भर्खरै :

खतरनाक हुनसक्छ शरीरमा क्याल्सियमको कमी ः मानिस मर्न पनि सक्छ !

सबैलाई थाहा भएकै कुरा हो, हाम्रो शरीरको लागि नभई नहुने तत्वहरूमध्ये क्याल्सियम पनि एक हो । धेरैलाई के कुरा थाहा छ भने हड्डी र दाँतको स्वास्थ्यको लागि क्याल्सियम नभई नहुने खनिज तत्व हो । तर, वास्तवमा क्याल्सियमको काम त्यतिमात्रै होइन । क्याल्सियमले हड्डी र दाँत बलियो त बनाउँछ नै, त्यसभन्दा बाहेक क्लाल्सियमले मस्ष्तिकबाट प्राप्त हुने सन्देशहरूलाई शरीरका कोषहरूसम्म पु¥याउनको लागि पनि सन्देशवाहकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । त्यसबाहेक, शरीरमा हर्मोनहरूको निस्कासन, रगत जम्नु, मांसपेशीहरू खुम्चनु तथा आराम अवस्थामा ल्याउनको लागि भूमिका निर्वाह गरिरहेको हुन्छ ।
कुनै पनि कारणले शरीरमा क्याल्सियमको कमी भयो भने त्यो अवस्था खतरनाक हुन सक्छ । शरीरमा क्याल्सियमको कमीले गर्दा हुने रोगलाई हाइपोक्याल्सेमिया (ज्थउयअबअिझष्ब) भनिन्छ । सामान्यतः शरीरमा भिटामीन डी र म्याग्नेसियमको कमी हुँदा पनि शरीरले क्याल्सियम राम्ररी ग्रहण गर्न सक्दैन र यसको कमी हुन जान्छ । त्यसैगरी, नुन धेरै खाँदा वा फस्फोरस बढी हुने चिसो पेयहरू बढी मात्रामा खाँदा पनि यो समस्या देखापर्ने खतरा बढ्छ । त्यसबाहेक, मृगौलाको जटिल रोगहरू, थाइराइडडले राम्ररी काम गर्न नसक्दा तथा विभिन्न खालका औषधिहरूको असरको कारण पनि शरीरमा क्याल्सियमको कमी हुन सक्छ ।
हाम्रो शरीरको रगतमा माथि लेखिएका वा अन्य कुनै पनि कारणले क्याल्सियमको मात्रा कम हुँदा हाइपोक्याल्सेमिया रोग लाग्छ । यो रोग लामो समयसम्म रहिरह्यो र उपचार गरिएन भने दाँतसम्बन्धी समस्याहरू, मोतियाबिन्दु, मस्तिष्कमा परिवर्तन र हड्डी मक्किने रोग लाग्न सक्छ ।
हाइपोक्याल्सेमियाको अवस्था प्राणघातक नै पनि हुन सक्छ । यसको बेलामा नै उपचार गरिएन भने रोगीको मृत्यु पनि हुन सक्छ ।

शरीरमा क्याल्सियमको कमी हुँदा प्रारम्भिक चरणमा त्यसको कुनै लक्षणहरू नदेखिन पनि सक्छ । तर, क्याल्सियमको कमी हुँदा शरीरमा विभिन्न खालका समस्याहरू र लक्षणहरू देखापर्न सक्छ, जुन देखाप¥यो भने समस्याको पहिचान गर्न अनि त्यसको उचित उपचार गर्नको लागि तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
शरीरमा क्याल्सियमको कमी हुँदा निम्नानुसार लक्षणहरू देखापर्न सक्छ ।
मांसपेशीमा समस्या
शरीरमा क्याल्सियमको कमी हुँदा देखापर्ने प्रारम्भिक लक्षण भनेको मासुहरू दुख्ने, बाउँडिने र मासुहरू फरफराउने हुन्छ । हिँडडुल गर्दा विशेष गरी तिघ्रा र पाखुराहरू दुख्ने हुन्छ ।
क्याल्सियमको कमी बढी नै हुँदै जाँदा हात, खुट्टा, पाखुरा र मुख वरिपरि झमझमाउने, बोधो हुने, फरफराउनेजस्ता समस्याहरू पनि देखापर्न सक्छ ।
त्यसो त यस्तो समस्या आउने जाने हुन्छ । विशेष गरेर हामीले केही क्रियाकलापहरू गर्दा माथि उल्लिखित समस्याहरू हराएको भान हुन्छ र हामीले त्यति वास्ता गर्दैनौं । तर, वास्तवमा चाहिँ ती लक्षणहरूले हाम्रो शरीरमा क्याल्सियमको कमी भएको कुराको सङ्केत गरिरहेको हुन सक्छ ।
चरम अनिद्रा र थकान
क्याल्सियमको अभाव हुँदा चरम अनिद्रा र थकानको समस्या हुन सक्छ । यो हुँदा अल्छी लाग्ने, सुस्तताको अनुभव हुने र शरीरमा तागत नै नभएको जस्तो हुन्छ । त्यसो त थकान अरू कारणले पनि हुन सक्छ । तर, क्याल्सियमको कारण हुने थकानमा चाहिँ टाउकोमा रित्तोपनाको आभास, रिङ्गटा लाग्ने, एकाग्रता नहुने, भुल्ने र भ्रमित हुनेजस्ता समस्याहरू देखापर्न सक्छ ।
नङ र छालाका समस्याहरू
अति धेरै क्याल्सियमको कमी हुँदा नङ्ग र छालामा पनि असर गर्छ ।
त्यस्तो अवस्थामा छाला अत्यन्तै चिलाउने गर्छ । कतिपय अनुसन्धानहरूले त के पनि देखाएको छ भने छालामा हुने जलनको एउटा कारण क्याल्सियमको कमी पनि हो । यस्तो अवस्थामा छाला चिलाउँछ, रातो हुन्छ र फोकाहरू देखापर्न थाल्छ ।
त्यसैगरी, क्याल्सियमको कमी हुँदा नङ्ग फुस्रो र सुख्खा हुने, भाँच्चिने र कडा तर सजिलै टुट्ने खालको हुने हुन्छ । त्यसैगरी, टाउकोमा गोला धब्बा देखापरेर कपाल खस्ने पनि हुन सक्छ ।
हड्डी मक्किने समस्या
क्याल्सियमको कमीले हुने अर्को खतरनाक समस्या भनेको हड्डी मक्किने पनि हो ।
क्याल्सियमको कमीले हड्डीमा अस्टियोपेनिया (इकतभयउभलष्ब) नामक समस्या देखापर्छ । यो अवस्थामा हड्डीको खनिजतत्वहरूको घनत्वमा कमी आउँछ । यसले गर्दा हाम्रो हड्डी सजिलै खिइने र मक्किने (इकतभयउयचयकष्क) समस्या देखापर्न थाल्छ । यस अवस्थामा आइपुगेपछि हड्डी खिइएर पातलो हुने र सजिलै भाँच्चिने खतरा हुन्छ । यो समस्या देखापरेपछि पीडा हुने, बस्दा समस्या हुने र कालान्तरमा गएर अपाङ्ग नै पनि बनाइदिन सक्छ ।
त्यसो त हड्डीमा क्याल्सियम जम्मा भएको हुन्छ । तर, हड्डी बलियो हुनको लागि त्यसको मात्रा धेरै हुनुपर्छ । जब सम्पूर्ण रुपमा क्याल्सियमको मात्रा कम हुन्छ, तब शरीरको अन्य भागमा चाहिने क्याल्सियमको आपूर्ति हड्डीबाट हुन थाल्छ । यो अवस्थामा हड्डीमा क्याल्सियमको मात्रा कम भई हड्डी कमजोर हुन थाल्छ र सजिलै भाँचिने खतरा हुन्छ ।
महिनावारीको बेला हुने पीडा
महिनावारी हुनेबेलामा कतिपय महिलाहरूलाई अत्यन्तै पीडा हुने गर्छ । कतिपय अध्ययनहरूले के देखाएको छ भने शरीरमा क्याल्सियमको मात्रा कम हुँदा पनि महिनावारीको बेला हुने त्यस्तो पीडा बढ्ने गर्छ ।
सन् २०१९ मा गरिएको अर्को एक अध्ययनमापनि शरीरमा भिटामिन डी र क्याल्सियमको कमी हुँदा महिनावारीमा हुने पीडा बढ्ने गरेको देखिएको थियो । अनुसन्धानकर्ताहरूले त्यो पीडा कम गर्नका लागि भिटामिन डी र क्याल्सियमको सप्लिमेन्ट खान सुझाव दिएका थिए ।
दाँतसम्बन्धी समस्या
जब शरीरमा क्याल्सियमको कमी हुन्छ, शरीरको आवश्यकता पूर्ति गर्नको लागि दाँतमा भएको क्याल्सियम पनि प्रयोग हुन थाल्छ । यसले गर्दा दाँतको जरा कमजोर हुने, दाँत टुट्ने, गिजा दुख्ने र दाँत खिइनेजस्ता समस्याहरू देखापर्न थाल्छ ।
बच्चाहरूमा क्याल्सियमको कमी हुँदा उनीहरूको दाँत पनि ढिलो गरी पलाउन सक्छ ।
डिप्रेसन
क्याल्सियमको कमीको कारण मानिसको मुड बिग्रने तथा डिप्रेसन हुने सम्भावना बढेर जान्छ । तर यसबारेमा थप अनुसन्धान गरिनु जरुरी छ ।
त्यसैले कसैको मुड बिग्रिरहन्छ र डिप्रेसनको लक्षण छ भने शरीरमा क्याल्सियमको मात्रा कति छ भनेर जचाउनु उचित हुन्छ ।
त्यसबाहेक, क्याल्सियमको कमीले मुर्छा पर्ने, मुटु फेल खाने, छातीमा पीडा हुने, निल्न गा¥हो हुने, आवाज परिवर्तन हुने, काम्ने, छाला सुख्खा हुने, छालामा घाउहरू आउने, मोतियाबिन्दू हुने जस्ता समस्याहरू पनि देखापर्न सक्छ ।
कति हुनुपर्छ क्याल्सियम ?
एउटा वयस्क मानिसमा क्याल्सियमको मात्रा ८.८ देखि १०.४ मिलिग्राम प्रतिडेसिलिटर (नरमी) हुनुपर्छ । अझ बच्चाहरूलाई त क्याल्सियमको आवश्यकता बढी हुने भएकोले त्यो झनै बढी हुनुपर्छ । ८.८ भन्दा कम क्याल्सियम देखियो भने त्यसलाई क्याल्सियमको कमी मानिन्छ । शरीरमा कति क्याल्सियम छ भनेर रगतको जाँचबाट थाहा पाउन सकिन्छ ।
गर्ने के ?
सामान्यतः हामीले खानेकुराहरूबाटै पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छौँ । ती खानेकुराहरू नियमित खाने हो भने यो समस्याबाट बच्न सकिन्छ ।
सामान्यतः निम्न खानेकुराहरूमा पर्याप्त मात्रामा क्याल्सियम पाउन सकिन्छ ः
डेरी प्रोडक्टहरूः जस्तै, दूध, चीज र दही, सिमीहरू, अन्जीर, ब्रोकाउली, तोफु, भटमासको दूध, पालुङ्गो, आल्मोन्ड, तील आदि ।
१९ वर्षदेखि ५० वर्षसम्म उमेरका मानिसहरूलाई दैनिक १००० मिलिग्राम क्याल्सियमको आवश्यकता पर्दछ । अझ बच्चाहरू, युवाहरू र बुढापाकालाई त त्योभन्दा बढी नै चाहिन्छ ।
सकेसम्म प्राकृतिकरूपमा पाइने यस्ता खानेकुराहरूबाटै शरीरमा क्याल्सियमको आपूर्ति गर्नु राम्रो हुन्छ । डाक्टरको सल्लाहले छोटो अवधिका लागि क्याल्सियमको चक्कीहरू खान सकिन्छ । तर, धेरैमात्रामा र लामो समयसम्म त्यस्ता चक्कीहरू खाँदा मुटुको समस्या देखापर्ने तथा मृगौलामा पत्थरी हुने खतरा बढ्छ ।
मानिसको शरीरमा धेरै कारणले क्याल्सियमको कमी हुन सक्छ । तर, त्यसलाई आफ्नो खानेकुराहरूको माध्यमबाट सजिलै पन्छाउन सकिन्छ ।
–रातोपाटी डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *