भर्खरै :

वातावरण प्रदूषणको निहुँमा भारतबाट इँटा आयात गर्ने ?

बलराम प्यासी
कुनै बेला चोभारमा रहेको हिमाल सिमेन्ट लिमिटेडले त्यतिखेर काठमाडाँै उपत्यकामा मात्रै नभई काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादि· र नुवाकोटसम्म सर्वसुलभरूपमा गुणस्तरीय सिमेन्टको माग पूरा गथ्र्याे । सयौँ स्थानीय बासिन्दाले त्यहाँ रोजगार पाएका थिए । तर, एकाएक विदेशी सिमेन्ट उत्पादकका एजेन्ट (दलाल) को लहैलहैमा आर्थिक प्रलोभनमा परी वातावरण प्रदूषणको नाउँमा चोभारका बासिन्दा उचालिएर र नारा जुलुस गरे । फलस्वरूप केही समयपछि मासिक हजारौँ बोरा सिमेन्ट उत्पादन गर्दै आएको हिमाल सिमेन्ट पूर्णरूपमा बन्द भयो । तर, सो उद्योगमा प्रत्यक्ष रोजगारी पाएका सयौँ कर्मचारी र श्रमिक बेरोजगार भए, अप्रत्यक्षरूपमा जोडिएकाहरूको पनि रोजगारी खोसियो । अनि राजधानीलगायत सो कारखानाले आपूर्ति गरिराखेको सिमेन्टको बजार भारतीय सिमेन्टले लियो । करोडौँ मूल्यका उपकरण र औजारहरूमा खिया लागेर हिमाल सिमेन्ट लिमिटेड अहिले खण्डहर बन्न पुग्यो । आफ्नो योजना सफल भएकोमा दलालहरू दङ्ग परे । केही दलालहरूले काठमाडौँमा नयाँ घरबार जोड्न सफल भए । आन्दोलन गरेर सिमेन्ट कारखाना बन्द भएपछि बेरोजगार बनेका केहीले त त्यतिखेर आत्महत्यासमेत गरे ।
अहिले राजधानीमा फेरि यस्तै घटना दोहोरिने क्रममा छ । विकास निर्माणको लागि नभई नहुने पहिलो नम्बरको भौतिक वस्तु इँटाको उत्पादनमा धेरैको नकारात्मकरूपमा आँखा गडेको छ । विगतमा राजधानीमा घर कम, खुला क्षेत्र अर्थात् खेतीपाती धेरै थियो । सहरका कुनाकुनाका खेतमा सयौं इँटाभट्टाहरू सञ्चालित थिए । धान काटेर बाली भित्याएपछि गहुँ नछर्दै हरेक हिउँदमा इँटाभट्टा सञ्चालकहरूले ती जग्गा भाडामा लिएर त्यसको माटोले इँटा बनाएर भट्टामा लगेर पोल्थे । न त्यतिखेर वातावरण प्रदूषणको कुरा उठ्थ्यो न इँटा नै महँगो थियो । किनकि उपत्यकाका आदिवासी बासिन्दालाई यसको चासो नै थिएन ।
तर, राजधानीमा अहिले अनियन्त्रितरूपमा र विनायोजना बस्ती विस्तारको क्रम बढिरहेको छ । हरेक वर्ष हजारौँ सङ्ख्यामा घरलगायत ठूलाठूला भौतिक संरचना बन्ने क्रम बढिरहेको छ । सार्वजनिक जग्गादेखि खोला किनार, चिहान र मसानघाटसमेत मिचेर घर बन्ने क्रम बढिरहेको छ । ठाउँ कुठाउँमा सस्तो जग्गा किनेर घर टहरा बनाउने अनि परम्परादेखि चल्दै आएका उद्योग, कलकारखानालगायतलाई हटाउन वातावरण प्रदूषणको आरोप लगाउने एकथरी गुटको पेशा नै बनेको छ अहिले ।
उपत्यकामा सञ्चालनमा रही उपत्यकाको इँटाको बढ्दो मागलाई पूर्णरूपमा आपूर्ति गर्दै आएका इँटाभट्टाहरूलाई पछिल्लो समय वातावरण प्रदूषणको नाउँमा विस्थापित गर्ने चलखेल भइरहेको इँटाभट्टा सञ्चालकहरूले गुनासो गर्दै आएका छन् । तर, उनीहरूको आवाज सुन्ने कोही छैन यहाँ । इँटाभट्टा सञ्चालनमा रहेका क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रशासकहरू जग्गा दलाल र भूमाफियाहरूसँग मिलेमतो गरी वातावरण जोगाउने निहुँमा इँटाभट्टा सञ्चालकहरूसँग बार्गेनि· गरिरहेको सुन्नमा आएको छ । एकातिर केही जनप्रतिनिधि र प्रशासकहरू एकथरी जमातलाई उचालेर वातावरण जोगाउन नाराजुलुस गर्न लगाउने र अर्कोतर्फ यसै विषयलाई लिएर इँटाभट्टा सञ्चालकहरूसँग बार्गेनि· गर्ने दोहोरो भूमिकामा देखिएको आरोप लाग्दै आएको छ । बार्गेनि· मिलेमा इँटाभट्टा सञ्चालनमा कुनै बाधा अवरोध नगर्ने, नमिलेमा भने उद्योगको नवीकरण नगर्ने, स्थानीय करमा वृद्धि गर्ने र विभिन्न प्रशासनिक झमेला थोपरिदिने गरेको इँटाभट्टा सञ्चालकहरूको गुनासो रहेको छ ।
एउटै मुलुकको सरकारको एउटा निकायले सबै प्रक्रिया पु¥याई सञ्चालन गर्न स्वीकृति दिएको उद्योग त्यही सरकारको अर्काे निकायले विभिन्न अवरोध खडा गर्दै विनाकारण बन्द गर्न दबाब दिएर दुःख दिन्छ भने करोडौँ लगानी गरेर उद्योग सञ्चालन गर्नेको पीडा अरू के हुनसक्छ ?
गोडामा क्यान्सर लाग्यो भन्दैमा पहिला त्यसको उपचार गर्ने कि उपचार नै नगरी सुरुमै गोडा काटेर फ्याँक्ने ? त्यस्तै वातावरण प्रदूषण गर्यो भन्दैमा दशकौँ सञ्चालित इँटाभट्टाहरूलाई कम प्रदूषण गर्ने उपाय सिकाउने कि उद्योग नै बन्द गरिदिने ?
कुनै समय इँटा पारेपछि बढी धुवाँ आउने खालको ‘ठाडो भट्टा’ पद्धतिबाट पोलिँदै आएको इँटा फलामे पाताको चिम्नी भट्टा, त्यसपछि फिक्स चिम्नी भट्टा, अनि जिक ज्याक फोर्स चिम्नी भट्टा हुँदै अहिले निकै कम वातावरण प्रदूषण गर्ने खालको वातावरणमैत्री टनेल प्रविधिको भट्टाबाट इँटा पोलिँदै आएको इँटा उद्योग सञ्चालकहरू बताउँछन् । विगतको तुलनामा हाल उपत्यकामा सञ्चालित अधिकांश इँटाभट्टाहरू क्रमशः निकै सुधारिइसकेका छन् भने कतिपय सुध्रिने क्रममा छन् ।
‘पहिला सय प्रतिशत प्रदूषण गर्ने इँटाभट्टाबाट अहिले २० प्रतिशत पनि प्रदूषण र धुलोको कण आउँदैन – ओमश्री मच्छिन्द्रनाथ इँटा उद्योग सतुङ्गलका सञ्चालक तीर्थलाल महर्जन भन्छन् । तथापि इँटाभट्टाले वातावरण बिगार्यो भनेर एउटा समुदाय र प्रायोजित समूह भने सधँै इँटाभट्टाको विरोध गरिरहेका छन् । मानौँ विरोध गर्नु उनीहरूको दायित्व हो ।
यसरी वातावरण प्रदूषणको निहुँमा हिमाल सिमेन्ट कारखाना बन्द गरिएजस्तै काठमाडौँ उपत्यकामा सञ्चालित सबै इँटाभट्टा बन्द गरी त्यसमा आश्रित हजारौँलाई बेरोजगार बनाउँदै भारतबाट महँगो मूल्यमा इँटा आपूर्ति गर्नु उचित कि हाल सञ्चालित इँटाभट्टालाई न्यून प्रदूषण गर्ने वातावरणमैत्री बनाएर या सुधार गरेर इँटा उद्योगलाई सञ्चालन गर्न दिनु उचित ? देशमा रोजगार नपाएर दिनहुँ सयौँ युवालाई विदेशिन बाध्य पार्नु उचित कि स्वदेशमै काम गर्न प्रेरित गर्नु उचित ? करोडौँ रूपैयाँ विदेश पठाउनु उचित कि देशभित्रै राख्नु उचित ? यसबारे सोच्ने शक्ति भएका कोही छैनन् मुलुकमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *