भर्खरै :

कति खर्बमा बेचियो कालापानी ?

अनिलभक्त खरेल, (स्वतन्त्र पत्रकार)
‘सर्पको खुट्टा सर्पले देख्छ ।’ भनौँ कि ‘लाटाको कुरा लाटाकी आमाले बुझ्छे’ भनेझैँ एउटा दलालले अर्को दलालको कुरा नबुझ्ने हुनैसक्दैन । पूरै नबुझे पनि केही हदसम्म भए पनि बुझेकै हुन्छ जत्ति उसलाई आवश्यक पर्छ । त्यस्तै ‘एउटा राष्ट्रघातीले अर्को राष्ट्रघातीलाई नचिन्ने कुरा पनि हुनसक्दैन ।’ चाहे हाउभाउ हरेर होस्, चाहे व्यवहार हेरेर होस् वा चाहे चरित्र हेरेर नै किन नहोस्, एक राष्ट्रघातीले अर्को राष्ट्रघातीलाई चिनेकै हुन्छ ।
अहिले नेपाली जगतमा प्रतिपक्षी दल र सत्तापक्षबीच कसले बढी राष्ट्रघाती गरेको भन्ने पोल खोलाखोल र हिलो छ्यापा छ्याप हुनुले दुबै पक्ष राष्ट्रघाती हुन् भन्ने पुष्टि गर्दैन र ? हैन भने नेकांका सभापति शेरबहदुर देउवाले “ओलीसँगको भित्री सल्लाहमा भारतले नेपालको भू–भाग समेटेर नयाँ नक्सा छापेको हो, भारतले यत्तिकै नक्सा छापेको हैन, ओलीको सहमतिबिना भारतले यो नक्सा छाप्न सक्दैन, नेपालको १ इन्च पनि जमिन मिचिन दिनुहुन्न, यसको सबै दोष ओली सरकारले लिनुपर्छ ।’ भनेर सरकारमाथि गम्भीर राष्ट्रघाती आरोप लगाउँदा सरकारी पक्षबाट पहिला कोसी सम्झौता, महाकाली सन्धिलगायत राष्ट्रघाती कदमको जवाफ काङ्गे्रसले देओस् अनि हामी कालापानी, लिपुलेक र लिम्पियाधुराको जवाफ दिउला भन्नुले कतै यी दुबै राष्ट्रघाती ठहरिएनन् र ?
एक राष्ट्रघातीले अर्को राष्ट्रघातीलाई चिनेको ठहरिएन र अब ?के सरकारी पक्षबाट दिइने जवाफ त्यस्तै हो त ? यदि यो कुरा साँचो हो भने यी ‘घिउ बेचुवा र तरवार बेचुवा’ प्रवृत्तिकाहरूबाट नेपाल देश सुरक्षित होला त ? चिन्ताको विषय छ ।
हैन भने प्रमुख प्रतिपक्षी दल, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम बुद्धिजीवी र सर्वसाधारण जनताको सपोर्ट हुँदाहुँदै पनि झन्डै १ महिना बित्न लाग्दा पनि नेपाली सरकारी पक्षबाट भारतीय सरकार पक्षसँग मिचिएको भूभागको बारेमा कडारूपमा प्रस्तुत हुन नसक्नुको कारण के ? सरकार किन खुट्टा कमाइरहेको छ ? कसले रोक्यो सरकारलाई ? के सरकारको यस्तो हुतिहारा पाराले गुमेको भूमि फिर्ता होला त ? सरकारको यस्तो रवैयाले भारतले नाकाबन्दीताका लिइएको अडानका कारण जनताको नजरमा राष्ट्रवादी देखिएका केपी ओलीको राष्ट्रवाद बाँचिरहला त ? सरकारकै कारणले गर्दा केपी ओलीको राष्ट्रवाद कालापानी, लिपुलेक र लिम्पियाधुरामा आइपुग्दा स्खलित भयो कि भएन ? उनको राष्ट्रवाद लम्पसारवादमा परिणत भयो कि भएन ? यत्ति हुँदा पनि भारतीय पक्षसँग कूटनीतिक र राजनीतिक पहलमात्रै हैन कि राष्ट्रसङ्घमा समेत जानकारी नगराउने हो भने ओलीको राष्ट्रवाद कालापानी, लिपुलेक र लिम्पियाधुरामा आएर समाप्त भयो भनेर भन्ने कि नभन्ने ?
उनलाई देशको सीमाभन्दा पनि आफ्नो मन्त्रिमण्डलको चिन्ता रहेको रहेछ भनेर किन औँला नठड्याउने ? के यो अहिले मन्त्रिमण्डलको पुनर्गठन गरेर समय खेर फाल्ने अवस्था हो ? देशको यति ठूलो मुद्दालाई थाँती राखेर बेवास्ता गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र सचिव शंकरदास वैरागी रुस र सर्वियाको एक साता भ्रमणमा निस्कनुको कारण के ? कूटनीतिक पहल गरेर विवाद समाधान गर्ने मुख्य जिम्मेवारी पाएका मन्त्री र सचिव नै एक हप्तासम्म विदेशतिर मोजमस्ती गर्न जाने उचित समय हो त ?
के यस्ताहरूबाट यो विवाद समाधान होला त ? हैनभने ‘सीमा बचाउ नागरिक अभियान’ का तर्फबाट अभियानका अभियन्ता पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेललगायतकाले सो नक्सा नेपाल सरकारदेखि संयुक्त राष्ट्रसङ्घसम्म पु¥याउने उद्घोष गर्दा समेत सरकारको मौन व्रत किन र कसका लागि ? कतै शेरबहादुर देउवाले लगाएको आरोपझँै यो सरकारको नै संलग्नता त छैन सो भूभाग भारतमा पार्न ? सरकारको यस्तै मौनताले प्रश्न गर्न मन लाग्छ सरकार कति खर्बमा बेचियो कालापानी, लिपुलेक र लिम्पियाधुरा ?
के लोकतन्त्र गाण्तन्त्र यस्तै गर्नको लागि ल्याइएको हो ? हैन भने यो १४ वर्षे अवधिमा देश र जनताले महँगी, अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, घूसखोरीबाहेक के पाए ? के हजारौँ छोटे राजा पाल्नका लागि मात्रै २४० वर्षे इतिहासको अन्त्य गरिएको हो त ? हैनभने वार्षिक १२ करोडको खर्चको बारेमा सेतो हात्ती राज्यले पाल्न सक्दैन भनेर रत्नपार्कको भित्ता रङ्ग्याउने, रत्नपार्कका रेलिङ भाच्नेहरू अहिले खर्बौँ रकम राज्यबाट दोहन हुँदा कुन दुलामा छन् ? राजतन्त्र फालेपछि राज्यबाट २ खर्ब रुपैयाँ त सेना समायोजन तथा हतियार व्यवस्थापन र संविधान निर्माणमा नै खर्च भइसकेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता परिवारको छानबिन आयोगको खर्च छुट्टै छ । हजारौँ छोटे राजा पाल्ने खर्च पनि छुट्टै छ ।
हालै हटाइएका एक मन्त्रीले मात्रै २ वर्षको अन्तरालमा झन्डै २ अर्ब रुपैयाँको सम्पत्ति जोडेको समाचार छ । अन्य भ्रष्टाचार त कत्ति हुन् कत्ति ? सबैलाई कमाउनमै ध्यान छ चाहे देश भाँडमा जाओस् कसलाई के मतलब ? हामीले सानामा पढेका कथाअनुसार एकदिन जङ्गलमा बघिनीको ओडारमा बाटो बिराएर झुक्किएर कतैबाट स्यालको छाउरो आइपुगेछ । हेर्दै मायालाग्दो स्यालको बच्चा देखेपछि बघिनीले लुकाएर आफ्नै दूध खुवाउन थालिछ ।
बघिनीको दूध खान पाएपछि त स्याल अलि ठूलो र बलियो भएछ । बघिनीका सबै सन्तान सिकारमा जाने बेलामा स्यालले बघिनीसँग भनेछ ‘आमा म पनि सिकार खेल्न जान्छु ।’ तब बघिनीले भनिछ “सिकारमा खेल्न जान त खान्दान चाहिन्छ, तँजस्ता कुखुराचोरको सन्तानले के सिकार खेल्छस् ?” हो, अहिलेको सरकार स्यालको छाउराले सिकारमा जाने रहर गरेजस्तै हो । उनीहरूमा न इतिहासप्रतिको सम्मान छ, न विगतको ज्ञान र भविष्यको सही विश्लेषण नै छ ।
त्यसैले होसियार कुखुराचोरको सन्तानदेखि ? देशलाई बघिनीका सन्तान डमरुभन्दा कुखुराचोरका सन्तानहरू स्यालका छाउरा प्रवृत्तिहरूबाट बचाइराख्नु जरुरी छ ।
डमरुले अगाडिबाट आक्रमण गर्छ तर कुखुराचोरको सन्तानले लुकेर आक्रमण गर्छ । देशमाथि खतरा भारत, चीन या अन्य देशबाट नभई आप्mनै मूलका लोभी, पापी, दुष्ट, लालची लेण्डुपे कुखुराचोारका सन्तानहरूबाट छ । देश बचाउने हो भने सर्वप्रथम यी लेण्डुपे कुखुराचोरहरूको समूल नास गरिनुपर्छ ।
हैनभने कालापानीसम्म आइपुगेको भारत एकदिन काठमाडौँमा आइपुग्नेछ । बाध्यता र विवशताले विदेशिएका नेपालीलाई भूतपूर्व नेपाली, भगौडा नेपाली भन्नेहरूले नै नेपाललाई भूतपूर्व नेपाल बनाउँदै छन् । अनि उनीहरू आफैँ भगौडा भएर लेण्डुपदोर्जेजस्तै दिल्ली जानेछन् सबैमा बेलैमा चेता जागोस् । पछि ज्या भनेर पछुताएर काम छैन । चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *