भर्खरै :

यमनी शान्ति प्रक्रियामा सङ्कट

– डाना मौखालाटी
दुबई, २४ मंसिर (एएफपी) । अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त यमन सरकार र दक्षिणमा सक्रिय पृथकतावादीहरूबीच सत्ताको बाँडफाँट गर्ने सम्झौता गर्न विफल भएका छन् । यमनमा जारी वर्षौंदेखिको गृहयुद्ध अन्त्य गर्ने एउटा प्रयासमा यसलाई अशुभ सङ्केतका रूपमा लिइएको छ ।
दसौँ हजारको ज्यान लिइसकेको र लाखौँलाई भोकमरीमा पु¥याएको यमनको द्वन्द्व सन् २०१४ मा सुरु भएको थियो । इरान समर्थित हुथी विद्रोहीहरूले यमनी सरकारलाई राजधानी सानाबाट लखेटेपछि यमन द्वन्द्व अझ जटिल मोडमा पुगेको हो । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई हाल साउदी नेतृत्वको गठबन्धनले सहयोग गरिरहेको छ ।
गत अगस्टमा नयाँ समस्या सिर्जना भयो, किनभने दक्षिणी पृथकतावादीहरूले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको अस्थायी राजधानी एडेन सहरलाई नियन्त्रणमा लिएका थिए ।
साउदी नेतृत्वको गठबन्धनको एक महत्वपूर्ण हिस्साको रूपमा रहेको यूएईले पृथकतावादी सैनिक लडाकाहरूलाई प्रशिक्षण, आर्थिक तथा राजनीतिक संरक्षण दिइरहेको छ । यूएईको उक्त कदमका कारण खाडी राष्ट्रबीच नै मनमुटावको स्थिति उत्पन्न भएको छ ।
‘युद्धको भूमरीमा गृहयुद्ध’ लाई अन्त्य गर्न साउदी अरेबियाको पहलमा दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटीसी) सँग शक्ति बाँडफाँट गर्ने सम्झौता भएको थियो जसअन्तर्गत दुवै पक्ष नयाँ सरकारमा सहभागी हुनेछन् र राजधानी एडेनमा फर्कनेछन् ।
नोभेम्बर ५ मा हस्ताक्षर गरिएको यस रियाद सम्झौतामा नयाँ सरकारमा २४ सदस्यीय मन्त्रिपरिषद् हुने र यसको गठन ३० दिनभित्र गरिसक्ने प्रावधान राखिएको छ । मन्त्रिपरिषद्मा दुवै पक्षबाट बराबरी सङ्ख्यामा मन्त्रीहरू रहने सहमति भएको थियो । गत महिना यमनका प्रधानमन्त्री मइन अब्दुलमलिक एडेन फर्कनु भएको थियो तर नयाँ मन्त्रिपरिषद्को गठन अझै हुन सकेको छैन । रियाद सम्झौतामा पृथकतावादी सैन्य लडाकूहरूलाई केन्द्रीय कमान्ड मातहत ल्याउनेसमेतका केही प्रमुख सुधारका कार्यहरू पनि समेटिएका छन् ।
“रियाद सम्झौताको समयरेखा वास्तवमै महत्वाकाङ्क्षी थियो । समयसीमा घर्किनु कुनै आश्चर्यलाग्दो कुरा होइन,” यमन विज्ञ एवं अक्सफोर्ड विश्वविद्यालयका वरिष्ठ अनुसन्धान फेलो एलिजाबेथ केन्डालले एएफपीलाई बताउनुभयो ।
“सबैभन्दा ठूलो प्रश्न हो ः के प्रतिबद्धताहरूमा मात्र ढिलाइ भइरहेको छ, वा ती अन्ततः प्राप्त गर्न असम्भव थिए ?” दुवै पक्षको भनाइमा दुवै पक्ष रियाद सम्झौतामा प्रतिबद्ध रहेका छन् तर तोकिएको समयसीमाभित्रै नयाँ सरकार गठन हुन नसकेकामा उनीहरूले एकअर्कामाथि आरोप लगाइरहेका छन् ।
– (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *