भर्खरै :

उपनिर्वाचन : मतदान स्थल वरपर बम विस्फोट

– गोपाल नगरकोटी
उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन शनिबार सम्पन्न भयो । ३७ जिल्लाका रिक्त ५२ पदको लागि यो निर्वाचन भएको हो । निर्वाचन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको थियो । निर्वाचन आयोगले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन सम्पूर्ण राजनीतिक दल र मतदातामा आग्रह गरेको थियो । निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष भएको निर्वाचन आयोगको दाबी छ । आयोगले निर्वाचन शान्तिपूर्ण भने तापनि घोराही, लमजुङ, कास्कीजस्ता जिल्ला र स्थानका केही मतदान केन्द्र वरपर बम विस्फोट भएको थियो । डोटीमा सेनाले प्रेसरकुकर बम निस्कृय पारेका थिए । तीन–चार ठाउँमा बम विस्फोट भए पनि मानवीय क्षति कहीँ पनि नभएको निर्वाचन आयोगले जनाएको छ ।
मतदान अनुशासित र शान्तिपूर्णरूपमा भएको थियो । मतदान शान्तिपूर्ण रह्यो । भक्तपुरको मतदान स्थलहरूमा मतदाताहरूको खासै भीड थिएन । ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग र घाउचोट लागेका मतदाताहरूलाई सहजढङ्गले निर्वाचनस्थलमा पु¥याएर मतदान गर्न दिइएको थियो । हरेक मतदान केन्द्र र मतदान स्थलहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । निर्वाचनस्थलमा प्रहरी र सशस्त्र प्रहरीहरूकोे व्यवस्था गरिएको थियो । मतदाता परिचयपत्र हराएका या नल्याएका मतदाताहरूलाई नागरिकता, राहदानी र लाइसेन्सको आधारमा पनि मतदान गराइएको थियो ।
मतदाताले ढुक्क भएर मताधिकार प्रयोग गरे । निर्वाचन आयोगले मतदातालाई स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गरे पनि यथार्थमा पाइएन । आफ्नो पक्षमा मत तान्न अघिल्ला दिनमा पैसा बाँडेको, भोजभेतर खुवाएको, डर–धम्की दिएको र लोभलालच देखाएको दुखेसो मतदाताहरूले पोखेका थिए । जनतामा सिद्धान्त र विचार दिनभन्दा लोभलालच बाँडेर नै आफ्नो दलतिर मत तानेको पनि स्थानीय जनताले बताए ।
जनता राजनीतिक र सैद्धान्तिकरूपले सुसूचित र सङ्गठित नभएसम्म स्वच्छ राजनीतिको विकास नहुने विचार पनि उनीहरूले पोखे । कहीँ कहीँ त तीन महिनाभित्र पीच गरिसकिने आश्वासन दिएर पनि मत तान्नेको देखियो । तोकिएको समयभित्र मतदान केन्द्रमा मतदाताले मतदान गरिसकेपछि निर्वाचन अधिकृतले सबै मतपेटिका सम्बन्धित स्थलमा पु¥याउने काम गरेका थिए । सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त भएपछि सोही दिनदेखि मतगणना सुरू गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान स्थलमा कुनै शङ्का, डर र त्रास नभए पनि ढुक्क र निर्धक्क भएर निर्भिकतापूर्वक मतदानमा सहभागी भए पनि निर्वाचन प्रचार–प्रसारको क्रममा विकास योजना ल्याउने, जागिर या कामको व्यवस्था मिलाउनेजस्ता प्रलोभन दिइएको मतदाताले बताए । पुँजीवादी व्यवस्थामा स्वच्छ राजनीति नहुने विश्लेषण बुद्धिजीवीहरूले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *