भर्खरै :

विजय र मृत्यु

– लेनिन
कमरेडहरू, आज हामी सन् १९१७ को अक्टोबर क्रान्तिको स्मारक उद्घाटनमा सहभागी छौँ । साम्राज्यवादबाट राष्ट्रहरूलाई मुक्त गर्न, राष्ट्रहरूबीचको युद्ध अन्त्य गर्न, पुँजीवादी अन्य गर्न र समाजवाद जिताउन क्रान्तिको सुरुमा कामदार जनताको हनोहार सन्तानहरूले आफ्नो जीवन बलिदान गरे ।
रुसी इतिहासका कैयौँ दसकमा क्रान्तिकारी सहिदहरूको लामो नामावली बनिसकेको छ । जारशाहीविरुद्ध लड्दा लड्दै हजारौँ हजार योद्धाले जीवन गुमाए । उनीहरूको शहादतले नयाँ नयाँ योद्धाहरू तयार भए र क्रान्तिमा धेरै धेरै जनतालाई सङ्गठित बनायो ।
गत अक्टोबरमा बलिदान भएका कामरेडहरूले विजयको भव्य खुसियाली ल्याए । मानव जातिका क्रान्तिकारी नेताहरूले देख्ने सबभन्दा ठूलो गौरव उनीहरूले जितेका छन् । लडाइँको मैदानमा बहादुरीका साथ ढलेका ती कामरेडहरूले हजारौँ लाखौँ नयाँ र न्यायप्रेमी कामरेडहरू जन्माएका छन् । ती निडर लडाकुहरूको वीरतापूर्ण भावनाले नै विजय सम्भव भएको हो ।
आज संसारभरका कामदार वर्ग आक्रोशका साथ उठिरहेका छन् । कामदार वर्गको समाजवादी क्रान्तिले विभिन्न देशमा व्यापकता पाइरहेको छ । संसारभरका पुँजीपति वर्ग आज भयभित भएका छन् । हतास मानसिकतामा उनीहरू क्रान्तिलाई दबाउन एकै ठाउँमा जम्मा भएका छन् । रुसको समाजवादी सोभियत सत्ता उनीहरूको लागि काँडा बनेको छ । संसारका साम्राज्यवादीहरू एक ठाउँमा आएर हामीलाई दबाउने तयारी गरिरहेका छन् । हामीलाई थप लडाइँमा धकेल्न चाहिरहेका छन् । हामीमाथि थप बलिदान थोपर्न खोजिरहेका छन् ।
कमरेडहरू, अक्टोबर क्रान्तिका लडाकुहरूको स्मारकसामु उनीहरूको सम्मान व्यक्त गरौँ । उनीहरूका पदचिह्न पछ्याउँदै र उनीहरूका साहस तथा नायकत्वलाई सम्मान गरौँ । उनीहरूको लक्ष्यलाई हाम्रो लक्ष्य बनाऔँ । संसारका क्रान्तिकारी मजदुरहरूको नारा भनेको ‘विजय वा मृत्यु !’ हो ।
यो नारा बोकेर हिँडेका विश्व सर्वहारा समाजवादी क्रान्तिका लडाकूहरू अपराजयी हुनेछन् ।
(सन् १९१८ को नोभेम्बर ७ मा अक्टोबर क्रान्तिका लडाकूहरूको स्मारक अनावरण कार्यक्रममा अक्टोबर क्रान्तिका नेता लेनिनले दिनुभएको मन्तव्य)
लेनिनको सङ्कलित रचना भाग २८, नेपाली अनुवादः विकेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *