भर्खरै :

जताततै भारतको बल मिचाइ

भारतले नेपाली भूमिमा एक ठाउँ, दुई ठाउँ होइन दर्जनौँ स्थानमा मिचेको छ, फेरि मिच्ने क्रम जारी छ । भारतलाई नेपाली भूमि मिच्न अझै पुगेको छैन या अझै अघाएको छैन । नेपाल–भारतको अधिकांश ठाउँमा नेपाली भूमि मिचेर भारतले देखाएको ठूलो देशको अहङ्कार अझै छोडेको छैन । संसारकै ठूला देशहरूमध्ये एक भारतले नेपाल–भारत सीमा क्षेत्रका अधिकांश ठाउँमा मिचेर या नेपाल–भारत सीमा विवाद लम्ब्याएर भारतले कचिङ्गल गरिरहनुको अर्थ अन्ततः नेपाललाई भारतको एक प्रान्त बनाउने जाल रहेको अनुमान गर्न गा¥हो छैन ।
के भारतको उद्देश्य स–साना छिमेकी देशहरू निलेर आफ्नो देशलाई अझ ठूलो बनाउने हो ? स–साना देश निलेर प्रजातान्त्रिक देश बनाउने भारतको बलमिचाइ कुनै पनि न्यायप्रेमी जनतालाई पाच्य हुनेछैन । मंसिर ३ गतेको नागरिक दैनिकमा सुस्ताको पीडा भन्दै ‘लालपुर्जा नेपालीसँग जग्गामा भारतीय हैकम’ शीर्षकको समाचार छाप्यो । समाचारमा नवलपरासीका बासिन्दाले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बितेको खबर छ । भारतद्वारा अतिक्रमित भूमिमा अहिले भारतीय नागरिकहरूकै बसाइ छ । भारतले नेपाली भूमि कब्जा गरेकै कारण सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर भएकोमा अहिले ७ हजार हेक्टरमात्रै नेपालीको अधिनमा रहेको छ ।
नवलपरासीको जग्गा भारतले मिचेको विरोधमा नेपाल मजदुर किसान पार्टीले उहिल्यै विरोध दर्शन र सभा गरेको थियो । अतिक्रमित नेपाली भूमि छोड्न र सरकारले त्यसबारे चासो राख्न नेमकिपाले खबरदारी गरेको थियो । नेपाली भूमि जोगाउन नेमकिपाले समयमै गरेको सो विरोध प्रदर्शन र सभाबारे न तत्कालीन सरकारले चासो राख्यो न त मिचेको नेपाली भूमि फिर्ता दियो । नेपाली भूमि मिच्दा पनि, त्यसबारे खबरदारी गर्दा पनि तत्कालीन सरकारले वास्ता गरेन, भूमि फिर्ता लिनेतर्फ कुनै पहल गरेन । फलतः भारतले नेपाली भूमि मिच्ने कामलाई निरन्तरता दिइरह्यो ।
नेपाली जनतासँग लालपुर्जा छ तर जग्गा भारतीयहरूको कब्जामा छ । नेपाली जनताको पुख्र्याैली सम्पत्ति या जग्गा एसएसबीको कब्जामा छ । २०२२ अघिसम्म त्यहाँ नेपालीकै बस्ती थियो । नेपालीले नै खनजोत गर्थे । त्यही जग्गा अहिले भारतीयहरूको हातमा छ । सुस्ता बचाउ अभियानमा अग्रजहरूको भनाइ पनि त्यही हो । आफ्नै भूमिमा नेपालीले पाइला पनि टेक्न पाउँदैनन् । पाइला टेक्नेबित्तिकै एसएसबीका जवानहरूले धपाउँथे, कुटपिट गर्थे । यसरी नेपाली भूमिमा आँखा गाड्ने, नेपालको स्वाधीनता र सार्वभौमिकतामा कुदृष्टिले हेर्ने भारतको हेपाहा, बल मिचाइको सर्वत्र विरोध गर्नुपर्छ, नेपाली भूमि बचाउन देशभरका जनता उठ्नुपर्छ र सत्तासीन दल र सरकार पनि जाग्नुपर्छ, अतिक्रमित भूमि नेपालकै बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *