भर्खरै :

“सहकारीले सदस्यहरूको सांस्कृतिक स्तर पनि उकास्नुपर्छ”

भक्तपुर, ७ मंसिर । भिन्तुना बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभामा प्रमुख अतिथि बिजुक्छेँले सहकारी संस्थाले सदस्यहरूको क्षमता अभिवृद्धिका लागि नियमितरूपमा तालिमहरू सञ्चालन गर्दै जानुपर्छ भन्नुभयो ।
सहकारी आर्थिक कारोबारमा मात्र सीमित हुन नहुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले सदस्य शिक्षा कार्यक्रमहरू सञ्चालन गरी सदस्यहरूको सांस्कृतिक स्तर विकास गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कतिपय सहकारी संस्थाका सञ्चालकले व्यक्तिगत स्वार्थ पूर्ति गर्ने र संस्थामा जम्मा भएको करोडौँ रकम लिएर हिनामिना गरेका उदाहरणहरू छन् । यसतर्फ सदस्यहरू सचेत हुनु आवश्यक छ ।”
भक्तपुर पर्यटकीय गन्तव्य स्थल रहेकोले पर्यटन व्यवसायलाई टेवा पु¥याउने विविध कार्यक्रम र तालिमको सञ्चालन गर्नसके सदस्यहरूको जीवनमा सुधार आउनुको साथै भक्तपुरको पर्यटन विकासमा सहयोग पुग्ने धारणा अध्यक्ष बिजुक्छेँले व्यक्त गर्नुभयो ।
भक्तपुर सल्लाघारीस्थित १०८ रोपनी जग्गा कटुञ्जे क्षेत्रभित्र परेको भनी झूठो प्रचार गर्ने नेकपाका कार्यकर्ताहरूमा वास्तविक अध्ययनमा कमी भएको उहाँले बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले विकास निर्माणका साथै शिक्षा–स्वास्थ्य क्षेत्रको विकासमा गरिरहेको विकास निर्माण कार्यहरूबारे जानकारी दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाले साधारणसभामा अधिकत्तम सदस्यहरूको उपस्थिति रहने भएकोले यसलाई महासभाको रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालको सभापतित्वमा भएको उक्त सभामा संस्थाका उपाध्यक्ष शिवकृष्ण कोजू, सदस्य चन्दन कोजूलगायतले बोल्नुभएको थियो ।
सभामा संस्थाका ज्येष्ठ सदस्य सम्मान, असल बचत पदक, असल ऋण पदक तथा संस्थाका ज्येष्ठ नागरिक बचतकर्ताहरूलाई प्रमुख अतिथि बिजुक्छेले सम्मान गर्नुभएको थियो ।
सभामा संस्थाका प्रतिवेदनहरू प्रस्तुत भएको थियो । सभाले शिवकृष्ण कोजूको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र गणेशप्रसाद सुवालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *