युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
ई. राजदास श्रेष्ठ
पद्मोदय हाइस्कूलमा पढ्दै गर्दा म सोही स्कूलका संस्थापक प्राध्यापक स्व. मोहनप्रसाद मास्केको घरमा बस्थेँ । उहाँले मेरो अभिभावकत्व लिनुभएको थियो र मलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ अमृत साइन्स कलेजका संस्थापक तथा प्रिन्सिपल स्व. अमृतप्रसाद प्रधानका जेठो ज्वाइँ हुनुहुन्थ्यो । यही सम्बन्धले गर्दा म बरोबर प्रोफेसर अमृतप्रसाद प्रधानको ठमेल चोकमा अवस्थित निवासमा जाने आउने गर्थँे र उहाँलाई नजिकबाट नियालेर हेर्ने मौका पाउँथँे । प्रो.अमृतप्रसाद धेरै ठूलो विद्वान र भलादमी हुनुहुन्थ्यो । उहाँको आल्पस (Alps) पहाडमा फ्रान्समा भएको एक जेट विमान दुर्घटनामा दुःखद निधन भएको थियो । उहाँको यस दुःखद निधनमा देशका सारा बौद्धिक जगतले ठूलो शोक मनाएको थियो । उहाँको फोटोसहित काठमाडौँमा निस्कने सबै पत्रपत्रिकाले देशको शिक्षा क्षेत्र टुहुरो भन्ने आशयको खबर छापेका थिए । प्रोफेसर यदुनाथ खनालका उहाँ निकै नजिकका मित्र हुनुहुन्थ्यो । त्यस हवाई दुर्घटना हुनु एक दिन अगाडि दिल्लीस्थित नेपाली राजदूतावासमा प्रो.खनालजीकहाँ उहाँ बसेर जानुभएको थियो । प्रो. यदुनाथ खनाल त्यसबेला भारतका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । प्रो अमृतप्रसाद राजा महेन्द्रका पनि प्रियपात्र हुनुहुन्थ्यो । त्यसबेला प्रो. अमृतप्रसादको घरमा एउटा मयूर
(एकजोडी हो कि एउटा हो याद भएन ।) पालिराखेको थियो । खास सर्वसाधारण जनतालाई आफ्नो घरमा मयुर पाल्न दिन्थेन, तर राजा महेन्द्रसँगको सामीपत्यताले हो वा किन हो प्रो.प्रधानको घरमा म बरोबर मयुर देख्थेँ । प्रोफेसरको घर नारायणहिटी राजदरबार नजिक नजिक नै थियो । त्यो मयुर उडेर ठमेलको चोक बजारमै र बरोबर ठमेल घरबाट राजप्रसादभित्र बगैँचामा जान्थ्यो र केही दिन बस्थ्यो । अनि प्रो. अमृतप्रसाद भन्नुहुन्थ्यो, “सरकार मेरो मयुर सरकारको कम्पाउण्डमा उडेर आएको छ, फिर्ता पाउन निवेदन गर्दा राजाबाट तिम्रो घरमा र यहाँ के फरक भयो त, हुन देऊ” जवाफ आउँथ्यो रे । राजा महेन्द्र र प्रो. अमृतप्रसाद प्रधानबीच यस प्रकारको सामीपत्यता थियो ।
प्रो. अमृतप्रसादको पारिवारिक सूत्रअनुसार राजा महेन्द्रले प्रो. अमृतप्रसादलाई त्रिभुवन विश्वविद्यालयको भाइस चान्सलर बनाउने उद्देश्यले केही तालिम लिन र एक शैक्षिक सम्मेलनमा भाग लिन अमेरिका पठाएका थिए । सोही अमेरिकी यात्रामा जाँदा युरोपको आल्पस पहाडमा उहाँ चढेर जानुभएको जेट विमान दुर्घटना भएको थियो । सोही दुर्घटनामा उहाँको दुःखद निधन भएको थियो ।
त्यसबेला म एसएलसी परीक्षा दिएर नतिजा पर्खँदै थिएँ । प्रो. अमृतप्रसादको निधन हुनु अघिसम्म हालको अमृत साइन्स कलेज ‘पब्लिक साइन्स कलेज’ को नामबाट प्रसिद्ध छ । काठमाडौँ लैनचौरस्थित उक्त कलेज प्रो. अमृतप्रसाद प्रधानकै सक्रियतामा स्थापना भएको थियो । मैले स्कूल परीक्षापछि आफ्नो प्रवीणता प्रमाणपत्र तह (आइएसी) कोर्स सोही कलेजमा पढेको थिएँ ।
मैले कलेजको पढाइ एक वर्ष ड्रप गर्दा प्राध्यापक सूर्यबहादुर पिवाले मलाई सम्झाउनुभएको थियो । प्रो.अमृतप्रसादसँग साहित्यकार प्राध्यापक सूर्यबहादुर पिवाको पनि पारिवारिक सम्बन्ध थियो ।
सूर्यबहादुरजीको भाइ प्रो. प्रधानको कान्छो बहिनी ज्वाइँ हुनुहुन्थ्यो । उहाँ एक सिभिल इन्जिनियर हुनुहुन्थ्यो । म सूर्यबहादुर सरकहाँ नेपालभाषा पढ्न जाँदा उहाँको भाइ इन्जिनियर ठूलो ड्रइङ्ग बोर्डमा ह्वाइट पेपरमा ड्रईङ्गहरू कोर्दै गरेको देख्थेँ । ती ड्रइङ्गहरू त्यसबेला बन्दै गरेका काठमाडौँ कोदारी राजमार्गको थियो । उहाँ उक्त राजमार्गको निर्माणमा नेपाली पक्षबाट इन्जिनियर हुनुहुन्थ्यो । उक्त काठमाडौँ–कोदारी राजमार्ग मित्र राष्ट्र चीनले बनाएको थियो । नेपालमा बनेका राजमार्गहरूमध्ये यो राम्रो राजमार्ग भनेर सर्वत्र प्रचार हुँदै थियो । उक्त राजमार्ग हेर्न मलाई खूब रहर जागेको थियो ।
नेपाल र चीन जोड्ने उक्त कोदारी राजमार्गको मैत्री पुल धेरै मजबुट थियो । सातवटा युद्धका ट्याङ्कहरू यस पुलबाट एकै साथ आउन सक्ने क्षमता थियो रे यो मैत्री पुलको । यति मजबुट पुल किन बनाउनुपर्ने हो र त्यहाँ कतै उत्तरबाट सैन्य प्रवेशको तयारी त होइन यो पुल र स्वयं कोदारी राजमार्ग भनेर आलोचनाको स्वर पनि सुनिएको थियो काठमाडौँका स्थानीय पत्र–पत्रिकाहरूमा ।
एक दिन काठमाडौँबाट आफ्नो गाउँ सक्व आउँदै गर्दा एकजना चामलको भारी काठमाडौँमा बेचेर हामीसँगै साँखु फर्कँदै गरेका एकजना साँखुकै मानिस यही पुलको बारेमा भन्दै थियो । त्यो कोदारीको बाटो बनाउने जाँचकीलाई त धेरै मान्नुपर्छ । त्यस्तो पहाडै पहाडबाट जाने बाटो कति सुगमरूपले जान सक्ने गरी बनाएको भन्दै काठमाडौँ–कोदारी राजमार्गको तारिफ गर्दै थियो ।
यो कुराले मलाई त्यो कोदारी राजमार्ग एकचोटि हेर्न खूब रहर जाग्यो र नभन्दै अमृत साइन्स भर्ना भएकै साल मेरा ६–७ जना साथीहरूसँग मैले आफ्नो इच्छाको कुरा राख्दा सबैजनाले हुन्छ–हुन्छ जाऔँ भने, कोदारी राजमार्ग हेर्न भनेर हर्षित भएँ । हामी ६–७ जना एकै कक्षामा पढ्ने साथीहरू आउँदो शनिबार कोदारी राजमार्गमा साइकल चढ्दै दोलालघाटसम्म पिकनिक जाने कुरा टुङ्गियो । सबैले आ–आफ्नो लागि एक एक साइकल बन्दोबस्त गर्ने निर्णय गरे । साथीले पैसा हालेर मैले त्यहाँ गएर खानको लागि खाना पकाएर लाने जिम्मा लिएँ । त्यो पैसाबाट खसीको मासु, पाउरोटी, अचार, तरकारी, च्यूरा सबै घरमै पकाएर ठिक्क पारेँ । भनिएको दिन बिहान ५–६ बजेतिर हामी दोलालघाट पुग्न आ–आफ्नै साइकल कुडाउँदै काठमाडौँ–भक्तपुर–बनेपा–धुलिखेल हुँदै कोदारीको बाटोमा गयौँ ।
हामी कोदारीको उकाली–ओराली पीचको बाटोमा साइकल गुडाउँदै हाँसीहाँसी गफ गर्दै जाँदा बाटोमा देख्ने हेर्ने मान्छेहरू सब छक्क पर्दै हेर्दै गरेका दृश्यहरू देख्यौँ । ठाउँठाउँमा बाटोको छेउछाउमा बाटो मर्मत गर्दै गरेका ज्यामीहरू भेट्यौँ र उनीहरूले कहाँसम्म हो तपाईँहरू साइकलमा भनेर सोध्दा दोलालघाट पुग्ने हो, अब कति समय लाग्छ भन्दै रमाउँदै साइकल गुडाउँथ्यौँ । बाटो धेरै राम्रो थियो । पीचै पीच कहीँकतै खाल्डा खुल्डी भने थिएन । ओरालो धेरै थियो । उकालो बाटो कमै थियो । काठमाडौँदेखि दोलालघाट पुग्दा कहीँकतै हामी साइकलबाट झर्नु परेन र बाटोको दायाँ साइड – दक्षिणपट्टि र पहाडै पहाड भएकोले तातो घाम कममात्र लाग्थ्यो र पूरै बाटोभरि शीतलता छाएको थियो । हामी जाँदै गर्दा कसैलाई केही समस्या परेन र कसैको साइकल पनि बिग्रेन । सबैजसो साथीहरूको आ–आफ्नै साइकल थियो । मेरो आफ्नो साइकल थिएन, त्यसकारण मैले म बस्ने बाङ्गेमुढा टोलमै नारायण मन्दिरको पछाडि कान्छा दाइको साइकल बहाल तिरी पसलबाट दुई दिनको लागि भनेर एक साइकल भाडामा मिलाएर लगेको थिएँ ।
साँझ ५ बजेतिर हामी सबै सकुशल दोलालघाटको पुलमा पुग्यौँ । सबैजना प्रफुल्लित भयौँ– आफ्नो अद्भूत यात्रादेखि, काठमाडौँ कोदारी राजमार्गमा साइकल यात्रादेखि ।
दोलालघाटको पुल छेउैमा एउटा खाली ठाउँ खोजेर हामीले आफ्ना साइकल सबै ताला मारेर राख्यौँ । केही बेर थकाइ मा¥यौँ र पुलवारि रहेको एक होटेलमा चिया खायौँ । १०–१५ मिनेट पुल वरिपरि यताउता हेर्दै ग¥यौँ । अनि साँझ पर्न लागेको थियो । अब रात कहाँ काट्ने भनेर कुरा ग¥यौँ । दोलालघाट पुलमुनीबाट बगिरहेको नदी सुन्दर थियो । पानी सङ्लो थियो । हामी खोलामा गएर केही क्षण पानीमा रमायौँ । कसैले हात, मुख धोए, कसैले पौडी पनि खेले । साँझ पर्नै लाग्दा हामीले त्यही नदीको बगरमा पाल टाँगेर रात बिताउने निधो गरेर पाल टाँग्दै गर्दा स्थानीय केही व्यक्तिहरू हामीकहाँ आएर त्यहाँ बगरमा नबस्न सल्लाह दिए । अहिले त ठीक छ, नदीमा पानी धेरै छैन, तर राति के थाहा माथि कतै वर्षात् भयो भने ठूलो भेल आउन सक्छ र हामीलाई बगाई लान्छ भनेर सुनाउनुभयो । उहाँको कुरा सुनेर हामी त्यहाँबाट माथि एउटा होटलको कोठा बूक ग¥यौँ ।
हामी पुलको वारि बसेर पारिपसट्ट हेर्दै गयौँ । उतातिर चिनियाँहरूको क्याम्प रहेछ । १०–१५ जना चिनियाँहरू भलिबल खेल्दै गरेका नीलो स्पोर्टस ड्रेसमा देखिन्थे । केहीले टेबुलको वरिपरि बसी खाना खाइरहेका थिए । ठूल–ठूला कचौरा (बाउल) हरूमा । अँध्यारो हुँदै गर्दा पुलपारि क्याम्पमा झिलिमिली बत्ती बल्यो । सेती नदी माथि बहेको चिसोचिसो हावा थियो । मनमोहक थियो गोधुली साँझको दोलालघाटको दृश्य ।
तर, पुलपारि चिनियाँको रहनसहन र झिलिमिली बत्ती । अनि यता पुलवारि हाम्रा स–साना छाप्राहरूमा अँध्यारा टुकीहरू बलिरहेको देख्दा अलि मन खिन्नता छायो । दिनभरिको थकाइ मार्दै हामी एकै ठाउँमा बस्दै बेलुकाको खाना खान थाल्यौँ– काठमाडौँबाट बोकेर ल्याएको खसीको मासु, पाउरोटी, अचारको साथमा स्थानीय होटल साहुले दिएको चिया र पानी ।
Leave a Reply