भर्खरै :

विवेक प्रयोग गर्ने बेला

– प्रकृति
मंसिर १४ गते शनिबार देशभरका केही निर्वाचन क्षेत्रका रिक्त पदाधिकारीको निम्ति निर्वाचन हुँदै छ । दुई वर्षपछि हुनलागेको निर्वाचनलाई कतिले सरकारको मूल्याङ्कनसमेत हुने टिप्पणी गरेका छन् । तर, निर्वाचनको परिणाम नै कुनै पनि पार्टीबारे जनताको धारणा भन्न नमिल्ने अवस्था छ । हाम्रोजस्तो पिछडिएका देशहरूमा हुने निर्वाचन निष्पक्ष र धाँधलीविहीन हुनसक्दैन । मतदाताले सत्यतथ्य बुझ्न पाएका छैनन् । मतदाताले सबै पार्टीका सिद्धान्त, नीति तथा कार्यक्रम र व्यवहारको सही मूल्याङ्कन गर्न पाएका छैनन् । अझै पनि मतको खरिद र बिक्री भइरहेको पाइन्छ । एक गिलास रक्सीदेखि जागीरसम्मका प्रलोभन देखाएर मत खरिद गर्ने गरिएका अनेक प्रमाण छन् । भोजभत्तेरको आयोजना गरी मतदातालाई प्रभावित गर्ने काम भइरहेको छ । चुनावको मुखैमा विकासको नौटङ्की देखाएर मतदाताको आँखामा छारो हाल्ने काम भइरहेको छ ।
निर्वाचन घोषणापत्र हेरौँ, विगतका क्रियाकलापको कसीमा तिनलाई घोटौँ । जसले मुखले मात्र ठिक्क पार्छ, व्यवहारमा आफ्नो पार्टी वा परिवारको दुनो सोझ्याउँछ, तिनलाई भोट हाल्नुको अर्थ आफ्नो खुट्टामा आफैले बञ्चरोले हान्नु हो । गएको निर्वाचनमा पार्टीले प्रकाशित गरेको घोषणापत्र पढौँ, कसले कति पूरा गरे जाँचौँ । विकासको बजेट ल्याएर कति इमानदारीसाथ काम गरियो, त्यो पनि हेरौँ । पार्टीको काम देखाउन ल्याइने त्यस्ता विकास बजेटको कति प्रतिशत उपयोग भयो भनी हेरौँ ।
जनताको मत अमूल्य हो, कसैले मोल तोकेर भोट किन्न खोज्नु अपराध हो । अपराधलाई स्थान दिनु पनि अपराध कर्म नै हो ।
निर्वाचन जनताको चेतना नाप्ने माध्यम पनि हो । जनताले सही के गलत के भन्ने छुट्याउन जान्नैपर्छ, होइन भने जनताको परिवर्तनको चाहना आकाशको फल नै प्रमाणित हुनेछ ।
भनिन्छ, जनताको शक्ति अजेय छ, यो विशाल शक्तिको सही सदुपयोग गर्ने बेला आएको छ । निर्वाचनमा सही पार्टी चयन गर्ने जिम्मेवारी जनतामै निहीत छ । विवेक प्रयोग गरौं । जनपक्षीय पार्टी र उम्मेदवारलाई छानौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *