भर्खरै :

वार्ता सफल पार्न नाकाबन्दी फिर्ता लिनु जरुरी

– हर्कबहादुर केसी
संयुक्त राष्ट्र सङ्घ संसारका मुलुकहरूको साझा सङ्घ हो, संयुक्त राज्य अमेरिकाको कठपुतली होइन । अमेरिकाको दबाब र उठबसमा संयुक्त राष्ट्र सङ्घ रहेसम्म संयुक्त राष्ट्र सङ्घले न्याय र निसाफ दिनसक्दैन । अमेरिकाकै दबाबमा संयुक्त राष्ट्र सङ्घले प्रजग कोरियामा आर्थिक नाकाबन्दी गरेको थियो ।
विश्वका कुनै मुलुकले प्रजग कोरियासँग कुनै व्यापार नगर्न र प्रजग कोरियाको सामान कुनै पनि देशमा लान नपाउने गरी अमेरिकाले नाकाबन्दी गरेको थियो । यसैको आधारमा नेपाल सरकारले पनि आर्थिक नाकाबन्दी लागू गरेको समाचार मंसिर ३० गते प्रकाशित अन्नपूर्ण पोस्टमा छापिएको छ ।
समाचारमा राष्ट्र सङ्घीष सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको उल्लेख छ । उत्तर कोरियाबाट खोलिएका सबै उद्योगहरू बन्द गरिसकेको नेपाल सरकारले जनाएको छ । उत्तर कोरियालाई निःशस्त्रीकरण गर्ने उद्देश्यले राष्ट्र सङ्घले गरेको आर्थिक नाकाबन्दीलाई नेपालले आँखा चिम्लेर समर्थन गर्नु न्यायोचित होइन ।
व्यापार व्यवसाय रोकेर प्रजग कोरियाको अर्थतन्त्र कमजोर बनाएर आफूलाई बहादुर ठान्ने काम गलत हो । विचार नमिलेको आधारमा अरू कुनै स्वाधीन र सार्वभौम देशमा आर्थिक नाकाबन्दी गर्नु पक्षपात हो । निःशस्त्रीकरण प्रजग कोरियामा मात्र किन ? अमेरिका संसारकै सबभन्दा बढी शक्तिशाली र हातहतियार बेचेर देश धनी बन्ने तर प्रजग कोरियाले आणविक परीक्षण गर्न नपाउने कस्तो नीति !
आणविक अस्त्रशस्त्रकै धाक देखाएर अरू मुलुकमा आक्रमण गर्ने, आक्रमणको चेतावनी दिने देश संयुक्त राज्य अमेरिका हो । अमेरिकाको त्यही धाक र धम्कीको प्रतिरक्षा गर्न गरिएको आणविक परीक्षणको हवाला दिएर आर्थिक नाकाबन्दी गर्नु नाजायज कदम हो । अतः अमेरिका र संयुक्त राष्ट्र सङ्घले प्रजग कोरियामा गरेको आर्थिक नाकाबन्दी फिर्ता लिनुपर्छ । नाकाबन्दी फिर्ता लिएर विश्वका कुनै पनि मुलुकसँग सहज वातावरण तयार गर्न र व्यापार व्यवसायलाई सहज बनाउन अवसर दिनुपर्छ ।
एकतर्फीरूपमा हुने अमेरिका र प्रजग कोरियाको वार्ता सफल हुने छैन । अरू देशले आणविक हातहतियार थन्काउन पाउँछ भने प्रजग कोरियाले किन नपाउने ? प्रजग कोरियामा मात्र आणविक निःशस्त्रीकरण गरेर विश्वमा शान्ति कायम हुन्छ ? प्रजग कोरियाले विश्वलाई आतङ्कित पार्नुपर्ने जरुरी छैन । प्रजग कोरियाले आफ्नो देशको रक्षा गर्न पाउँछ, पाउनुपर्छ । आर्थिक नाकाबन्दी फिर्ता लिएर विश्वमा अमनचयन कायम गर्नुपर्छ । त्यसतर्फ अमेरिका र संयुक्त राष्ट्र सङ्घको ध्यान जानुपर्छ । प्रजग कोरिया र अमेरिकाबीच हुने वार्ता सफल बनाउन प्रजग कोरियामाथिको नाकाबन्दी फिर्ता लिनु नै बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *