युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
आर्ची ब्राउन (Archie Brown) को ‘साम्यवादको उत्थान र पतन’ (The Rise and Fall Of Communism) भन्ने पुस्तक सन् २००९ मा प्रकाशित भयो । उनी अक्स्फोर्ड विश्वविद्यालयका अवकाश प्राप्त राजनीतिशास्त्रका प्राध्यापक हुन् । उनले सोभियत सङ्घ र साम्यवादी राजनीतिबारे तथा खु्रश्चेभदेखि गोर्भाचोभसम्मका विषयमा अनेक पुस्तक पनि लेखेका छन् । बेलायती प्राध्यापक भएपनि उनले अमेरिकी विश्वविद्यालयहरूमा पनि अध्यापन गरेका छन्, तथा समाजवादी देशविरोधी अनेक पुस्तकहरू पनि लेखेका र सम्मानहरू पनि पाएका छन् । सोभियत सङ्घमा बेलायतको राजदूत भई उनले कूटनैतिक सेवा पनि गरेका थिए ।
उनको ‘साम्यवादको उत्थान र पतन’ भन्ने झन्डै ७०० पृष्ठको पुस्तकमा उनले गहन सैद्धान्तिक विषयमा कम र समाजवादी देशहरूको बेमेल तथा नेताहरूको स–साना व्यक्तिगत कुरा बढी लेखेका छन् साथै, अनेक साम्राज्यवादी देशहरूको कुटिल गतिविधिहरूलाई ‘सुनपानी छर्कने’ काम गरेका छन् । उनका सहायक पुस्तकहरू पनि समाजवादविरोधी आफ्नो उद्देश्यसँग मेल खाने खालकै हुन् । केही कम्युनिस्ट पार्टीका नेताहरूका शास्त्रीय रचनाहरूको उल्लेख र उद्धृत गरिएपनि त्यसलाई समेत बङ्ग्याइटिङ्ग्याई प्रस्तुत गरेका छन् तथा गलत व्याख्याहरूबाट पुस्तकका पानाहरू भरेका छन् ।
साम्यवादी समाजको उत्थान र समाजवादी देशहरूको कमी–कमजोरीहरूमात्र उनले उल्लेख गरेका होइनन् वा वैज्ञानिक समाजवादी व्यवस्थाको व्याख्या र मानव समाजमा देखिने अन्तर – विरोध समाधान हुँदै अन्तमा स्वाभाविकरूपले साम्यवादी व्यवस्थामा सङ्क्रमण हुन्छ भन्ने शास्त्रीय मान्यतासँग असहमतीमात्र होइन बरु त्यसै विषयलाई उनले अस्वीकार गर्न पनि पुस्तक लेख्ने उद्देश्य राखेको प्रस्ट हुन्छ ।
मानव समाजको विकासको क्रमलाई अध्ययन गरेर विश्व मानव समाज आफ्नै अन्तरनिहीत कारणले नै साम्यवादी समाजमात्र आफ्नो गन्तव्यमा हो भन्ने निष्कर्ष माक्र्स–एँगेल्सले निकाल्नुभएको थियो । त्यसका आधारहरू निम्न हुन्–
१) मानव समाज पाषाण युगको मध्यसम्म मातृ सत्तात्मक समाज थियो भने त्यस बेलासम्म समाजमा व्यक्तिगत सम्पत्ति थिएन बरु सामूहिक श्रम र सामूहिक सम्पत्तिमा समाज आधारित थियो । व्यक्तिगत सम्पत्ति नहुनुको अर्थ, त्यस समाजमा वर्ग र शोषण पनि थिएन । यसकारण त्यस समाजलाई आदिम साम्यवाद भनियो ।
२) समाज बर्बर अवस्थामा पुग्दा अर्थात् एक जातीय समूह अर्को जातिय समूहको बीचमा आपसी झगडा (आक्रमण) ले गर्दा समाजमा बलको प्रयोगको महत्व बढ्यो । त्यसले मातृ समाजको ठाउँमा पितृ सत्ताले जन्म लियो र बस्तीहरूको विकास भयो तथा मानव समुदायहरू विकासको फरक–फरक अवस्थामा थिए । स्थायी बसोबास र घुमन्ते जातिहरूको भिडन्तले जातीय दलका नायकहरू बलिया हुँदै गए । आ–आफ्नो समूह र बस्तीलाई जोगाउन लडाकु दलहरू तयार भए, जसलाई आज हामी सेना र रक्षा दलको नाम दिन्छौँ, त्यसको भ्रुण त्यसैबेला सुुरु भयो ।
३) हारेका जातिका समूहहरू कति मारिन्थे, सम्भवतः त्यस बेलासम्म कहीँकतै मानिसले मानिसको मासु खान्थे । महिलालाई बन्दी बनाउँदै काममा लगाउँथे । बिस्तारै त्यो पराजित जाति ‘दास’ को रूपमा देखिए । यसरी समाजमा मालिक र दासको रूपमा वर्गको प्रादुर्भाव भयो । त्यही बखत समाज नयाँ पाषाण युगमा पदार्पण भयो ।
४) पितृ सत्ता बलियो हुँदै गयो र दल नायक र वरिष्ठ व्यक्तिहरूले लुटेका हात–हतियार तथा जितेका महिलासमेत आफ्ना सम्पत्तिको रूपमा स्वीकारे । समाजमा यसरी सम्पत्ति र वर्गको विभाजन बढ्दै गयो ।
५) दास युग अत्यन्त क्रुर युग थियो, साथै मानिसले कृषिसँगै धातु र खनिजबारे जानकारी हासिल गरे । फलाम र तामाजस्ता धातुहरूको प्रयोग बढ्यो र खनिजको महत्व झन् – झन् बुझ्न थाले । धातुको प्रयोग जानेपछि कृषिमा विकास भयो । मानिसले अनेक निर्माण र कला–कौशलको विकास गर्न जाने । धातुको प्रयोगले त्यस व्यवस्थाको विकासमा मलजल गथ्र्यो र कुटीर व्यवसाय, कृषि र हात–हतियारको पनि विकास गरे । दास युग सामन्तवादी व्यवस्थामा पदार्पण ग¥यो ।
६) सामन्तवादी समाजमा बलियो शासकवर्ग उठ्दो व्यापारी र उद्योगपतिहरूको विकास भयो जसको भ्रुण दास युगमै देखियो र सन् १६४० सम्ममा बेलायतको पुँजीवादी क्रान्तिले सामन्तवादको मृत्युको घण्टी बजायो । त्यस क्रान्तिमा पुँजीपतिवर्गले किसान र मजदुरवर्गलाई समेत साथ लिन जानेको थियो तर ती उदाउँदो कामदारवर्गले खाली आफू उपयोग मात्रै भएको अनुभव ग¥यो ।
७) पुँजीपतिवर्ग र सामन्तवर्गको भिडन्तकै सिलसिलामा शोषकवर्गले आफ्नो नयाँ शत्रु कामदारवर्गलाई देखे । बेलायतमा उठ्दो मजदुरवर्गलाई दबाउन सामन्त र पुँजीपतिवर्गमा मेलको समझदारी बढाई संवैधानिक राजतन्त्र स्थापना गरियो । फ्रान्सेली क्रान्तिमा बेलायतको वर्गीय मेलको कूटनैतिक कौशलमा पछि पर्दा अनेक भिडन्त, सरकारहरूको उत्थान र पतन सुरु भयो । सामन्त र पुँजीपतिवर्ग मिलेर नेपोलियनलाई सत्तामा नल्याउँदासम्म यो जारी रह्यो । अमेरिकी स्वतन्त्रता आन्दोलनसम्म पुग्दा पुँजीपतिवर्गले सा¥है सन्तुलित ढङ्गले कामदारवर्गलाई उठ्नै नदिने गरी संविधानमार्फत पुँजीवादी व्यवस्थाको नेतृत्व ग¥यो । तर, त्यहाँ पनि विभिन्न ठाउँ र अवसरमा किसान र मजदुरहरूको विद्रोहहरू भए ।
८) पुँजीवादको विकाससँगै शासकवर्गमा क्रुरता र अन्तरविरोध बढ्दै गयो । दास युग र सामन्तवादी व्यवस्थाकै अनेक बेमेलहरूको अध्ययन र पुँजीवादी व्यवस्थामा बढ्दै गएको शासक र शासित वर्गको सुषुप्त तथा देखिने भिडन्तलाई समेत साम्य पार्न नयाँ–नयाँ आदर्श समाजको कल्पना गर्ने सिलसिला पनि अगाडि बढ्दै गयो । पूर्वीय सभ्यतामा बुद्ध र कन्फ्युसियसजस्ता विचारकहरू देखापरे भने पश्चिमी समाजमा थोमसमोर र प्लेटोजस्ता चिन्तकहरू देखापरे ।
९) बेलायतको मेसिनविरोधी ‘लुडाइट’ मजदुर आन्दोलन (१८०२–१८१६) फ्रान्सको लियोन सहरको मजदुर विद्रोह (१८३१), बेलायतका मजदुरहरूको मागपत्रको आन्दोलन (१८४२–४८) जर्मनीको जोताहाहरूका विद्रोह (१८४४) आदिले सेन्ट साइमन, रोबर्ट ओबेन र फ्युरियोजस्ता समाजवादीहरूको जन्म दियो ।
माक्र्स र एँगेल्सले त्यसबेलासम्मका सबै सामाजिक र वर्गीय सम्बन्धहरू तथा राजनैतिक इतिहासलाई भौतिकवादी र द्वन्द्वात्मक ढङ्गले अध्ययन गर्नुभयो । हिजोसम्मका सबै समाजवादी चिन्तन मीठो कल्पनाजस्तो मात्र थियो, त्यसलाई कार्यान्वयन गर्न कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो र कम्युनिस्ट घोषणापत्र तथा अन्य रचनामार्फत पार्टी उद्देश्य, आफ्नो शत्रु एवम् मित्र पहिल्याउनुभयो ।
माक्र्स र एँगेल्सले समाजवादी चिन्तनलाई एक दार्शनिक र व्यावहारिक जग स्थापित गर्नुभयो । मजदुरवर्गको ‘स्वर्ग’ पेरिस कम्युनको स्थापना र त्यसको हारबाट सिक्दै सन् १९१७ को बोल्सेविक समाजवादी क्रान्तिले संसारलाई नयाँ वैचारिक क्षितिजमा पु¥यायो । लेनिन र स्तालिनले इतिहासमा अभूतपूर्व ढङ्गले कामदारवर्गको शासन, समाजवादलाई एक नमुनाको रूपमा स्थापना गर्नुभयो । भौतिक र वैचारिकरूपले संसारमा त्यसको प्रभावलाई फैलाउनुभयो र साम्यवादी समाजको अवश्यम्भावी भविष्यलाई प्रस्ट पारिदिनुभयो ।
Leave a Reply