भर्खरै :

छलकपटको राजनीति गर्ने उम्मेदवारहरू सद्दे हुँदैनन्

–मेरिना शाक्य
निर्वाचन आयोगको कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मनोनयन दर्ता बिहीबार सम्पन्न भयो । मनोनयन दर्ता नेमकिपालगायतका अन्य दलहरूले पनि गरे । उपनिर्वाचनको लागि विभिन्न दलका उम्मेदवारहरूको मनोनयनसँगै निर्वाचनको चर्चा परिचर्चा सुरु भएको छ । मंसिर १४ गते हुने उक्त प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन भक्तपुर, कास्की, दाङ र बाग्लुङमा हुनेछ । दलका आ–आफ्नाउम्मेदवारलाई बहुमतले निर्वाचित गर्न दलका विभिन्न नेता तथा कार्यकर्ताहरूले आम मतदातामा आग्रह गरेका छन् ।
निर्वाचन आयोगले आचारसंहिता पालना गर्न विभिन्न दल र उम्मेदवारहरूलाई आग्रह गरिसकेको छ । निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र संयमित बनाउन आयोगले सम्बन्धित सबैलाई सूचना जारी गरिसकेको छ । निर्वाचन आयोगले विगतका निर्वाचनमा पनि यसरी नै सूचना जारी गरेको थियो । तर, निर्वाचनमा आचारसंहिता पालना नगर्ने दल र दलका उम्मेदवारलाई आयोगले कुनै कारबाही गर्नसकेन । कति दलका कार्यकर्ताले जनताको मत आफूतिर लिन पैसा बाँडेका थिए, भोज खुवाएका थिए । आचारसंहिताविपरीत ठूलठूला र·ीन पोस्टर र ब्यानरहरू झुन्ड्याएका थिए । आयोगले तोकेको रकमभन्दा बढी रकम खर्च गरिएको थियो । तर, पनि कुनै कारबाही गरिएन ।
यो उपनिर्वाचनमा पनि निर्वाचन जित्न पैसाको छेलोखेलो गर्नेमा शङ्का छैन । आफ्नो दलको सिद्धान्त र विचार छोडेर, जनतालाई राजनीतिक, सैद्धान्तिक र सांस्कृतिकरूपमा सचेत र सङ्गठित नगरी अनेक लोभलालच देखाएर, डर धम्की दिएर निर्वाचनमा जित्ने प्रयास गरिने छ । उम्मेदवार मनोनयन दर्तासँगै अहिले नै आर्थिक चलखेल सुरु भएको घर आँगनमा चर्चा भइसकेको छ । कुनै पनि दल दर्शन, सिद्धान्त र विचारको आधारमा चल्ने हुँदा ती उम्मेदवारहरू पनि सिद्धान्त र विचारबाट अलग हुँदैनन् । सत्तासीन दलका नेताहरूले सरकारी विकासको ध्वाङ फुकेर प्रचार गर्न थालेका छन् । चाँगुको प्रत्येक घरमा खानेपानी पु¥याउने लोभ बाँड्न थालेका छन् । यसरी नै अनेक लोभलालच देखाएर जसरी भए पनि जित्ने दाउ ठूला दलका नेताहरूले गर्न थालेका छन् ।
निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र संयमित हुनुपर्छ । प्रलोभन देखाएर र पैसा बाँडेर निर्वाचन जित्ने दल र दलको उम्मेदवारहरूको मन पवित्र छैन भन्ने थाहा हुन्छ । देश र जनताको सेवा गर्ने, सेवा गर्न चाहने उम्मेदवारहरूले छलकपटको राजनीति गर्दैनन्, साम, दाम , दण्ड र भेदको राजनीति गर्दैनन् । छलकपट र झूटको राजनीति गर्न उम्मेदवारहरू सद्दे हुँदैनन् । ठूला, शक्तिशाली दल र सरकारको अभिमानीमा टेकेर निर्वाचमा हामफाल्ने दल र दलका उम्मेदवारहरूलाई मतदाताले निर्वाचनमा हराउनुपर्छ । सच्चा कम्युनिस्ट पार्टीका उम्मेदवारहरूलाई जिताउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *