भर्खरै :

नाफा जति व्यापारीलाई नोक्सान जति किसानलाई

–श्यामकाजी र पीडित किसानहरू
कुखुरा र अण्डाको उचित मूल्य नपाएपछि अहिले कुखुरापालक किसानहरू आन्दोलित छन् । किसानको नेतृत्व गरिरहेकाहरू वास्तविक किसान रहेका जिल्लामा किसानका समस्याबारे खुला बहस हुन थालेका छन् भने किसानको नेतृत्व गरिरहेका व्यापारीहरू चुपचाप बसी फाइदामात्र लिइरहेका छन् । कुखुरापालन व्यवसाय जोखिमको व्यवसाय हो भने कुरा त सबैलाई सर्वविदित्तै हो । नेपाल कुखुरापालनमा आत्मनिर्भर भइसकेको भनी व्यवसायी, व्यापारी र सरकार सबैले गर्वसाथ घोषणा गर्छन् तर जोखिम जति किसानलाई बोकाइरहेका छन् ।
चल्ला खोरमा भित्याएदेखिन् मासुका निम्ति पालिने कुखरामा कुखुरा व्यापारीकहाँ पुगेर नकाटिएसम्म र अण्डाका निम्ति पालिने कुखुरामा अण्डा बिक्री नभएसम्म सम्पूर्ण जोखिम किसानकै टाउकोमा हुन्छ । चल्ला उत्पादकहरूले गर्न त गुणस्तरीय चल्ला उत्पादन गरेको दाबी गर्छन् । कतिपय ह्याचरीको हकमा आवश्यक औषधि र खोप नचलाएका माउले पारेको अण्डाबाट कोरलिएका चल्ला जन्मैदेखि रोगी हुन्छन् । लक्षणका आधारमा उपचार गर्दा र औषधि चलाउँदा चलाउँदा किसान हैरान हुन्छन्, टाट पल्टिने हुन्छन् तर कुखराको वृद्धि विकास हुँदैन । कुखुरालाई दिइने खोप तथा औषधि र तिनको मूल्य किसानले मोल्ने अर्को जोखिम हो । व्यापारीले गुणस्तरीय र उस्तै उस्तै हो भन्दै आफूलाई बढी नाफा आउने खोप तथा औषधि किसानलाई ठमाइदिने गर्छन् । खोप तथा औषधि प्रभावकारी भएन भने औषधि बेच्ने व्यापारीलाई कुनै फरक पर्दैन तर किसान डुबिसकेको हुन्छ । फेरि खोप तथा औषधिको मूल्य निरन्तर बढाइरहन्छ कहिल्यै घट्दैन । दानाको हकमा पनि उस्तै हो । हुन त अधिकांश दाना उद्योगहरूले स्तरीय दाना नै उत्पादन गर्न थालेका छन् । तर स्थानीय स्तरका व्यापारीहरूले उत्पादन गर्ने काँचो दानाको गुणस्तर सधैँ एकैनास हुने गरेको छैन । दाना दिने व्यापारीले बढी नाफाको निम्ति अनेक बहानामा म्याद नाघेका र गुणस्तरहीन दाना किसानको खोरमा पु¥याइदिने गर्छन् । किसानको निम्ति त्यो दाना ‘नखाऊँ भने दिनभरको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ उखानजत्तिकै हुनपुग्छ । जग्गा वा खोरभाडा उठाउने साहु, सोतर बेच्ने व्यापारी, कुखुरा सहरसम्म पु¥याउने गाडीदेखि कुखुरा काटेर बेच्ने व्यापारीबाट समेत किसान पीडित हुन्छन् ।
उदेकलाग्दो तथ्य त त्यसरी पाइला पाइलामा जोखिम मोलेर किसानले उत्पादन गरेको मासु, कुखुरा र अण्डाको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई छैन । मासु वा अण्डा थोरै कम बिक्री भएपछि नै व्यापारीहरूले तुरुन्तै मूल्य घटाउँछन् । त्यसरी मूल्य निर्धारण गर्दा न किसानको परेको लागत मूल्यसम्म उठ्ने÷नउठ्ने कुरा विचार गरिन्छ न त मूल्य निर्धारण प्रक्रियामा किसान प्रतिनिधिहरूलाई नै सहभागी गराइन्छ । हो, कुखुरापालनले स्वरोजगार सिर्जना गरिरहेको पक्कै हो । दसौँलाख मानिस यस व्यवसायमा आवद्ध पनि छन् तर व्यवसायबाट यथोचित आम्दानी गरेका किसान सयमा दस पनि नहोलान् । सरकारले अरु कृषि उपजको मूल्य निर्धारण गरेजस्तै किसानले उत्पादन गरेका मासु, कुखुरा र अण्डाको लागत र ज्यालासम्म उठ्ने गरी समर्थन मूल्य निर्धारण गरिदिनुपर्छ । समर्थन मूल्त्न्दा कममा कारोबार गर्न खोज्ने व्यापारीमाथि आर्थिक जरिवानाको व्यवस्था गरी लागू गर्नुपर्छ । तबमात्र कुखुरापालन व्यवसाय र किसानको भविष्य सुनिश्चित र दीर्घकालीन हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *