भर्खरै :

फरक – फरक दृष्टिकोण

उमेर र रोगले गर्दा मानिसको दृष्टि क्षमता फरक भएको हाम्रै अनुभव हो । उमेर बढ्दै गएपछि पढ्न गा¥हो हुनु वा टाढाको वस्तु नदेखिनु भौतिक शरीरको नियमभित्र पर्ने विषय हो । रोग लागेपछि व्यक्तिले हरेक चीज पेहेँलो देख्नु भने दृष्टिदोष हुने गर्छ ।
समाज र राजनीतिबारे फरक – फरक व्यक्तिले भिन्न – भिन्न मत जाहेर गर्नु दृष्टिकोणसँग सम्बन्धित विषय हो । उत्तरको छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको सिलसिलाका घटनाहरूबारे नेपाली पत्र–पत्रिकाहरूले आ–आफ्नो दृष्टिकोण पस्कनु प्रजातन्त्रकै सुन्दरता हो, हाम्रा बगैँचामा रङ्गी बिरङ्गगी फूलहरू फुलेजस्तै ।
२३ वर्षपछि छिमेकी देशका राष्ट्रपतिको भ्रमणबारे संरा अमेरिकी राजदूत बेरीको हस्याङफस्याङ भने आश्चर्यजनक थियो । मानौँ महामहिमले आफ्ना केही सामान गुमाउँदै हुनुहुन्छ । यसको अर्थ सरल छ, साम्राज्यवादको चरित्र बदलिएको छैन, जसरी खु्रश्चेभले आफू सत्तामा रहँदा भनेका थिए । त्यही दृष्टिकोणको कारण समाजवादको ठाउँमा पुँजीवादको पुनः स्थापना मात्र भएन बरु आफ्नै देशसमेत १५–१६ टुक्रामा विभाजित भयो ।
आक्रामक अमेरिका सचेत चीन
पश्चिमको विश्व राजनीतिबारे अध्ययन गर्दा अहिले संरा अमेरिकाले जुन देशसँग मित्रताको हात फैलाउँछ, त्यस देशले नयाँ दास मालिक पाउँछ वा आफ्नै देश धुलोपीठो हुन्छ । केही तेलका धनी अरब देशहरू अमेरिकी साम्राज्यवादको प्रभुत्वलाई स्वीकार गर्न बाध्य छन्, अन्यथा ती देशहरू पनि अफगानिस्तान, इराक, लिबिया, सिरिया, आन्दोलनरत ल्याटिन अमेरिकी केही देशहरू जस्तै आफ्नो स्वतन्त्रता र सार्वभौमिकता जोगाउन सङ्घर्षरत रहनेछन् ।
शेरबहादुर देउवा सरकारमा हुँदा अत्यन्त सरलरूपमा संरा अमेरिकालाई अफगानिस्तानमा हस्तक्षेप गर्न नेपालले अमेरिकी लडाकु विमानहरूलाई तेल भर्ने स्वीकृती दिइएको थियो । त्यस्तै नेकाकै सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिन्द–प्रशान्त सैनिक गठबन्धनमा ५६ अर्ब रकमको सम्झौतामा गुप्तरूपले हस्ताक्षर गरेको हालै प्रचारमा आयो । यसबारे नेपाल र नेपाली जनता सचेत भएनन् भने हामीले पनि अफगानिस्तानको स्थिति भोग्नुपर्ने हुन्छ । एसियाली जनताले कोरिया युद्ध र भियतनाम युद्ध पनि अमेरिकी साम्राज्यवादकै विरोधमा भएको हो भन्नेबारे बिर्सन नहुने पाठको रूपमा लिनु आवश्यक छ ।
के संरा अमेरिका पाँच हजार माइल टाढाबाट एसियाली जनतालाई स्वतन्त्रता र मुक्ति दिन आएको हो ? वा उपनिवेश र प्रभुत्व कायम गर्न आएको हो ? उपनिवेशवादको जरा कस्तो गहिरो हुन्छ भन्ने उदाहरण आजको हङकङ सबैको सामु छ । हो त, सर्प मर्छ तर त्यसको पुच्छर हल्लिरहन्छ ।
१७ औँ, १८ आँै र १९ औँ शताब्दी पश्चिमी साम्राज्यवादको युग रहे र २० औँ शताब्दी मुक्ति र स्वतन्त्रताको युग रह्यो । २१ औँ शताब्दी समाजवादको युगमा पदार्पण गर्दैछ ।
हो, हामी नेपाली जनता आज पनि लोकतन्त्र, जनतन्त्र, प्रजातन्त्र, जनवाद र लोक शाहीबारे फरक–फरक मत राख्छौँ । मुठीभर शोषक वर्गको गणतन्त्र वा लोकतन्त्रको पक्षमा छौँ वा अत्यन्त बहुमत जनताको प्रजातन्त्रको पक्षमा देश अगाडि बढ्ने हो भन्नेबारे हामी स्पष्ट हुनैपर्छ । नत्र चाहेर वा नचाहेर पनि समयले हामीलाई उतैतिर लानेछ । ‘समय बलवान छ साथी, समय बलवान छ’ भन्ने गीत अहिले सान्दर्भिक छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *