भर्खरै :

नेपाल–भारत सीमा विवाद इतिहासदेखि वर्तमानसम्म

बुद्धिनारायण श्रेष्ठ
पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरण अभियानलाई उनका सन्ततिहरूले पनि अङ्गीकार गरे । पृथ्वीनारायणका सन्ततिको शासनकालमा पूर्वमा टिस्टादेखि पश्चिममा काँकडासम्म नेपाली सिमाना थियो । त्यसैलाई आज ‘ग्रेटर नेपाल’ भनिन्छ ।
नेपालले आफ्नो सिमाना विस्तार गरिरहेको समयमा भारत ब्रिटिशहरूको इस्ट इन्डिया कम्पनी मातहत थियो । भारतमा शासन गरिरहेका विस्तारवादी बेलायती शासकलाई नेपालले सिमाना विस्तार गरेको चित्त बुझेको थिएन । उनीहरूको अहम्मा चोट पुगेको थियो ।
त्यसैले बेलायती शासकले आफ्नो विस्तारवादी नीतिलाई जारी राख्न नेपालको भूमि प्रयोग गरेर तिब्बतसँग व्यापार गर्ने योजना बनाए । तर, अङ्ग्रेजहरूको विस्तारवादी नीतिसँग परिचित तत्कालीन नेपाली शासकले नेपाललाई व्यापारिक मार्ग बन्न नदिने अडान कसे । यहीँबाट सुरु हुन्छ नेपाल भारतबीच सीमा विवाद ।
आफ्नो योजनामा नेपाल तगारो बनेपछि बेलायती शासकले हालको पाल्पाभन्दा दक्षिणतर्फको भूभाग (बुटवल, स्युराज र पाल्ही) लाई आफ्नो भूभाग हो भन्दै दाबी गर्न थाले ।
यही नै नेपाल भारतबीचको पहिलो सीमा विवाद हो । सन् १८१४ नोभेम्बर १ तारिखमा इस्ट इन्डिया कम्पनीले उक्त भूभाग छाड्न नेपाललाई पत्रसमेत पठायो । उक्त पत्रमा त्यो भूभाग नछाडेमा युद्धमा उत्रिने चेतावनी तत्कालीन इस्ट इन्डिया कम्पनीले दिएको थियो । यता नेपालले पनि आफू युद्ध गर्न तयार रहेको तर एक टुक्रा पनि जमिन छाड्न तयार नरहेको भन्दै जवाफी पत्र पठायो ।
त्यसपछि सन् १८१४ देखि सन् १८१६ सम्म नेपाल र इस्ट इन्डिया कम्पनीबीच युद्ध भयो । युद्धबाट आजित भएर इस्ट इन्डिया कम्पनीले सन् १८१५ डिसेम्बर २ तारिखमा शान्ति सम्झौता गर्ने प्रस्ताव राखे र शान्ति सम्झौताको मस्यौदा पनि पठाए ।
उनीहरूले १५ दिनभित्रमा उक्त मस्यौदामा हस्ताक्षर गरेर पठाउन नेपाललाई आदेश दिएका थिए । एक महिनासम्म पनि नेपालले हस्ताक्षर नगरेपछि आक्रोसित भएर उनीहरूले काठमाडौँमै आक्रमण गर्ने चेतावनी दिए । काठमाडौँमै आक्रमण गर्ने चेतावनी पाएपछि डराएको नेपालले इस्ट इन्डिया कम्पनीले पठाएको मस्यौदामा हस्ताक्षर गर्ने निर्णय गर्यो ।
४ मार्च १८१६ मा नेपालको तर्फबाट चन्द्रशेखर उपाध्याय र पण्डित गजराज मिश्रले अङ्ग्रेजहरूले क्याम्प स्थापना गरेको स्थान सुगौलीमै गएर उक्त सम्झौतामा हस्ताक्षर गरे । आज हामीले भन्ने गरेको सुगौली सन्धि यही हो ।
त्यतिखेरको नेपाली राज्य संरचना विभाजित थियो । पूर्वमा किरात, लिम्बुवान र लोप्जाजस्ता राज्य थिए । पश्चिममा अलमोडा, कुमाउ, १२ ठकुराई र १८ ठकुराईदेखि बाइसे, चौबीसे राज्य थिए ।
यी राज्यहरूबीचको आपसी सम्बन्ध सौहार्दपूर्ण नहुनु र केन्द्रीय सरकारको उपस्थिति सबै स्थानमा नहुँदा नेपाल इस्ट इन्डिया कम्पनीसँगको युद्धमा कमजोर हुन पुग्यो र सुगौली सन्धि गर्नुपर्यो ।
सुगौली सन्धिपश्चात् विशाल नेपालको एकतिहाइ भूभाग गुम्यो । सन्धिपछिको नेपाली सीमा चुरे पर्वतको फेदसम्म मात्रै थियो । सुगौली सन्धिको ९ महिनापछि नेपालले पूर्वी तराई राप्तीदेखि कोसीसम्मको भूभाग फिर्ता पायो । जङ्गबहादुरको प्रधानमन्त्रीत्वकाल सन् १८६०मा नयाँ मुलुक भनेर चिनिने जिल्लाहरू (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) इस्ट इन्डिया कम्पनीले नेपाललाई फिर्ता गर्यो । भारतमा भएको सैनिक विद्रोह दबाउन जङ्गबहादुरले सैनिक सहयोग गरेको बदलामा इस्ट इन्डिया कम्पनीले ती भूभाग नेपाललाई फिर्ता गरेको थियो ।
सन् १८६० मा नयाँ मुलुक फिर्ता पाउनु र राप्ती पूर्वका भूभाग फिर्ता पाउनु नेपालको इतिहासमा निकै महत्व राख्छन् । यी भूभागहरूले नेपालको भूमिमात्र बढाएनन्, नेपालको आर्थिक समृद्धिमा पनि निकै ठूलो योगदान दिएका छन् । यी भूभागहरू नै हाम्रा सबैभन्दा बढी उब्जाउ भूमि हुन् ।
सन् १८६० पछि नेपालको भावर भनिने ज·ल भारतीय स्वार्थमा सखाप पारिएको छ । भारतमा रेल वे निर्माणको लागि नेपाली ज·लको दोहन गरियो । राणा शासकहरूले अङ्ग्रेज रिझाउनैका लागि उक्त ज·ल फडानी गर्न दिएका थिए । यो नेपाली भूमिभित्रै प्रवेश गरेर गरिएको सबैभन्दा ठूलो दोहन र हस्तक्षेप थियो । जब कि सन् १८५० मै नेपाललाई स्वतन्त्र मुलुक भनिएको थियो ।
सन् १८६३ मा जङ्गबहादुरकै प्रधानमन्त्रीत्व कालमा हालको नेपालगञ्ज त्यत्तिखेरको जमुनाह क्षेत्रको १ सय ५३ बिगाह जमिन पनि इस्ट इन्डिया कम्पनीले अतिक्रमण गरेको थियो । जङ्गबहादुरले इस्ट इन्डिया कम्पनीलाई त्यो जमिन फिर्ता गर्न पत्राचार गरेका थिए ।
सन् १९४७ मा भारत स्वतन्त्र भइसकेपछि इस्ट इन्डिया कम्पनीले नेपालका तत्कालीन प्रधानमन्त्री मोहन शमशेरलाई सुगौली सन्धिमा गुमेको ग्रेटर नेपालको भूभाग फिर्ता लिन प्रस्ताव पनि गरेका थिए । तर, उनका भाइ भारदारहरूले त्यो जमिन फिर्ता लिन मानेनन् । यो हाम्रा शासकहरूको अक्षम्य कमजोरी हो । विशाल नेपाल फिर्ता पाउने मौका शासकको दूरदर्शिताको अभावमा हामीले गुमायौैँ ।
नेपाल भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमा रेखा छ । सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा सानो ठूलो सीमा विवाद छ । १ हजार ८ सय ८० किलोमिटर लामो सीमा रेखामध्ये ६ सय ६ वर्गकिलोमिटर लामो सीमारेखामा सधैँको विवाद छ ।
सीमा विवादको पहिलो जरो भनेको सीमारेखाको अस्पष्टता हो । पहिलोपटक सीमा निर्धारण गर्दा ९ सय ३७ वटा जङ्गे पिलर गाडिएका थिए । ५ देखि ७ माइलको दूरीमा गाडिएका ती जङ्गे पिलरले मात्रै सीमा रेखा प्रस्ट नभएपछि सन् १९८१ मा जङ्गे पिलरको बीचमा अन्य सहायक पिलर गाड्ने काम सुरु गरिएको थियो ।
जङ्गेपिलरको लम्बाइ ७ फिट हुन्छ र गोलाइ ८ फिट हुन्छ । ५ फिट लम्बाइ र ७ फिट चौडाइ भएको चौतारी निर्माण गरी त्यसैको माथि जङ्गे पिलर निर्माण गरिन्छ । जङ्गेपिलरको बीचमा सहायक पिलर नहुँदा सन् १८६० को दशकबाटै नेपाल भारतबीच सीमा विवाद सुरु भयो ।
सीमा विवाद सुल्झाउने भन्दै सहायक पिलर गाड्ने काम सन् २००७ को डिसेम्बरसम्म चलेको थियो । नेपाल भारतका सीमाविज्ञहरू सम्मिलित यो संयुक्त प्राविधिक समितिले सीमारेखा निर्धारणको ९७ प्रतिशत काम गरेको थियो । समितिले १ सय ८३ वटा नयाँ सीमा नक्सा पनि तयार गरेको थियो । तर, दुवै देशका अधिकारीहरूले ती नक्सामा हस्ताक्षर नगरेपछि समिति नै विघटन भयो ।
यो समितिले कालापानी, लिम्पियाधुरा, लिपुलेक, सन्दकपुर, पशुपतिनगर र ठोडीजस्ता स्थानको सीमारेखा भने निर्धारण गरेनन् । यी स्थानहरूको सीमा विवाद राजनीतिक र कूटनीतिक तहबाट समाधान गर्ने भनेर छाडिएको थियो । सन् २००७ मा भङ्ग भएको संयुक्त टोलीले सीमा क्षेत्रमा ८ हजार ५ सय ५३ नयाँ सीमा स्तम्भ राख्नुपर्ने प्रतिवेदन पेश गरेको थियो । तर, अहिलेसम्म जम्मा ६ हजारमात्रै सीमास्तम्भ गाडिएका छन् । यीमध्ये कतिपय सीमा स्तम्भ त अहिले हराएका छन्, गायब पारिएका छन् ।

भत्किएको सीमा स्तम्भ


नेपाल र भारतबीच सिमानाको तीन प्रतिशत क्षेत्रमा अझै दशगजा आङ्कलन गरिएको छैन । त्यसमाथि ५४ किलोमिटर क्षेत्रमा त सीमाकङ्नसमेत गरिएको छैन । कालापानी, लिम्पियाधुरा, लिपुलेकजस्ता क्षेत्रमा अझै सीमाकङ्न गर्न सकिएको छैन । यस्तै सिमाङ्कन हुन नसकेका क्षेत्रहरू र अन्य विवादित क्षेत्रहरूको विवाद सल्टाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वि.स २०७२ मा संयुक्त सीमा कार्यदल बनाउने घोषणा गरे । यो कार्यदल पनि बनिसकेको छ । तर कार्यदलले अझै अपेक्षाअनुरुप काम गर्न सकेको छैन ।
मेरो अध्ययनअनुसार सुस्तामा १४५ वर्गकिलोमिटर र कालापानी क्षेत्रमा ३७० वर्गकिलोमिटर भूभाग नक्सामा हराएको देखिन्छ । ५ हजार ५ सय ३२ मिटर उचाइमा रहेको लिम्पियाधुरालाई महाकाली नदीको प्रमुख जलाधार र उद्गम बिन्दुका रूपमा रहेको बताइन्छ, जुन लिपुलेकभन्दा अझै पश्चिम–उत्तरमा पर्छ ।
सुगौली सन्धिपछि भएका ब्रिटिस इन्डिया सरकारका नक्साड्ढनहरूमा उक्त कुरा उल्लेख रहेको छ ।
तर सुगौली सन्धिमा अस्पष्टता रहेको भन्दै त्यहाँको विवाद सुल्झन सकेको छैन ।
भारतले नेपालको ५१ हजार ५ सय हेक्टर जमिन अतिक्रमण गरेको छ । नेपाल र भारतबीच सीमा विवाद रहेका धेरै स्थानमा भारतीय पक्षले नै नेपाली भूमि मिचेका छन् ।
बलियोले निर्धोलाई हेप्ने र मिच्ने परिपाटी सीमामा पनि लागू हुन्छ । भारतका किसानहरू बलिया छन् । उनीहरूको पछाडि त्यहाँको स्थानीय सरकार र केन्द्र सरकार रहन्छ । भारतको केन्द्र सरकारको प्रत्यक्ष निगरानीमा खटिने सीमा सुरक्षा बल (एसएसबी) को पृष्ठभूमिमा भारतीय किसानले नेपाली भूमि मिच्ने गरेका छन् ।
त्यसो त नेपाली पक्षले पनि दशगजा क्षेत्रमा सीमा अतिक्रमण गरेका छन् । जङ्गेपिलर गाडिएको स्थानबाट दुवैतर्फ दश गज भूमि खाली राख्नुपर्ने हुन्छ । यसैलाई नो मेन्स ल्यान्ड भनिन्छ । सशस्त्र प्रहरी बलको तथ्याड्ढअनुसार २२ स्थानमा नेपाली पक्षले दशगजा क्षेत्र अतिक्रमण गरेका छन् ।
वि.स २०५८ सम्म भारतले पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म इन्डो टिबेटन बोर्डर प्रहरी खटाएको थियो । तर, ती स्थानमा पनि पछिल्ला पाँच वर्षयता एसएसबी खटाउन थालिएको छ । भारतले नेपालसँग जोडिएको सीमा क्षेत्रमा वि.स २०५८ देखि एसएसबी तैनाथ गर्न थालेको हो ।
यस समयमा नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । यसलाई एउटा संयोगको रूपमा मात्रै लिन हुँदैन । भारतले नेपाली सिमाना आतङ्ककारी गतिविधिमा प्रयोग हुन्छ कि भन्ने आशङ्काले पनि सीमा सुरक्षा बलको उपस्थिति तीव्र बनाएको लाग्छ ।
अहिले भारतले नेपालसँग जोडिएको सिमामा मात्रै ९१ हजारको सङ्ख्यामा एसएसबी खटाएको छ । नेपाल–भारत सिमानामा एसएसबीका ५ सय हाराहारी पोस्ट रहेका छन् । भारतले प्रत्येक साढे चार किलोमिटरको दूरीमा ३० जना एसएसबी खटाएको छ । यता नेपालले भने २४ किलोमिटरको दुरीमा ५ जना सशस्त्र प्रहरी खटाएको छ ।
सिमाना केही इञ्च जमिनको सवालमात्रै होइन । यो त मुलुकको स्वाभिमान र राष्ट्रियतासँग जोडिने कुरा हो । राष्ट्र, नागरिकको अस्तित्वसँग जोडिन आउने कुरा हो । कोही पनि नागरिक आफ्नो अस्तित्व त्याग्न चाहँदैनन् । तसर्थ सीमा विवाद विश्वभर निकै महत्वका साथ लिइन्छ ।
भारतले नेपाली पक्षले सीमा विवाद सुल्झाउने वा अन्य कुनै कुरा गर्दा १९५० को सन्धिको हवाला दिँदै सिमाना खुला राख्नुपर्छ भन्छ । रोटी बेटीको सम्बन्ध छ भन्छ ।
तर, उक्त सन्धिमा कतै पनि सीमा खुला राख्नुपर्छ भनिएको छैन । उक्त सन्धिको दफा ७ मा समान तरिकाले आवतजावत गर्न पाउने उल्लेख गरिएको छ । यो भनेको खुला सिमाना हैन ।
सिमाना खुला, बन्द र नियमन गरी तीन प्रकारका हुन्छन् । तर भारतसँगको सिमाना त ह्वाङ्गै छ । खुला सिमानाको असर सीमा क्षेत्रका बासिन्दाको दैनिकीमा पनि पर्छ । अर्कोतर्फ मुलुकको अर्थतन्त्र र अन्य क्षेत्रमा पनि खुला सिमानाका असर देखिन्छन् ।
अबको सीमा समस्या समाधानको सजिलोको लागि सीमा क्षेत्रमा बसोबास गर्ने दुवै देशका नागरिकलाई सीमासम्बन्धी सचेतना दिनुपर्छ । शिक्षा दिनुपर्छ ।
अब त स्थानीय निकाय पनि स्थापित भइसकेका छन् । ती स्थानीय निकायलाई आ—आफ्नो सीमा क्षेत्रको बारेमा जानकारी दिने र तिनीहरूलाई उक्त सीमा क्षेत्रको रक्षा गर्ने अधिकार दिनुपर्छ । तर, यसको नियन्त्रण भने केन्द्र सरकारले नै गर्नुपर्छ ।
सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरू अझै पनि एक किलो चिनी वा नुनका लागि भारत जानुपर्ने बाध्यता छ । यस्तो परनिर्भरता पनि हामीले कम गर्नसक्नुपर्छ । सीमा क्षेत्रमा स्थानीय निकायको सहयोगमा सहकारी पसलदेखि साना सहर निर्माण गर्ने कार्य गरिनुपर्छ । दुवै देशका सरकारहरूले एकीकृत सीमा व्यवस्थापन आयोजना सञ्चालन गरेर सीमा क्षेत्रलाई सौहार्दपूर्ण बनाउन सकिन्छ ।
(सीमाविद् बुद्धिनारायण श्रेष्ठको मन्तव्य र अन्तर्वार्तामा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *