भर्खरै :

कोरियाली मजदुर पार्टीबारे एक चर्चा

समा
क्रान्तिकारी विचार या सिद्धान्तमा इस्पातझैँ बलियो पार्टी निर्माण र विकास नै क्रान्तिको मूलभूत तयारी तथा आवश्यकता हो । क्रान्तिकारी विचारमा अडिग र अटल पार्टीले मात्रै क्रान्तिको नेतृत्व गर्न सक्दछ । क्रान्तिकारी सिद्धान्तबाट विमूख हुनु र सिद्धान्तबाट च्यूत हुनु भनेको क्रान्तिप्रतिको विश्वासघात हो । देश र जनताप्रतिको धोका हो । क्रान्तिकारी आन्दोलनको इतिहासले यही भन्छ । पार्टीको सिद्धान्त जनताबीच पु¥याउन र हुर्काउन कुशल पार्टी नेतृत्वको पनि उत्तिकै भूमिका रहन्छ । पार्टी नेतृत्वले अर्थात् नेताले नै क्रान्तिलाई सफलतासम्म पु¥याउँछ । सिद्धान्तनिष्ठ पार्टी, कुशल र विवेकी नेता, सङ्घर्षको मैदानबाट इस्पात बनेका र विचारले खारिएका कार्यकर्ता, क्रान्तिकारी भावनालाई आत्मसात् गर्ने जनताको समष्टिगत एकता नै क्रान्तिका अपरिहार्य आवश्यकता हुन् । प्रजग कोरियाली क्रान्तिको अनुभवले यहि बताउँछ । आज पनि कोरियाली जनता महान् नेता किम इल सङका योगदानहरूप्रति अनुग्रहित छन् । उहाँको जुछे विचारधारा र पार्टी निर्माणका सैद्धान्तिक आधारहरूबारे नयाँ पुस्तालाई अध्ययन गराईँदैछ । कोरियाली मजदुर पार्टी क्रान्तिका उत्तराधिकारीहरू तयार गर्दैछ ।
“कोरियाली मजदुर पार्टी प्रिय नेता कामरेड किम इल सङको पार्टी हो ।” शीर्षकमा कोरियाली जनताका प्रिय नेता कामरेड किम जङ इलको लेखले प्रजग कोरियाको सङ्घर्ष, इतिहास, पार्टी निर्माण, नेतृत्व र उत्तराधिकारीको तयारीबारे छलफल प्रस्तुत गर्छ । कोरियाली मजदुर पार्टीको स्थापनाको ५० औँ वार्षिकोत्सव अक्टोबर २, १९९५ मा प्रकाशित यस लेख नेपाली भाषामा अनुवाद गरी आजभन्दा २२ वर्ष अगाडि सन् १९९७ मा पुस्तिकाको रूपमा प्रकाशित भयो ।
पुस्तिकाको सान्दर्भिकता नेपालको समकालीन राजनीतिक वृत्तमा अझ बढी भएको अनुभूत पाठकलाई जरुर हुनेछ । सिद्धान्तमा चिप्लेको पार्टी, इमान नभएका नेता र भ्रष्ट कार्यकर्ताहरूबाट देश र जनताको सेवा हुन सक्दैन र आमूल परिवर्तन त असम्भव नै हुन्छ भन्ने सन्देश दिने यस पुस्तिका नेपाली शासक दलका नेता तथा कार्यकर्तालाई अनिवार्य पढाइनुपर्ने अनुभव पाठकलाई हुनेछ ।
पार्टीको मार्गनिर्देशक सिद्धान्तले नै पार्टीको स्वभाव, सङ्घर्षको आजु, पार्टी गतिविधि, कार्यदिशा, क्षमता र शक्ति निर्धारण गर्छ । त्यसकारण विचारमा हिमाल जस्तो अटल पार्टी नै मात्र जनताको पार्टी बन्न सक्दछ । त्यही पार्टीले मात्र देशको स्वाधीनता र स्वतन्त्रताको पक्षमा लड्ने हिम्मत गर्दछ ।
नेता किम जङ इल आफ्नो नेताप्रति उच्च सम्मान व्यक्त गर्दै भन्नुहुन्छ – “क्रान्तिको प्रेरक–शक्तिमा नेता शीर्षस्थ दिमाग र एकताको केन्द्र हो र पार्टी नेताको विचार र निर्देशनलाई साकार रूप दिने राजनैतिक सङ्गठन हो ।” नेताको सम्मान र निर्देशनको पालना नै अनुशासनको द्योतकका रूपमा पुस्तिकाले परिभाषित गरेको छ । कार्यकर्ता तथा जनताका आँखाको नानी हुन्छन््, नेता । देश निर्माण र जनताका सुखका लागि विचारको पुञ्ज हुन्छन्, नेता । त्यसकारण नेताको सेवा गर्नु पनि क्रान्तिको सेवा नै हो भन्ने सन्देश पनि पुस्तिकाले दिन्छ । नेताका विचारहरू सारा देश र संसारमा फैलाउन र सम्प्रेषण गर्न सङ्घर्ष गर्नु नै नेताको सेवा हो । कामदार वर्गीय पार्टीको माध्यमबाट विचार सिँच्ने काम गरिनुपर्दछ । जनताको एकमनको एकता निर्माण या विकास गर्न विचारधारात्मक शिक्षा जरुरी हुन्छ । नेता या पार्टीको सेवा गर्नुको अर्थ अन्धभक्त बन्नु भने जरुर होइन । आलोचना र आत्मालोचनाको संस्कृतिलाई क्रान्तिकारी नेतृत्वले लागू गरेकै हुन्छ । नेतृत्वले गुटबन्दी, नातावाद, कृपावाद, संशोधनवाद र अवसरवादी चरित्र भने पूर्णरूपमा अस्वीकार गर्दछ । यदि त्यस्तो खालका कोही भेटिए भने पार्टी या सङ्घर्षको मैदानबाट निष्काशन गरिन्छ । क्रान्तिको तयारीको निम्ति यो अनिवार्य आवश्यकता हो ।
एकै विचार, आस्था र कामरेडेली भावनाले युक्त प्रेम, क्रान्तिकारी इमानदारिता र अनुशासनले नै कामदार वर्गीय पार्टीलाई बलियो शक्तिको रूपमा उदाउन सघाउँछ । प्रजातान्त्रिक केन्द्रीयता पार्टीको अर्को अपरिहार्य अनुशासन हो । पार्टी जीवन भनेकै क्रान्तिकारी पाठशाला या विश्वविद्यालय हो जहाँ हरेक कार्यकर्ता नेताका विचार र सङ्घर्षका सङ्कल्पहरूद्वारा सुसज्जित हुन्छन् । क्रान्तिकारी दर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा अध्ययन गर्छन् र दीक्षित बन्छन् । विभिन्न कठिनत्तम परीक्षा, सङ्घर्षको मैदानमा अविचलित रहन सक्ने कार्यकर्ताहरू नै पार्टी र जनसेवाको राजनीतिका उत्तराधिकारी बन्छन् । तब कामदार वर्गीय पार्टी क्रान्तिको निम्ति एक महत्वपूर्ण हतियार सिद्ध हुन्छ ।
जापानी उपनिवेशवादविरुद्धको रक्तपातपूर्ण युद्धदेखि अमेरिकी साम्राज्यवादले थोपरेको हिंस्रक आक्रमणहरूविरुद्धको लडाइँमा जितेको प्रजग कोरियाको समाजवादलाई हुर्काउने क्रान्ति जारी छ । साथै विभाजित कोरिया पुनः एकीकरणको निम्ति पार्टी नेतृत्वले आवश्यक पहल गर्दैछ । कोरियाली मजदुर पार्टी भन्छ – “हामीले समाजवादी क्रान्तिका दुई चरणहरू सफलतासाथ पुरा ग¥यौँ । आम जनतामा केन्द्रित समाजवादको निर्माण ग¥यौँ र मुलकको सार्वभौमिकता र क्रान्तिका उपलब्धिहरूलाई दृढताका साथ रक्षा गर्दै हाम्रो समाजवादमा चमक थप्यौँ ।” पार्टीले स्वाधीनता, शान्तिपूर्ण एकीकरण र महान् राष्ट्रिय एकताका तीन सिद्धान्तहरूमा आधारित नीति, राष्ट्रिय एकीकरणको नीति स्थिररूपले पालना गरिरहेको जानकारी पुस्तिकाबाट मिल्छ । “जनता नै मेरा ईश्वर हुन्”, “हामी जनताको सेवा गर्छौँ” भन्ने कोरियाली जनताका महान् नेता किम इल सङका अभिव्यक्तिहरूलाई पार्टीले मूल नाराको रूपमा आत्मसात् गरिरहेको छ । उहाँले देखाउनुभएको जुछे विचारधाराको बाटो, राजनैतिक स्वाधीनता, अर्थतन्त्रमा आत्म–यथेस्टता र प्रतिरक्षामा आत्मनिर्भरताको विचारको आधारशीलामा नै पार्टीले कार्यदिशा निर्धारण गर्दछ । त्यसकारण प्रजग कोरियाली जनता उहाँलाई आज पनि पितातुल्य स्थान र सम्मान दिन्छन् ।
“पार्टी आम जनताको बीचमा जानुपर्छ” भन्ने नेता किम इल सङको विचारलाई कोरियाली मजदुर पार्टीले व्यवहारमा लागू गर्दैछ । जनताको सुख–दुःखमा सहभागी बन्नुपर्दछ । जनतालाई सिकाउनु र जनताबाट सिक्नु कार्यकर्ताको कर्तव्य हो । जनताका क्रान्तिकारी उत्साह र सिर्जनात्मकताको कदर गर्दै क्रान्तिको पथमा निरन्तर हिँडिरहनुपर्दछ । विनम्रता, असल चरित्र, सौम्य व्यवहार, घमण्ड पटक्कै नगर्ने स्वभाव या गुणहरूबाट कार्यकर्ताहरू सुशोभित रहनुपर्छ भन्ने सन्देश पुस्तिकाले संसारका सम्पूर्ण राजनीतिक कार्यकर्ताहरूलाई समेत दिएको अनुभव हुन्छ ।
क्रान्तिकारी विचारक एवम् प्रजग कोरियाली क्रान्तिका नायक किम इल सङ सदा सर्वदा कोरियाली जनताको मनमा अमर रहने र उहाँको विचार एवम् कार्यशैली नै पार्टीको मार्गनिर्देशक बन्ने दृढ विश्वास नेता किम जङ इल व्यक्त गर्नुहुन्छ ।
यसरी जनताको सेवामा समर्पित, जनताको सुखको निम्ति इमानदारीपूर्वक सदा सङ्घर्ष गर्ने नेता युग–युगसम्म बाँचिरहने सन्देश पनि पुस्तिकाबाट मिल्छ । पुस्तिका अत्यन्त पठनीय छ । यसमा व्यक्त प्रत्येक विचार मननीय छन् । क्रान्तिका पक्षधरहरूलाई यस पुस्तिकाको मर्मले छुने निश्चित छ । कोरियाली मजदुर पार्टीको सफलता तथा उपलब्धि, प्रजग कोरियाको समाजवादबारे थप बुझ्न पढ्नुपर्ने पुस्तिकामध्ये यो पनि एउटा हो । यी र यस्ता कोरियाली साहित्यको अध्ययनबाट कोरिया र कोरियाली नेतृत्वबारे साम्राज्यवादीहरूले पैmलाइरहेका भ्रम चिर्न सम्भव हुनेमा कुनै शङ्का छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *