भर्खरै :

अब नेपालमा अमेरिकाको गिद्देदृष्टि !

– गौरव प्रधान
स्वाधीन र सार्वभौम मुलुकको निम्ति संयुक्त राज्य अमेरिका र भारत संसारका सबभन्दा बढी खतरनाक र आक्रामक देश हुन् । साम्राज्यवादी अमेरिका र विस्तारवादी देश भारतले अन्य स्वाधीन र सार्वभौम देशहरूमा कुनै न कुनै हस्तक्षेप गरिरहेका छन् । आफ्नो हस्तक्षेप र हैकम जमाउने काम ती दुवै देशले गरिरहेका छन् । नेपाललाई भारतको अधीनमा राख्ने काम भइरहेकोमा पछिल्लो पटक अमेरिकाले पनि नेपालमा आँखा गाडेको छ । अमेरिका नेपालसँग सहकार्य थप बलियो बनाउन चाहेको छ । नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धि गर्न र संयुक्त अभ्यास गर्न अमेरिका चाहेको छ । हिन्द प्रशान्त क्षेत्र हेर्ने अमेरिकी रक्षा सहायकमन्त्री स्क्रात्रले नेपाल भ्रमणको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालसँग अमेरिका थप सहकार्य अघि बढाउन चाहेको विचार व्यक्त गरे ।
नेपाल र नेपाली जनताको हितमा कुनै देशले सहयोग गर्नु सकारात्मक पक्ष हो । तर, कुनै पनि आर्थिक, प्राविधिक या अन्य सहयोग सर्तको आधारमा गर्नु बुद्धिमानी होइन । पहिले आर्थिक र प्राविधिक सहयोग गर्ने र त्यही सहयोगको आधारमा आफू अनुकूल अन्य काममा नेपालको समर्थन लिने काम पहिले भारतले गरेकै थियो भने अहिले त्यस्तै चाल अमेरिकाले बुन्न थालेको छ । बलियो नेपाल बनाउने सपना बुनेर अमेरिकाले अमेरिकी स्टेट पार्टनरसीप प्रोगामअन्तर्गत नेपाली सेनासँग सहकार्य अघि बढाएर नेपालमा अमेरिकी सेनाले पाइला टेक्ने प्रयास सुरु गर्न थालेको छ । अमेरिकाले लामो समयदेखि संसारका विभिन्न मुलुकमा सशस्त्रसहितको आफ्नो सेना तैनाथ गरिरहेको छ । अरु देशमा आफ्नो सेना तैनाथ गरेर त्यहाँ कसरी शान्त र सुरक्षित हुन्छ ? भारत र अमेरिकाले कुनै न कुनै ठाउँमा हात हालेपछि या विकासको नाउँमा आर्थिक र प्राविधिक सेवाको कुरा उठाएपछि शङ्का लाग्छ र प्रश्न उठ्छ, भारत र अमेरिकाले नेपालमा के गर्न लागेका छन् ? नेपालमा सैन्य सम्बन्ध विस्तार गर्न अघि बढ्नुको पछाडि कतै अमेरिकाको अर्को कुनै स्वार्थ त छैन ? नेपाली सेनाको आधुनिकीकरणको नाउँमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक तथा कोर्स डिजाइनमा विज्ञ पठाएर सहयोग गर्ने आश्वासन नेपाललाई परेड भूमि बनाउने कदम त होइन ?
अमेरिकी रक्षा सहायकमन्त्री स्क्रात्रले इन्डो प्यासिफिकको रणनीति चीनविरुद्ध होइन भनेका छन् । तर, अमेरिका भारतको साथ र सहयोगमा चीनलाई घेर्ने दाउमा छ । अमेरिकाले चीनसँग व्यापार युद्ध थालेकै हो । चीनबारे बदनाम गराउन अमेरिकाले हङकङको प्रदर्शनलाई उचालेकै हो । चीनको प्रभाव नेपालमा पर्ला भनेरै भारत र अमेरिका प्रत्यक्ष र अप्रत्यक्षरूपमा चीनविरुद्ध लागिरहेकोमा शङ्का छैन । आर्थिक र प्राविधिक सहयोगको नाउँमा नेपाल सरकारले कुनै पनि बुँदामा सहमति जनाउनु हुँदैन, समर्थन गर्नुहुँदैन । नेपाल सरकार गम्भीर बनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *