युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
– सुरजसिंह
देशमा सरकार छैन भनौँ पाइला पाइला कर उठाउने ठेकेदार र कार्यालयले सरकारकै दुहाइ दिन्छन् । सरकार छ भनौँ भने निमुखा जनता पाइला पाइलामा पिल्सिरहेका छन्, उद्धार गर्ने र न्याय गर्ने निकाय चुपचाप छन् । देशैभरि सर्वसाधारणमात्र होइन स्वयम् सरकार नै भूमाफियाका कारण पीडित र प्रताडित छ । सरकारको नाममा रहेका लाखौँ रोपनी जग्गा भूमाफियाहरूले व्यक्तिको नाममा लगेर बेचबिखन गरिसकेको समाचार आइरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारकै जग्गा व्यक्तिका नाममा गइसकेको खबर सार्वजनिक भएको त महिनौँ भइसक्यो तर दोषीहरूलाई कठघरामा उभ्याएको समाचार सुन्न पाइरहेका छैनौँ । विकास निर्माणको कामको ठेक्का राम्ररी काम गर्ने ठेकेदारले पाइरहेका छैनन्, सत्तासीन र अरु शासक दलहरूलाई मोटो रकम चन्दा दिएका, कर्मचारीलाई अग्रीम कमिसन पु¥याउने ठेकेदारहरूको हातमा पुगिरहेका छन् । फलस्वरूप एक–दुई वर्षमा बन्नुपर्ने सडक, पुल, भवनलगायतका पूर्वाधार वर्षौंवर्ष र दसक पुग्दासमेत बनेका छैनन् । ठेक्का र ठेक्काको अग्रीम रकम कुम्ल्याएर अर्कैतिर लगानी गरिबसेका ठेकेदारहरूलाई समाउने तर्फ सरकारको चासो देखिएको छैन ।
अर्कोतिर मालपोत, भूमिसुधारलगायतका सरकारी कार्यालयका कर्मचारी चिया खर्च, खाजा खर्च वा भोज खर्चको नाममा मागेजति घूस नपाएसम्म फाइल अगाडि बढाउँदैनन् । घूस दिन्न भन्नेहरूको एक दुई दिनमा हुने काम हप्तौँ लगाइदिन्छ वा अनेक अड्को थापेर नहुने बताइदिन्छ । घरजग्गा किनबेचमा बिचौलिया दलालहरूले जग्गा बेच्ने र किन्नेहरूसित लाखौँ र करोडौँ रूपैयाँ ठगिरहेका छन् । तिनीहरूमाथि न कुनै नियन्त्रण छ न तिनीहरूको नाफा वा आम्दानीमा कर नै लगाउन सकेको छ । बजारतिर हे¥यौँ भने व्यापारीले ४–५ सय पर्ने सामानको मूल्य २–३ हजार लिइरहेका पाइएका छन् । बिचौलियाले २–३ सय प्रतिशत नाफा खाएर तरकारी महँगोमा बेचिरहेका छन् । त्यसमाथि अनुगमन र निगरानी राख्ने सरकारको पनि दृष्टिगोचर हुँदैन ।
Leave a Reply