भर्खरै :

साम्राज्यवाद र विस्तारवादको लाजै नहुने ?

–वस्तुराज ‘शीतल’
ठूला देश विशेषगरी संयुक्त राज्य अमेरिका र भारतले स–साना स्वाधीन र सार्वभौम देशहरूलाई आफ्नो अधीन या उठबस या दबाबमा राख्ने काम अहिले पनि छोडेका छैनन् । आफूले भनेझैँ बसेन भनेर अरू देशमाथि आक्रमण गर्ने, आफ्नो सेना राख्ने, सत्ताच्युत गराउन तत् देशका जनतालाई उचाल्ने, सहयोग गर्ने, सजाय दिलाउने र आर्थिक नाकाबन्दी गर्ने र गराउने काम गरिरहेकै कारण नेमकिपाले अमेरिकालाई साम्राज्यवादी देश भन्दै आएको हो । कहिले सेना पठाएर, कहिले भूमि कब्जा गरेर आफ्नो प्रभाव बढाउने काम भारतले गरिरहेको हुँदा भारतलाई विस्तारवादी देश भनिएको हो । कुनै पनि कम्युनिस्ट पार्टी, वामपन्थी, प्रगतिशील या देशभक्त दल र जनताले साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्नैपर्छ । साम्राज्यवाद र विस्तारवादको विरोध नगर्ने दल न देशभक्त हुन्छ न त कम्युनिस्ट पार्टी नै हुन्छ ।
साम्राज्यवादको प्रतिनिधित्व गरिरहेको देश अमेरिकाले आफूभन्दा फरक विचारका र आफ्नो उठबसमा नबसेका देश र देशका शासकहरूलाई आक्रमण गर्ने धम्की दिइरहेको छ, आन्तरिक कलह चर्काउन सहयोग गर्ने र उक्साउने काम गरिरहेको छ । हङकङमा भइरहेको प्रदर्शनमा अमेरिकाको साथ त्यसको पछिल्लो उदाहरण हो । शक्तिशाली देश हुँदैमा अरु स्वाधीन देशलाई आफू अनुकूल राख्ने काम कुनै हालतमा प्रजातान्त्रिक पद्धति होइन । संसारका मुलुकलाई आफ्नो मातहतमा राख्ने र नमाने कुनै न कुनै कारबाहीको प्रक्रिया अघि बढाउने काममा अमेरिका अग्रस्थानमा छ । अरू देशमाथि आक्रमण गर्ने, सेना तैनाथ गर्ने, नाकाबन्दी गर्ने, आन्तरिक कलह गराउने र सत्ताच्युत गराउने अधिकार अमेरिकाले कहाँबाट पायो ? स–साना स्वाधीन र सार्वभौम मुलुकमा हस्तक्षेप गरे पनि संयुक्त राष्ट्र सङ्घ किन आँखा चिम्लेर बस्यो ? के संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली हो ? संयुक्त राष्ट्र सङ्घले आक्रमण र थिचोमिचोको किन विरोध गर्नसकेन ? संसारका मुलुकहरूको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन साथ र सहयोग गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले किन अमेरिकाको पक्षपोषण गर्छ, अमेरिकाको पछि लागेर किन अरू देशलाई थप पीडा दिन्छ ?
अमेरिकापछि भारत पनि त्यसरी नै थिचोमिचो गर्ने, अतिक्रमण गर्ने, दबाब दिएर आफ्नो उठबसमा राख्ने देश हो । भारतबाट नेपालमात्र होइन पाकिस्तान, अफगानिस्तान, भुटान आदि देश पनि प्रभावित छन् । भारत नेपालको मित्र देश या प्रजातान्त्रिक देश भएको भए नेपाली भूमि मिच्नु हुँदैनथ्यो, नेपालको भूमिमा भारतीय सेना र भारतीय संरचना बनाउनु हुँदैनथ्यो । बनाइएको भए पनि नेपाली जनता र सरकारको विरोध पछि छोड्नुपथ्र्यो । तर, छोडेको देखिएन । नेपाली जनताले नेपाली भूमि फिर्ताको माग गर्दै आन्दोलन गरिरहे पनि नेपाल सरकारझैँ भारत सरकार पनि बोलिरहेको छैन । अझ भारतले नेपाली भूमि नमिचेको बखान गरिरहेको छ । भारत यति लजित काम किन गर्छ ? भारत गिरेर अरू देशको भूमिमाथि किन अतिक्रमण गर्छ ?
भारतले नेपाली भूमि मिचेकै हो । तर, मिचेको भूमि फर्काउनेतर्फ भारतको कुनै चासो छैन । भारतले नेपाली भूमि मिचेको स्वीकारेको छैन । नेपाली भूमि सीमाङ्कन गरेर मिचेको भूमि भारतले फिर्ता दिनुपथ्र्यो । नेपाल सरकार पनि अमेरिका र भारत भनेपछि थरहरी हुन्छ । नेपाल सरकारका नेता र मन्त्रीहरू बोल्ने आँट गर्दैनन् । बोल्ला भनेरै कहिले आर्थिक सहयोग गरेर त कहिले धम्की दिएर थामथुम पार्छन्, ठूला शक्ति राष्ट्रका प्रमुखहरू । ती शक्तिशाली देशका राष्ट्रप्रमुखहरू स–साना देशको स्वाधीनता र सार्वभौम स्वीकार्दैनन् या वास्ता गर्दैनन् ।
ठूला देशले साना देशलाई निल्ने होइन, हस्तक्षेप र अतिक्रमण गर्ने होइन, दबाब दिएर आफ्नो उठबसमा राख्ने होइन । बरु ती देशले स–साना देशहरूलाई देश विकासमा सहयोग गर्नुपर्ने हो, साथ दिनुपर्ने हो । जसरी गणतन्त्र चीनले सहयोग गरिरहेको छ । अमेरिका र भारत सहयोग गर्न पनि सर्त तेस्र्याउँछन् । तर, चीनले कहिल्यै सर्त राखेको देखिंदैन । अमेरिका र भारत आफ्नो शक्तिको धाक, धम्की देखाउँछन्, हतियारको अभिमानी गर्छन् । चीनले कहिले पनि अरू देशमाथि आक्रमण गर्ने, नाकाबन्दी गर्ने, हस्तक्षेप गर्ने गरेको देखिंदैन । संसारका मुलुकले अमेरिका, भारत र चीनको अलग अलग मूल्याङ्कन गरिरहेका छन् । ठूला र शक्तिशाली राष्ट्र भए पनि अमेरिका र भारतको बदनाम भइरहेको छ, गिरिरहेको छ । क्युवामाथिको नाकाबन्दीको विरोधमा एक दुई देशका राष्ट्र प्रमुखले बाहेक संसारका अन्य राष्ट्र प्रमुखहरूले पटक–पटक एकै स्वरमा विरोध गरे, फिर्ताको माग गरे । तर, अमेरिकाले लाजै नमानी नाकाबन्दी गरिरहेको छ । नकच्चरोलाई लाज हुँदैन भनेको यहीँ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *