्ति भइसकेको छ ।”
‘नेपाल–भारत मैत्रीको एक उदाहरण कोशी योजना’ पनि नेपालमाथि भारतको थिचोमिचो र दमनकारी इतिहासको सिलसिला हो । बिजुली, सिँचाइ र कृषि उत्पादन सबै आप्mनो पोल्टामा पार्ने भारतको कुटिल छिमेकी नीतिप्रति लेखक आक्रोश व्यक्त गर्नुहुन्छ ।
कोशी सम्झौता भारतीय पक्षले नेपाललाई गरेको ठगी र थिचोमिचोको एउटा अर्को प्रमाण हो । त्यसकारण कोशी योजना मित्रताको द्योतक होइन औपनिवेशिक कलङ्कको चिनो हो भनी प्रस्ट लेखिएको छ । ऐतिहासिक जानकारी र ज्ञानसहित का. रोहितले भारतीय शिक्षा व्यवस्था, भारतमा विदेशी पुँजी, भारतका पुँजीपति वर्ग, भारतीय महिलाहरूको नाजुक स्थिति जनजातिको स्थिति, स्वास्थ्यउपचारको स्थिति, भारतको ऋण र आत्मनिर्भरता, भारतमा अपराधको स्थितिबारे गहिरो अध्ययन पस्कनुभएको छ ।
डिग्रीको प्रमाणपत्रसमेत सिनेमाको टिकटजस्तै किनबेच हुने उपनिवेशवादी शिक्षा पद्धतिलाई हुर्काइरहेको भारतका शैक्षिक बेथितिहरूबारे पुस्तकले तथ्यहरू उजागर गरेको छ । बेलायती साम्राज्यवादको दासताबाट भारत स्वतन्त्र भएको थुप्रै वर्ष बितिसक्दा पनि भारत वैदेशिक पुँजीको थिलथिलोमा छ । पुस्तकमा तथ्याङ्कहरूको प्रस्तुतिले विगत त अवगत गराउँछ नै साथै वर्तमान तथ्याङ्कसँग तुलनात्मक अध्ययन गर्न सघाउँछ ।
भारत साम्राज्यवादतर्फ लम्किरहेको तर्क पुस्तकको हो । एकाधिकार र साम्राज्यवादको सम्बन्ध एक अर्कासँग अन्योन्याश्रित हुन्छ । लेनिनका अनुसार “पुँजीवादको एकाधिकारी अवस्थाको नाम नै साम्राज्यवाद हो ।” भारत थोत्रिएका हातहतियार छिमेकी देशहरूलाई बेच्छ । लडाइँको निर्णायक तत्व हतियार नै हो भन्ने भ्रम भारतसँग छ । का.रोहितले भारतको अल्पज्ञानको खण्डन गर्नुभएको छ ।
‘भारतीय स्वतन्त्रताको रजत जयन्ती र त्यसपछिका वर्षहरू’ शीर्षकको लेखले स्वतन्त्रतापछिको भारतीय जनताका पीडा, अभाव, गरिबी, बेरोजगारी, भोकमरी प्रस्तुत गर्छ । काम, माम र शिक्षाको मात्रै होइन सबै भारतीयले एक छाक खान पनि पाएनन् भन्ने थुप्रै प्रमाणहरू पुस्तकले प्रस्तुत गरेको छ । आज पनि भारत किसानहरूले आत्महत्या गर्ने शीर्षदेशको रूपमा गनिन्छ । महिलाहरूमाथि दहेजको नाममा हुने शोषण, एसिड आक्रमण, बलात्कार उस्तै छ । भारत सरकार उल्टै दक्षिण एसियामा आप्mनो साम्राज्य खडा गर्न उद्दत रह्यो । भारतले ‘फुट गर र राज गर’ को बेलायती साम्राज्यवादी नीति अपनाइरहेको थुप्रै प्रमाण र दृष्टान्त पुस्तकभित्र छन् । त्यसमध्ये सिक्किमको घटना एउटा प्रमाण हो । सन् १९७१ म सिक्किम भारतमा विलय गराइयो । ‘सिक्किम प्रजातन्त्र एक परीक्षणलाई खोतल्दा’ शीर्षकको लेखमा सिक्किम र सिक्किमेली जनताको तत्कालीन वास्तविकताबारे यथार्थ बताएको अनुभव हुन्छ । भारतले सिक्किम हडप्नु पछाडि रणनीतिक स्वार्थ थियो । पुस्तकमा लेखिएको छ “सिक्किमबाट भारतले अरू ठाउँमा हान्न सक्छ । हान्ने ठाउँ नेपाल, भुटान, चीनबाहेक केही पनि होइन ।” नेहरू स्वयम्ले साम्राज्यवाद र विस्तारवादको वकालत गरेका थिए । बेलायती साम्राज्यवाद गइसकेपछि हैदरावाद र अहिले काश्मीरमा भारतीय सरकारको दमनले त्यही पुष्टि गर्छ । सिक्किमको विलयबारे भारतको संसद्भित्र र बाहिर अन्तर्राष्ट्रिय जगतमै पनि विरोध भएको थियो । यस पुस्तकमा भारत र चीनबीच सन् १९६२ को सीमा सङ्घर्षको पृष्ठभूमि र परिणामबारे व्यापक चर्चा गरिएको छ । नेपाल र चीनबीचको सामाजिक, राजनीतिक, सांस्कृतिक सम्बन्धबारे प्रस्ट्याइएको छ ।
हिजो र आजको राजनैतिक, आर्थिक, सांस्कृतिक विश्लेषण र तुलनात्मक अध्ययनका लागि पुस्तक अत्यन्त उपयोगी छ । केही तत्कालीन तथ्याङ्क रहेपनि वर्तमानसँग दाज्न सघाउँछ । पुस्तकमा अभिव्यक्त सम्पूर्ण विचार सदाबहार र सान्दर्भिक छन् । समसामयिक सन्दर्भबारे का.रोहितसँग लिइएका ३ अन्तर्वार्ता पुस्तकमा समाविष्ट छन् । भारतले नेपालमा थोपरेको अमानवीय नाकाबन्दीको विरुद्धमा का.रोहितको सशक्त अभिव्यक्ति र नेपाली जनताको आवाज अन्तर्वार्तामा पाइन्छ । झुक्नुको अर्थ अत्याचार र आक्रमणलाई स्वीकार गर्नु हो भन्नुहुन्छ का.रोहित । खण्ड ५ मा विभक्त यस पुस्तकको अन्तिम खण्डमा भारतका केही सान्दर्भिक तथ्याङ्क प्रस्तुत छन् ।
अत्यन्त पठनीय र सङ्ग्रहणीय यस पुस्तकको महत्व एवम् ओज इतिहासमा रहिरहनेछ । नेपालमाथि भारतीय थिचोमिचो, विस्तारवादी नीति र एकाधिकार पुँजीको शोषण कायम रहेसम्म यो पुस्तक पुरानो हुनेछैन । नेपाल र भारतबीच सम्बन्ध सुधारका लागि का.रोहितले पस्कनुभएका विचारहरू मननयोग्य छन् । दुई देशबीच सौहाद्र्र सम्बन्ध स्थापनाका लागि बिजुक्छेँज्यूले सुझाउनुभएका मार्गनिर्देशक विचारहरू अमूल्य छन् । अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र र इतिहासका विद्यार्थीहरूले यो पुस्तकलाई सन्दर्भ पुस्तकका रूपमा अध्ययन गर्न छुटाउनै नहुने महसुस हुन्छ । निरन्तर देश र जनताको सेवामा लागिरहनुभएका नारायणमान बिजुक्छेँ (रोहित) प्रति उच्च सम्मान । नयाँ पुस्तालाई अन्तर्राष्ट्रिय जगतसँग साक्षात्कार गराउने उहाँका विचारहरू नयाँ पाठकहरूमा निरन्तर पुगिरहने विश्वास छ । प्रकाशकप्रति साधुवाद ।
पुस्तक ः नेपाल–भारत सम्बन्ध र भारत
प्रकाशक ः जनप्रकाशन गृह
संस्करण ः पहिलो, २०४२ असार (युवा अध्ययन गोष्ठी)
दोस्रो, २०७२ मंंसिर २२
मूल्य ः ३००
पृष्ठ ः २३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *