भर्खरै :

गलत कार्यको निन्दा जरुरी

गोपाल नगरकोटी
निर्वाचन स्वतन्त्र, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण हुनुपर्छ । निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउने दायित्व निर्वाचन आयोगको मात्र होइन सरकारको पनि हो । सत्तामा सामेल दलहरूको जिम्मेवारी हो ।
निर्वाचन विचारको लडाइँ भएको हुँदा या सिद्धान्त र विचारको प्रतिनिधित्व गर्ने दलका उम्मेदवारहरू जित्ने हुँदा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन सबै लाग्नुपर्छ । यसै उद्देश्य सफल पार्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको हुन्छ, लागू गर्छ । आयोगको आचारसंहिता देखाउने दाँत हुनुहुँदैन । त्यो व्यवहारमा लागू गर्नको लागि हो । तर, अरु निर्वाचन क्षेत्रमा झैँ भक्तपुरमा पनि आचारसंहिताविपरीतका क्रियाकलाप भइरहेका छन् । यसको एउटा पछिल्लो उदाहरण भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नयाँ कामु प्रमुख कार्यकारी अधिकृत रुपेश शिलाकारलगायतलाई नियुक्ति गर्नु रहेको छ ।
सत्तारुढ दल र ठूला दलले निर्वाचनलाई विचारको सङ्घर्ष ठानेका छैनन् । उनीहरूको ध्यान निर्वाचनमा जसरी भए पनि जित्नु हो । आश्वासन बाँड्ने, झूटा खेती गर्ने, लोभलालच देखाउने, हल्लाको राजनीति या छलछाम गरेर मत तान्ने काममा सत्तारुढ दलका कार्यकर्ताहरू लागेका छन् । निर्वाचनको प्रचार प्रसारको क्रममा कहीं विकासबारे छलफल गर्ने भनी सभामा आएका सर्वसाधारण मतदातालाई टीका लगाएर पार्टीमा प्रवेश गरेको त कहीं सभामा उपस्थित स्थानीय जनतालाई पार्टीमा प्रवेश भनी बैठक उठाएको खबर आएको छ । सिद्धान्त र विचार बोकेको दलमा जहिल्यै, जोसुकै पार्टीमा प्रवेश भनी भित्र्याउने कार्यले सत्तारुढ दल नेकपा साँच्चै कम्युनिस्ट नरहेको घामझैं छर्लङ्ग छ । दलको सिद्धान्त र विचार प्रचार गरेर सिद्धान्तनिस्ठ, राजनीतिकरूपले सचेत र सङ्गठित गर्नुपर्ने जनतालाई उपस्थितिको भरमा कार्यकर्ता प्रवेश भनी पार्टीमा भित्र्याउने काम कुनै पनि सच्चा कम्युनिस्ट कार्यकर्ताको काम होइन । यसरी सत्तारुढ दलले छलछामको राजनीति गरेर सर्वसाधारण जनतालाई छक्याउने काम गरिरहेको छ । यो गलत कार्य हो । यस कार्यको सबैले निन्दा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *