भर्खरै :

सक्वको म राजदास – ११

 ई. राजदास श्रेष्ठ
सोभियत सङ्घ गएर पढ्ने मेरो इच्छा पूरा भयो, धेरै खुसी भएँ । नातागोता सबैले मलाई धेरै बधाई दिए । काठमाडौँबाट उड्नु एक दिनअगाडि म आफ्नो गाउँ सक्व गएँ । आफ्नो बिरामी आमासँग बिदावारि गर्न घरभरि मानिस थिए । मलाई बधाई र सगुन दिन आएका सबै जना खुसी थिए ।
तर खुसियाली वातावरणभित्र मैले एक व्यक्ति दुःखी अवस्थामा देखेँ । उहाँ हुनुहुन्थ्यो मेरो हजुरआमा । उहाँलाई बज्यै भनेर पुकार्थँे । मलाई धेरै माया गर्नुहुन्थ्यो, म सानो हुँदादेखि नै ।
मेरो हजुरबुबा बित्नुभएको थियो । बुबा सानै हुँदा एक्लो सानो छोरालाई छोडेर बज्यै पोइला जानुभयो त्यही टोलको एक कृषकसँग । टोल एउटै भएको हुनाले हाम्रो सम्बन्ध राम्रो थियो र आवतजावत हुन्थ्यो । आफ्नो बज्यैको घरमा म ५–६ वर्षको उमेरदेखि धेरै जाने गर्थँे । हाम्रो घरमा वस्तु केही पाल्दैनथ्यो । तर, बज्यैको घरमा जहिले पनि दुई–तीन ओटा भैँसी पालेको हुन्थ्यो । त्यो घरमा दूध कहिल्यै खाली हुँदैनथ्यो । बज्यैको नयाँ लोग्नेको तर्फबाट दुई छोरा एक कान्छी छोरी थिए । उहाँहरूलाई म माइला बा र कान्छा बा अनि छोरीलाई फुपू भन्थेँ । सबैले मलाई धेरै माया गर्नुहुन्थ्यो । दिनभरि बाटोमा खेलेर बेलुकी आफ्नो घर फर्कनुअघि म आफ्नो बज्यैको घर जान्थेँ । किनभने त्यहाँ दूध र मकैको ढिडो खान पाइन्थ्यो । म जानेबित्तिकै मलाई हात समातेर बुइँगलमा लानुहुन्थ्यो । एउटा ठूलो ढलोटको कचौरामा बाक्लो तातो दूध हालेर र पाकेको मकैको ढिडो राखेर हातमा समाउन दिनुहुन्थ्यो । म दूधमा ढिडो मुछ्दै खाँदै गर्दा बज्यै माया गरी गाली पनि गर्नुहुन्थ्यो ।
“तिम्रो घरमा भात बिरालोले खान्छ, तिमी यहाँ ढिडो खान आउँछौ ?” दूध र ढिडो खाउञ्जेल धेरै मजा लाग्थ्यो मलाई त्यो बाक्लो मीठो दूधसँग मुछेको तातो ढिडो खान र बज्यैको गाली सुन्न । मलाई त्यो गाली थिएन बरु उहाँको माया थियो । एकदिन माया गर्ने बज्यैको पति बित्नुभएको थियो । त्यहीँ साल मैले आइएस्सी पास गरेको थिएँ । उहाँ सेतो कपडामा हुनुहुन्थ्यो । त्यो दिन म आफ्ना आमा र आफ्नासँग बिदावारि गर्न साँखु गएको थिएँ ।
मलाई सगुन दिन सबै खुसी थिए । तर, मेरो बज्यै विधवा भएकोले माथि बुइँगलमा आउन दिएको थिएन । मेरी बज्यै गहभरि आँसु राखेर उठिराख्नुभएको थियो । उहाँ मकहाँ आउनु होला भनी चार पाँच जना आइमाईहरूले छेकी राख्नुभएको थियो र घाँटी उचाली उचाली मतिर हेर्दै उहाँ बोल्दै हुनुहुन्थ्यो “बाबु… !! राजा …!!” ।
तर मलाई उहाँसँग नजिक जान दिएन । मलाई उहाँबाट टाढा राख्थे । सगुनको काम सकेर म बुइँगलबाट भ¥याङ ओर्लिन लाग्दा मेरो काका भन्नुपर्ने मान्छे हतार हतार तल गएर भने, “भित्र पठाउ भित्र पठाउ ।
भ¥याङ्ग ओर्लेर बैठक पुग्दा मैले बज्यैलाई देखिनँ । सबै मिलेर उहाँलाई अर्को कोठामा लगेको रहेछ । बज्यैले मलाई नदेखून् भनी मलाई हतार–हतार बैठकबाट तल ओराले के कारण मलाई थाहा थिएन । भोलिपल्ट काठमाडौँ घरबाहिर चोकमा ट्याक्सी रोकी राखेको थियो । हामी तीन चार जना मेरो बुबा, काका र दिदीसँग त्यहीँ ट्याक्सी चढी हामी काठमाडौँ आयौँ भोलिको दिन एअरपोर्टबाट पटना जान ।
भोलिपल्ट बिहान चिया खाँदै मेरो सुटकेश मिलाउँदै गरेकी मेरी दिदीलाई मैले सोधेँ, हिजो किन, मलाई बज्यैसँग भेट्न नदिएको, किन बज्यैलाई माथि सगुन लिने ठाउँमा नल्याएको ? आमालाई मैले दक्षिणा चढाएर ढोगेर बिदा मागेँ । तर, आमाले भन्दा बढी माया गर्ने मेरो बज्यैलाई मैले मुखसम्म हेर्न पाइनँ ।
दिदीले सानो स्वरमा भन्नुभयो, “बज्यैको लोग्ने बितेको एक वर्ष पनि भएको छैन । त्यसकारण विधवा आइमाई शुभकार्यमा सहभागी हुनुहुँदैन । निस्कने बेलामा मुख हेर्न दिनु हुँदैन भनेर भित्र कोठामा लगेको हो ।
यो कुरा सुन्दा त्यसबेला जति मलाई दुःख लाग्यो त्योभन्दा धेरै बढी मलाई अहिले दुःख र पश्चाताप लागिरहेको छ । यसकारण हाम्रो धर्म र संस्कृतिप्रति मेरो आस्था घट्दै गयो ।
यो दुःखद घटनाले गर्दा रुढीवादी धर्म र संस्कारप्रति मेरो श्रद्धा घट्दै गयो । हाम्रो निर्धारित योजनाअनुसार हामी आठजना साथीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेट भयौँ आफन्तहरूका साथ सबैजना फूलमाला र अबिरले सिँगारेर । सबैले एक आपसमा खुसियाली मनाए । हामी सबैसँग बिदावारि हुँदै पटनाको लागि पर्खिरहेको हवाइजहाजभित्र पस्यौँ ।
हामी भर्खर १२ कक्षाका विद्यार्थी थियौँ । त्यसकारण हामीलाई सकेसम्म कम खर्चमा मस्को पुग्नु थियो । हामी काठमाडौँबाट दिल्ली नगई पटना भएर रेल मार्ग हुँदै दिल्ली पुग्यौँ ।
सोभियत सङ्घमा पढ्न हामीले छात्रवृत्ति पाएको भए पनि मस्कोसम्म आफ्नै खर्चमा जानुपर्ने थियो । मस्को पुगेको दिनदेखि त्यस छात्रवृत्तिअन्तर्गत सबै खर्च सोभियत सरकारले व्यहोर्ने कुरा थियो । त्यसकारण पैसा जोगाउनकै लागि हामी काठमाडौँबाट पटना उडेका थियौँ र पटनाबाट रेल चढेर दिल्ली पुग्यौँ ।
हामी दिल्लीमा एक हप्ता जति बस्नुप¥यो, फ्लाइट नमिलेर । तर एक हप्ता दिल्लीमा बसेर इन्डियाको हावापानी बुझ्न पाएकोमा रमाइलो भयो ।
हाम्रो टीमको लिडर साथी शेरचन हुनुहुन्थ्यो ।
उहाँले एम्बेसीमा गएर कसरी कुरा मिलाउनुभयो थाहा भएन तर होटेलमा बसेको र खाना खाएको सबै फ्रीमा मिलाउनुभयो । त्यसकारण हामी एक हप्ता दिल्लीको गर्मीमा रमाएर बस्यौँ ।
त्यसबेला दिल्लीमा काठमाडौँभन्दा धेरै गर्मी थियो । गर्मी नै भए पनि दिनभरि यताउता घुमेर बिताएकोले खासै गा¥हो महसुस भएन । तर राति सुत्न धेरै गा¥हो हुन्थ्यो ।
हामी कोठामा दुई दुई जना बस्थ्यौँ । २४ सै घण्टा सिलिङ्गको पङ्खा चलेको हुन्थ्यो ठूलो आवाजमा । म दिउँसोको गर्मीमा ३–४ बोटल कोकाकोला खाएर तार्थँे । त्यसबेला नेपालमा आएको थिएन । आजकलको भन्दा धेरै मीठो थियो, कोकाकोला सायद पहिले कहिल्यै नखाएकोले होला या अहिले धेरै खाइसकेकोले कोकाकोलाको फर्मुला नै फरक भएर या ठाउँअनुसारको फरक पानीको स्वादले ।
दिउँसोको कोकाकोला मीठो भएजस्तै बिहानको ब्रेकफास्टमा दिने अरेन्ज जूस धेरै मीठो लाग्यो । बिहान–बिहान होटेलमा कन्टिनेन्टल ब्रेकफास्ट दिन्थ्यो । एक ग्लास ठूलो अरेन्ज जूस अनि दूधमा कर्न फ्लेक्स र अर्को रोस्ट बटरको साथमा अम्लेट ।
एक हप्ताको बसाइमा हामीले दिल्ली सहरको दृश्यावलोकन गर्न भ्यायौँ । जन्तर–मन्तर, लाल–किला, राष्ट्रपति भवन, चाँदनी चोक आदि सबै ठाउँ डुल्न भ्यायौँ । एक साँझ एउटा राष्ट्रिय पर्वमा इन्डियाको राष्ट्रपति र प्रधानमन्त्री इन्दिरा गान्धीलाई पनि प्रत्यक्ष देख्ने मौका पायौँ ।
इन्डियाको तातो हावामा रातिको समय सुत्न धेरै गा¥हो हुन्थ्यो । सुत्नु अगाडि म आफ्नो खातको बिछ्यौनामाथि एक बाल्टिन पानी खन्याउँथेँ र हलुको लुगा लगाएर सुत्ने प्रयास गर्थेँ । माथि सिलिङ्गमा ठूलो गतिमा चलिरहेको पङ्खाको हावाले एक घण्टामै पानीले भिजेको बिछ्यौना सुक्दथ्यो । राति बल्ल निन्द्रा लाग्थ्यो । जे भए पनि मैले रमाइलै महसुस गरेँ । अगस्ट महिनाको २५ तारिखमा हामी मस्कोको अन्तर्राष्ट्रिय विमानस्थलमा ओल्र्यौँ ।
विमानस्थल बाहिर मस्कोमा अध्ययनरत पुराना विद्यार्थीहरूको एक टीम हामीलाई स्वागत गर्न बसेको थियो । त्यस टीमको लिडर हुनुहुन्थ्यो कृष्णगोपाल ।
उहाँले हामीलाई मस्को एअरपोर्टबाट हामी बस्ने होस्टेलसम्म लगिदिनुभयो । आफू कहिल्यै नगएको नौलो स्थानमा पुग्दा आफ्नै छिमेकी सहर पनौतीको दाजु कृष्णगोपाल श्रेष्ठले आफ्नै नेवारी भाषामा स्नेहपूर्वक कुरा गर्दै मलाई केही चिन्ता लिनुपर्दैन, मस्कोमा धेरै नेपाली साथीहरू छन्, चाहिएको सरसल्लाह र मद्दत गर्न सबैले सहयोग गर्छन् भनेर सान्त्वना दिनुभयो । भोलि पर्सि भेट्न आउँछु भनेर हामीलाई होस्टेलसम्म छोडेर उहाँ आफ्ना साथीहरूसँग जानुभयो ।
मस्कोमा मैले सोचेअनुसार चिसो भइसकेको थिएन । मौसम राम्रै थियो न्यानो न्यानो र घमाइलो । हामी सबै सन्तुष्ट र खुसी थियौँ । सबै बस्नलाई मस्कोको एउटा ठूलो इन्स्टिच्युट “मस्को अटो डारोझ्नी इन्स्टिच्युटको होस्टेलमा मिलाइएको थियो । होस्टेलको एउटा कोठामा चारचारजना राख्ने बन्दोबस्त थियो । दुईजना रसियनहरूका साथ दुई जना विदेशी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *