भर्खरै :

हिमपात र आँधीबेहरीले बोस्निया र हर्जगोभिना प्रभावित

साराएभो, ६ वैशाख । वसन्त ऋतुको सुरुवातसँगै बोस्निया र हर्जगोभिनाका धेरैजसो भूभागमा हिमपात र आँधीबेहरीले प्रभाव जमाएको छ ।
मुलुकका सबैजसो पर्वतीय खण्डहरु गतः मङ्गलबार रातभरी परेको हिउँले सेताम्य भएका छन् भने कडा आँधीहुरीले पनि त्यत्तिकै सताएको सङ्घीय जलवायु तथा मौसम विज्ञान प्रतिष्ठानले जनाएको छ ।
सुरुसुरुमा सामान्य वर्षा भए ता पनि मौसम बिग्रँदै गई जाहोरिना र भ्लासिक पर्वत श्रृङ्खलामा बाक्लो हिमपात भएको थियो । उक्त स्थानबाट सुरु भएको हिमपात उत्तरी तथा मध्यवर्ती बोस्निया र हर्जगोभिनाका सबैजसो स्थानमा निरन्तर फैलिएको थियो ।
हिमपात र आँधीबेहरीले गर्दा सबैजसो राजमार्ग र स्थानीय सडकसमेत चिप्लो र हिलाम्ये भई देशको मध्यवर्ती क्षेत्रमा यातायात अवरुद्ध हुन पुगेको छ । विशेषगरी राजधानी साराएभो प्रवेश र आवतजावत गर्ने सबै मार्ग पूरै प्रभावित भएका छन् ।
सङ्घीय जलवायु तथा मौसम विज्ञान प्रतिष्ठानले देशभरी नै यस्तो मौसम अझै केही दिन लम्बिने तथा बिहीबार रातिसम्म जाडो अझै बढ्ने भविष्यवाणी गरेको छ ।
खेतीपाती गर्ने समय सुरु हुनै लागेको अवस्थामा वर्षा र हिमपात भईदिनाले देशभरका कृषकमा खुसीयाली छाएको छ भने वसन्त ऋतुको आगमन हुनासाथ हिउँ परेको देखेर विद्यार्थी तथा प्रकृति प्रेमीहरु पनि प्रसन्न भएका छन् ।
बोस्निया र हर्जगोभिनाका स्थानीयवासीहरुले सन् २०१२ को मे महिनातिर भएको यस्तै हिमपात र आँधीहुरीलाई स्मरण गरेका छन् भने योभन्दा पहिलेको पुस्ताले सन् १९७८ को अगस्ट महिनामा भएको ब्यापक हिमपातलाई पनि सम्झेका छन् । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *