भर्खरै :

मतदान कम हुनुको सिंहावलोकन जरुरी

निर्वाचन आयोगले उपनिर्वाचन शान्तिपूर्ण, मर्यादित र उत्साहजनक भएको दाबी गरेको छ । दुई–चार ठाउँमा बम विस्फोट भए पनि निर्वाचन शान्तिपूर्ण नै भएको मान्नुपर्छ । बम विस्फोटको कारण जनता आतङ्कित भए पनि मतदान केन्द्र या मतदानस्थल बिथोलिएको छैन र मानवीय क्षति भएको छैन । निर्वाचन आयोगले विगतको निर्वाचनमा झैँ यस उपनिर्वाचनमा धेरै प्रतिशत मत खस्ने विश्वास दिलाएको थियो । आयोगले निर्वाचन उमङ्ग र उत्साहका साथ सम्पन्न भएको जनाएको थियो । तर, गएको निर्वाचनको तुलनामा शनिबार (मंसिर १४) को निर्वाचनमा मत कममात्र खसेको देखियो । यसले जनतामा उमङ्ग र उत्साह घटेको आभास राजनीतिक विश्लेषकहरूले आँकलन गरेका छन् ।
सबैजसो स्थानमा मतदान प्रतिशत किन घट्यो भन्ने प्रश्न जहाँतहीँ गरिन थालेको छ । मतदाताहरू किन मतदान गर्न गएनन् ? त्यसको वास्तविक कारण के हो ? निर्वाचन आयोग र राजनीतिक दलहरूले छलफलको विषय बनाउनुपर्छ या सिंहावलोकन गर्नुपर्छ । मत कम खस्नुको कारण जनतामा राजनीतिप्रति उत्साही नभएर हो या उपनिर्वाचनको खासै महत्व छैन भनेर चासो नलिएको हो ? सरकारको क्रियाकलापदेखि वाक्क–दिक्क भएर हो या राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू जनताको घर–आँगनमा पुग्न नसकेर हो ? चुनावी प्रचार प्रसार गाउँ–ठाउँसम्म नपुगेर हो या ठूला दल र सत्तारूढ दलका नेता, मन्त्री तथा कार्यकर्ताहरूले झूटको राजनीतिक गरेर र आश्वासन बाँडेर हो ?
सबै दलका नेता तथा कार्यकर्ताहरूले निर्वाचन पनि सिद्धान्त र विचारको लडाइँ हो भन्ने कुरा बुझाउन सकेनन् । गरिब तथा शोषित–पीडित जनताले कामदार वर्गको पक्षमा राजनीति गरिरहेको दललाई चिन्न सकेनन्, बुझ्न सकेनन् । जनतामा राजनीतिक चेतना, सांस्कृतिक स्तर र सैद्धान्तिक ज्ञानको कमीले पनि जनता निर्वाचनप्रति केन्द्रित भएनन् । कति गरिब वर्गका जनताले गरिब वर्गमाथि पोस्ने, रजाइँ गर्ने दलका उम्मेदवारलाई नै मतदान गरे । कुन दल ठीक र सही, कुन दलले बहुमत जनताको सेवा गर्छ भन्ने नसोची कति मददाताले जित्ने दल र ठूलो दललाई मतदान गरे ।
जनता अझै चेतित भइसकेका छैनन् । कसैको लहैलहैमा जाने, भोजभतेर र पैसामा बिक्ने जनता पनि देखिएका छन् । पैसा र भोजभतेर खान नपाएका कति मतदाता मत खसाल्न गएनन् । जनताको मति बिगार्ने, मन भाँड्ने काम ठूला र सत्तारूढ दलका नेता तथा कार्यकर्ताले गरे । यसले गर्दा जनतामा राजनीतिप्रति गलत धारणा बस्यो । पैसा र भोज खान पाउनेले खुसीसाथ मतदान गरे, नचाहनेहरु कतिपय मतदान गर्न गएनन् । यो कुरा सबै निर्वाचन क्षेत्रमा लागू नभए पनि धेरै ठाउँमा भएको देखिन्छ । सारमा निर्वाचन शान्तिपूर्ण रहे पनि उत्साहजनक देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *