भर्खरै :

देशभक्त आन्दोलन सफल पारौँ

नेपाली भूमि मिच्ने भारत सरकारलाई खबरदारी गर्न नेपाल मजदुर किसान पार्टीले आज सोमबार रत्नपार्कमा विरोध प्रदर्शन र भारतीय राजदूतावास अगाडि धर्ना कार्यक्रमको आयोजना गरेको छ । मिचेको भूमि फिर्ता लिन र कालापानी क्षेत्रमा बस्दै आएको भारतीय सेनालाई हटाउनुपर्ने मागसहित आयोजना भएको उक्त विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सफल पार्न देशभक्त नेपाली जनताले ऐक्यबद्धता जनाउनु जरुरी छ । कार्यक्रममा किसान, मजदुर, युवा, विद्यार्थी, महिला, शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, पत्रकार, साहित्यकार, कालाकार, बुद्धिजीवी, व्यापारी, व्यवसायी तथा अन्य सर्वसाधारण देशभक्त जनताको सहभागिता हुने विश्वास नेमकिपाको रहेको छ । नेपाली भूमि नेपालको बनाउन, नेपाल–भारत सीमा नियमन गर्न, सीमा मिच्न नहुने गरी पर्खाल लगाउनु आजको आवश्यकता हो । यस कार्यमा नेपाल सरकारले पहल गर्नुपर्छ भने भारत सरकारले नेपाली भूमि छोड्नुपर्छ । भारतीय सेना फर्काउनुपर्छ र सीमा नियमन गरी नेपाल र भारत सरकार लाग्नुपर्छ । सोमबार दिउँसो १ बजे हुने विरोध प्रदर्शन र धर्ना कार्यक्रम यसै विषयमा केन्द्रित रहेको छ ।
नेपाली भूमि जोगाउन नेपाल सरकारले पहल नगरे या पहल गर्न आनाकानी गरिरहेको बेला नेपाल सरकार र भारत सरकारलाई खबरदारी गर्ने विकल्प सङ्घर्ष नै हो । भारत असल छिमेकी देश हो भने अतिक्रमित भूमि छोड्नुपर्छ, छोड्न तयार हुनुपर्छ । गत कार्तिक १८ गतेदेखि भइरहेको विभिन्न विरोध प्रदर्शन, धर्ना, साहित्य वाचन, गोष्ठी, अन्तरक्रियालाई निरन्तरता दिनुपर्छ । विगत लामो समयदेखि नेमकिपाले नेपाली भूमि अतिक्रमणको विरोध गर्दै आएको हो । कुनै पनि विदेशी शक्ति राष्ट्रको आक्रमण र भूमि अतिक्रमणको नेमकिपाले निन्दा गर्दै आएको छ । देश जोगाउने अभियानमा कुनै पनि नेपाली पछि पर्नुहुँदैन । देशभक्तिपूर्ण आन्दोलनमा नेपाली जनताले काँधमा काँध मिलाउनुपर्छ, हाइँसेमा हैँसे गर्नुपर्छ र ऐक्यबद्धता जनाउनुपर्छ ।
सोमबार हुने नेमकिपाको जुलुस र धर्ना कार्यक्रमले आन्दोलन गर्न र गराउन देशभर सन्देश छर्नेछ र नेपाली जनता थप आन्दोलित हुनेछन् । कूटनीतिक पहलबाट समस्या समाधान हुनुपर्ने हो, तर त्यो पहल भइरहेको छैन । कूटनीतिक पहल पनि नहुने र मिचेको नेपाली भूमिविरुद्ध नेपाली जनताले आवाज उठाएन या सङ्घर्ष गरेनन् भने नेपाली भूमि कसरी सुरक्षित हुन्छ ? भारतले नेपाली भूमि मिच्ने क्रम कसरी रोक्छ ?
के नेपाली भूमि बचाउन गरिएको आन्दोलन नेपाल र नेपालीको अहितमा छ ? अहितमा छैन भने नेपाली भूमि सुरक्षाको निम्ति भइरहेको आन्दोलनको विरोध किन ? यतिकोे विरोध गर्दा पनि भारतले नेपाली भूमि मिचेकोमा विषयमा आत्मसात गरेको छैन । सरकारले कूटनीतिक पहल गरिरहनेछ, यता नेपाली जनताले भूमि अतिक्रमणको विरोधमा सङ्घर्ष गरिरहने छन् । आजको विरोध जुलुस र धर्ना कार्यक्रम सङ्घर्षकै सिलसिला हो । अतः रत्नपार्क जाआँै, जुलुस प्रदर्शन र धर्ना कार्यक्रममा सरिक होआँै, देशभक्त आन्दोलन सफल पारौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *