भर्खरै :

देशभक्ति उर्लेको घमाइलो सोमबार

एक सहभागी
‘सुस्ता हाम्रै हो ।
ए ! बहिनी सुस्ता हाम्रै हो,
कालापानी, लिम्पियाधुरा
टिम्बरपोखरी, वनबासा, हिले त्यो पनि हाम्रै हो ।’
जनगायक विनोद विकको यो गीत धेरै वर्ष अघिदेखि सुन्दै–गाउँदै आएको हो । कुनै सभा समारोहमा यो गीत बज्दा मनमा देशभक्तिको भावना उम्लेर आउँछ । यो गीत कहीँ बजेको सुने केही वर्षअघि सुस्ता जाँदा डुङ्गा चढी नारायणी नदी तर्दै गर्दा नारायणी नदी नै गुञ्जायमान हुने गरी यही गीत गाएको सम्झना हुन्छ । आफ्नो गाउँको नाम जोडेर हामीले गीत गाएको सुनेर डुङ्गा खियाउने बोटे चकित परेका थिए । गण्डक बाँधबाट बग्ने नहर नाघेर नारायणी नदी तर्न अहिले पनि मानिस डुङ्गाकै सहारामा जानुपर्छ । पुल बनाउने सरकारको योजनाले अझै मूर्तरूप लिन सकेको छैन । हिउँदमा नारायणी साँघुरिन्छ, मानिस डुङ्गा चढेरै वारपार गर्छन् । वर्षामा नारायणी फैलिन्छ, नदीको वेग डुङ्गाले थाम्न सक्दैन । सुस्तावासीहरू भारतको बाटो भएर आफ्नो देश पस्नुपर्छ ।
सुस्तामा नेपाल र भारत छुट्याउने कुनै संरचना छैन । हिँड्दा हिँड्दै कतिबेला हामी आलीवारि हुन्छौँ वा नेपाली भूमिमा हुन्छौँ । कहिले आलीपारि हुन्छौँ, भारतीय भूमिमा टेक्छौँ । किसानहरू भारततिरको भूमि जोत्दै नेपालतिरको आलीमा बसेर खाजा खाने गर्दा रहेछन् ! घना उखुबारी नै सुुस्ताको आयस्ता हो । महिना दिनअघि ऊर्जामन्त्री पुगेर सुस्तामा विद्युत् योजनाको शिलान्यास गरे । आशा गरौँ, चाँडै सुस्तावासीले बिजुली बत्ती देख्न पाउनेछन् । आजसम्म सुस्तावासी पारि त्रिवेणीमा बलेका बत्तीका झिलिमिली हेरेरै रात काट्न विवश छन् ।
सुस्ताका धेरै मानिससँग आज पनि जग्गाको लालपुर्जा छ तर जग्गा भने आफ्नो हातमा छैन । भारतीयले मिच्दै–मिच्दै यसरी धेरै नेपालीका भूमिमा बाली लगाएका छन् । किलोमिटरका किलोमिटर नेपाली भूमि भारतले मिचिसकेको छ । नेपाली किसानहरूले केही गर्न सकेका छैनन् । सिंहदरबारमा बसेको सरकार नै यो विषयमा केही बोल्दैन भने निहत्था सुस्तावासीले के नै पो गर्न सक्लान् ! मनमा आक्रोश छ तर उनीहरूसँग लाचार बन्नुको अर्को उपाय पनि छैन । कतै रिस पोखिहाले कतिबेला भारतीय बर्दीवालाहरू आएर धम्क्याउने हुन्, पत्तै हुन्न । सशस्त्र प्रहरी र जनपथ प्रहरीका चौकीहरू सुस्तामा छन् । तर, उनीहरूसँग पनि आफ्नो टाउको छोप्ने राम्रो छानासमेत छैन । कतिबेला र कसरी देशको सिमाना जोगाउनु !
…. ……
मंसिर २३ गते सोमबारको घमाइलो दिन । भारतले नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा गाभेको विरोधमा नेपाल मजदुर किसान पार्टीले जुलुसमा सहभागी बन्न आह्वान गरेको थियो । भारतले कार्तिक १५ गते सार्वजनिक गरेको नक्सामा एकतर्फीरूपमा नेपालको भूमि आफ्नो सिमानाभित्र पारेको थियो । काठमाडौँ पोस्टले पहिलोपटक सार्वजनिक गरेको सोसम्बन्धी समाचार पढ्दा धेरै नेपाली जनता आक्रोशित बने । त्यो समाचार केही दिनमै गर्मीयाममा जङ्गलमा डढेलो फैलिएजस्तै फैलियो । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भएको अनेकन प्रमाण बाहिर आए ।
भारतीय नक्सा बाहिरिएसँगै देश आन्दोलनको रापले तातेको छ ।
मंसिर २३ गतेको कार्यक्रममा दिनको १ बज्दा नबज्दै काठमाडौँको रत्नपार्कमा सहभागीको चहलपहल बढिसकेको थियो । यस विषयमा त्यसअघि भएका विरोध जुलुसजस्तै केही सय मानिसमात्र भेला हुने अनुमान गर्दै थोरै सङ्ख्यामा मात्र प्रहरी परिचालित थिए । ट्राफिक प्रहरीलाई पनि खास हतार थिएन । तर, सवा एक बजेसम्ममा रत्नपार्कको सडक पूरै प्रदर्शनकारीहरूले भरियो । औपचारिक कार्यक्रम आरम्भ नहुँदै सहभागी युवा विद्यार्थीले भारतले नेपालको भूमि मिचेको विरोधमा गगनभेदी नारा लगाउन सुरु गरिसकेका थिए । महिला, किसान, युवा र विद्यार्थीले ब्यानर बोकेर कतिबेला जुलुस गर्दै भारतीय दूतावास पुगौँ भन्ने उत्साह र जाँगर देखाइरहेका थिए । साढे १ बजेसम्ममा रत्नपार्कको सडकमा मानिस खचाखच भरिए । प्रहरीले पनि जनशक्ति थपिसकेको थियो । प्रदर्शनकारी बाक्लो उपस्थितिका कारण सडकमा सवारीसाधन स्वतः बन्द भइसकेको थियो ।
औपचारिक कार्यक्रमको आरम्भ गर्न नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्ले र नारायण महर्जनले बोल्न थाल्नुभयो । उहाँहरूका जोशिला भाषणमा सहभागीहरूले पटक पटक ताली बजाए ।
जुलुस रत्नपार्कबाट जमलतिर अघि बढ्यो । हजारौँको सङ्ख्यामा प्रदर्शनकारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको भन्दै भारतीय हस्तक्षेपको कडा विरोध गरे । जुलुसमा सहभागी कलेजका विद्यार्थीले पनि निकै अनुशासितरूपमा भारतीय विस्तारवादविरोधी नारा लगाएका थिए । नर्सिङ कलेजका विद्यार्थी आफ्नो कलेजको पोशाकमै लामबद्धरूपमा जुलुसमा सहभागी बनेका थिए । सयौँ विद्यार्थीको नाराबाजीले उनीहरूको मनमा उम्लिरहेको देशप्रतिको माया झल्किरहेको थियो । काठमाडौँको बाक्लो ट्राफिक छिचोल्दै अघि बढेको जुलुसका सहभागीलाई चर्को घामले कुनै प्रभाव पारेन ।
जुलुस जमल, नारायणहिटीबाट नागपोखरी, उत्तरढोका हुँदै लैनचौर पुग्यो । जुलुसको कारण सवारी जाम भएको थियो । तर, सवारी जाममा परेका चालक र यात्रुहरूले जुलुस देखेर खुशी व्यक्त गर्दै थिए । सयौँ सर्वसाधारणले मोबाइलमा जुलुसको श्रव्यदृश्य कैद गरिरहेका थिए । अग्ला –अग्ला भवनका झ्यालबाट मानिस जुलुस नियालिरहेका थिए । फुटपाथमा हिँड्दै गरेका बटुवाले जुलुसलाई स्वागत गर्दै थिए । देश मिचिँदा स्वभावतः सबै नेपालीलाई दुख्छ । जुलुसमा सहभागी प्रदर्शनकारीसँगै अरू सर्वसाधारणले पनि विभिन्न तरिकाबाट ऐक्यबद्धता व्यक्त गरिरहेका थिए ।
लैनचौर पुग्दा जुलुस अझ बढी जोसियो । भारतीय दूतावासभित्र कुर्सीमा बसेका भारतीय अधिकारीहरूसम्म नेपाली जनताको आवाज पु¥याउन नाराबाजी अझ चर्को बनेको थियो । उत्साहित जनता भारतको मिचाहा व्यवहारबाट भित्रैदेखि रिसाएका थिए । तर, उनीहरू उत्तेजित र असंयमित थिएनन् । उनीहरू तोकिएको नारा नै एकस्वरमा लगाइरहेका थिए ।
प्रदर्शनकारीहरूले सडकमै बसेर नाराबाजीलाई जारी राखेका थिए । विद्यार्थीको समूह समूहमा बसेर नाराबाजी गर्दै थिए । उनीहरूमध्ये केहीले नारा लगाउने र अरूले साथ दिइरहेका थिए । वक्ताहरूका जुझारु भाषणले सभालाई अझ भव्य बनाइरहेको थियो । कार्यक्रम छोटो र प्रभावकारी थियो ।
सभामा सहभागी युवा विद्यार्थीले आफ्नो जीवनको लामो समयसम्म त्यो ऐतिहासिक दिनको सम्झना गर्नेछन् । देशको लागि केही गर्ने सपना साकार पार्न उनीहरूको लागि त्यो कार्यक्रम सदास्मरणीय एवम् प्रेरणादायी बन्नेछ ।
नेमकिपाले आयोजना गर्ने हरेक खुला सभामा अरू मानिसलाई चकित पार्ने धेरै कुरामध्ये एउटा कुरा सभापछिको सरसफाइ हो । सभा सकिएपछि नेमकिपाका युवाले लैनचौरको सडक पहिले जस्तो थियो, त्यत्ति नै सफा सुग्घर पारेका थिए । प्रदर्शनमा सहभागी कतिपय ज्येष्ठ महिलाहरूले पटुकाबाट मकै र चिउरा निकालेर फाँको हालेको देखेर केही मानिस चकित परेका थिए । मकै – भटमास र चिउरा खाँदै उनीहरूले नारा लगाइरहेको देख्दा धेरैलाई कुनै बेलाको नारा याद गरायो–मकै – भटमास खाउँला, गणतन्त्र ल्याऔंला ! प्रतिगमनविरोधी आन्दोलनको क्रममा निकै पटक लगाइएको थियो यो नारा । आखिरमा मकै – भटमास खाएरै जनताले निरङ्कुश राजतन्त्रलाई थान्को लगाएका थिए । आज भारतले नेपाली जनताको भावनाविपरीत नेपाली भूमि मिच्यो । फेरि नेपाली जनता मकै – भटमास र चिउरा खाँदै सडकमा उत्रेका छन् । अब पालो भारतको विस्तारवादी चरित्रको अन्त्यको हो ।
…. …..
राजधानीको व्यस्त सडक र बाक्लो सवारी जाम छिचोल्दै घरतिर हिँड्दै गर्दा कथाकार हरिबहादुर श्रेष्ठको कथा याद आयो–‘साँझ प¥यो, घर फर्किनुछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *