भर्खरै :

ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसान

– गोपालप्रसाद बराल
महोत्तरी, २४ मंसिर । सघन धान काट्ने बेला परेपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय अहिले सुनसान भएका छन् । गरीब, दलित र अवसरबाट पछि परेका जनजाति समुदायका नानीहरू मंसिर लागेसँगै धान काट्न, धानखेतमा सिला खोज्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालय अहिले सुनसान देखिएका हुन् ।
जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति समुदायका नानीहरू नै विद्यार्थी छन् । मंसिर सुरु भएसँगै घरका आमाबाबु बनी धान काट्न हिँड्ने भएपछि नानीहरू उनीहरूसँगै लोडहा खोज्न (सिला खोज्न, धान काटिएका ठाउँमा काट्न छुटेका, बाँध्न छुटेका र मुसाले दुलोमा लगेका धानका बाला सङ्ग्रह गर्ने काम) जाने गरेपछि विद्यालय सुनसान भएका शिक्षकहरूको भनाइ छ ।
हाम्रो विद्यालयका विद्यार्थी नै दलित समुदायका मुसहर, बाँतर, चमार, खत्वे, दुसाध र जनजाति समुदायका गरीब थारू समुदायका छन् । भङ्गाहा नगरपालिका–४ स्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रघुवीर साहले भन्नुभयो, “मंसिर लागेसँगै सघन धान कटनी सुरु भएपछि ती समुदायका नानीहरू खेततिर व्यस्त भएपछि विद्यालयमा विद्यार्थी थोरै देखिएका हुन् ।” धान र गहुँ काट्ने बेलाका मंसिर र चैत महिनामा बर्सेनि यस्तै हुने गरेको प्रधानाध्यापक साहको भनाइ छ ।
नगरपालिका भनिए पनि बस्तीपिच्छे नै पराले झुप्रा देखिने भङ्गाहाका नौ वडा बस्तीमा अहिले सात माध्यमिक र २३ आधारभूतसहित ३० सामुदायिक विद्यालय छन् । सबैजसो विद्यालयका विद्यार्थीमा दलित, गरीब र जनजाति समुदायका बढी छन् । मंसिर महिना वर्षभरि खाने अन्न कमाएर राख्ने समय भएकोले बाबुआमा बनि गर्न हिँडेसँगै नानीहरू त्यसै काममा सहयोगी बन्न जाँदा यो महिनाभरि विद्यालय सुनसानजस्तै बन्ने गरेका सबैजसो विद्यालयका शिक्षक बताउँछन् ।
जिल्लामा भङ्गाहामात्र नभएर औरही नगरपालिकाको टिम्कियास्थित आधारभूत विद्यालय, लोहारपट्टी नगरपालिकाको पिपराढी तथा खुट्टास्थित विद्यालय र बलवा नगरपालिकाको भगवतीपुरस्थित विद्यालय पनि पढ्न आउने विद्यार्थी घट्दा मंसिरभरि सुनसानजस्तै हुने गरेका छन् । त्यसैगरी मटिहानी नगरपालिका–९ सिमरदही, सम्सी गाउँपालिकाका विद्यालय र सोनमा गाउँपालिकाका सामुदायिक विद्यालय पनि अहिले सुनसान देखिएका छन् ।
आफ्ना नानीहरू पढाउनुपर्छ भन्ने चेत दलित समुदायमा बढ्दै गए पनि मंसिर महिना वर्षभरि खाने अन्न कमाएर राख्ने बेला भएकाले नानीहरूसमेत त्यस काममा लागेका दलित बस्तीका अभिभावक बताउँछन् । हामीले अब नानीहरू पढ्न पठाउनुपर्छ भन्ने बुझेका छौँ । भङ्गाहा–४ रामनगरको मुसहरीटोलका अगुवा जुगलासादा मुसहर भन्नुहुन्छ, “तर, मंसिर महिना धान काटेर राम्रो पारिश्रमिक पाइने महिना हो, यही बेला कमाएर राखेको धानले वर्षभरि गुजारा चलाउनुपर्छ, त्यसैले यो महिनाभरिँ नानीहरू हाम्रो सहयोगमा हुने गरेका छन् ।”
खासगरी मुसहर र बाँतर जाति समुदायका बालबालिका मंसिर लागेसँगै धान काटिएको खेतमा लोडहा (सिला खोजेर) सङ्ग्रह गरिएको धान बेचेर मनपर्ने कुरा किनेर खान रमाउने गर्छन् । धान लोड्दै जाँदा मुसाको दुलो भेट्टाइए त्यसलाई खनेर मुसाले जम्मा पारेको धान निकाल्दै मुसासमेत मार्न पाउँदा मुसहर बालबालिकाका लागि अत्यन्त खुसीको क्षण बन्ने गर्छ ।
सरसरती जिल्लामा रहेका सबैजसो सामुदायिक विद्यालय गरीब, दलित र पिछडिएका जनजाति समुदायका नानीहरू पढ्ने ठाउँ बनेको देखिन्छ । कृषिकार्यको मजदुरी गरेर गुजारा गर्ने दलितमात्र नभएर अन्य जाति समुदायका गरीब किसानका छोराछोरी पनि मंसिरभरि बाबुआमाको काममा सहयोगी बन्दा यो महिनाभरि नियमित विद्यालय जानसक्दैनन् । यसरी महिना दिनभरि पढाइपछि पर्दा दलित, विपन्न र जनजाति समुदायका नानीहरूको पढाइस्तर कमजोर बन्ने गरेको शिक्षक स्वीकार गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *