भर्खरै :

चिनियाँ सांस्कृतिक क्रान्ति र शिक्षा

 राकस्था
चीनमा सांस्कृतिक क्रान्तिको बेला थियो । चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङले सहरमा पढ्ने विद्यार्थीलाई गाउँ जाऊ, देश चिन, किसानबाट सिक भन्ने आह्वान गरे । विद्यार्थी दिनभर किसानको खेतीपातीको काममा सघाउँथे, कामको सिलसिलामा किसानबाट व्यावहारिक कृषि ज्ञान सिक्थे । साँझ किसानहरू एक ठाउँमा भेला हुन्थे, विद्यार्थी किसानलाई लेखपढ गर्न सिकाउँथे । सिक्ने र सिकाउने राम्रो जोडा मिल्थ्यो । किसान पनि गुरूको गौरव पाउँथे ।
एकदिन माओले गाउँ पुगेका विद्यार्थीबीच एउटा प्रयोग गरे । खेतीको काम गरी दिउँसोको खाजा खान आएका विद्यार्थी असिनपसिन थिए । हाँपझाँपसाथ आएका ती विद्यार्थीको निम्ति टोकरीभरि स्याउ राखिएको थियो । विद्यार्थीबीच स्याउ खाने होडबाजी चल्यो, राम्रो र ठूलो स्याउ पाउन । तर, एउटा खाइलाग्दो विद्यार्थी अलग बसेको थियो । विद्यार्थीका यी सबै गतिविधि हेरिरहेका माओले कुनामा अलग्ग बसेका ती विद्यार्थीसँग सोधे, ‘‘तिमी किन स्याउ नलिई उभिइरहेको ? तिमीलाई भोक लागेको छैन ?’’ विद्यार्थीले जवाफ दियो, ‘‘म बलियो, मोटोघाटो छु । पहिले अरूले खाऊन्, म पछिमात्र खान्छु भनी उभिएको ।’’ माओका आँखा चम्किला भए, ओठ लाम्चा भए । माओले यस घटनाबाट एउटा सार निकाले, यस्तै एकजनामात्र युवा बाँकी रहँदासम्म चीनमा समाजवादको झन्डा फहरिरहनेछ ।
सांस्कृतिक क्रान्तिबारे भ्रम
माओ त्सेतुङको नेतृत्वमा भएको सांस्कृतिक क्रान्तिको विरोध र समर्थनका आवाज आज पनि उत्तिकै छ । प्रतिक्रियावादीहरूको विरोधको कारण न्यायप्रेमी जनतामा समेत सो क्रान्तिबारे भ्रम हुनु आश्चर्य होइन ।
सन् १९४९ मा सम्पन्न चिनियाँ क्रान्तिको निर्माणका १७ वर्षको बीचमा माओ त्सेतुङले अर्को एक क्रान्तिको आवश्यकता महसुस गरे । सर्प मरे पनि पुच्छर हल्लिरहन्छ भनेझैँ ‘प्रतिक्रियावादीहरूले टाउको उठाउने सम्भावना बाँकी नै थियो । सोभियत सङ्घमा संशोधनवादले जरा फैलाउन थालेको अवस्था हुन्छ । रुसी क्रान्तिका नेता लेनिनले भनेझैँ ‘सर्वहारावर्गको राज्यसत्ता कब्जा गरी समाजवादी व्यवस्था कायम गर्नु जति गा¥हो हुन्छ, त्यस समाजवादी व्यवस्थालाई टिकाइराख्न चलाउने सङ्घर्ष हजार गुना गा¥हो’ भइरहेको थियो चीनमा । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू शासक बन्नेबित्तिकै तानाशाह हुने खतरा बढ्दै थियो । नेताहरू समेत जनताबाट अलग्गिने सम्भावना जिउँदै थियो । भर्खर स्थापित नौलो जनवादी व्यवस्थाविरुद्ध साम्राज्यवादीहरूको देखिने र नदेखिने आक्रमण जारी थियो ।
प्राध्यापक माणिकलाल श्रेष्ठको शब्दमा ‘नयाँ कम्युनिस्ट समाजको लागि मानिसलाई योग्य पार्ने, आम श्रमिक जनतामा पुराना थोत्रा प्रतिक्रियावादी संस्कारलाई हटाएर क्रान्तिकारी भावना भर्ने र उनीहरूलाई पुँजीवादी कार्यदिशाको विरोधमा सर्वहारा क्रान्तिको कार्यदिशाको निम्ति लड्ने क्रान्तिकारीको रूपमा हुर्काउने क्रान्ति नै चिनियाँ सांस्कृतिक क्रान्ति’ थियो ।
सन् १९६६ देखि दस वर्षसम्म चीनमा सञ्चालित सांस्कृतिक क्रान्तिबारे लेखिएको ‘अपरिचित सांस्कृतिक क्रान्ति’ शीर्षकको शोधग्रन्थमा डोङ्पिङ हाङ लेख्छन्, ‘‘सांस्कृतिक क्रान्तिभन्दा अगाडि स्रोतहरूमाथि नियन्त्रण बढ्दै जाँदा विशेषगरी ग्रामीण इलाकामा कम्युनिस्ट अधिकारीहरू दिनप्रतिदिन भ्रष्ट, स्वेच्छाचारी र असहनशील बन्दै गएका थिए । अधिकारी र साधारण जनताबीचको तनाव बढ्दै थियो । जबकि कम्युनिस्टहरूको जनताको हितभन्दा अन्य छुट्टै राजनीतिक उद्देश्य हुँदैन र कोही पनि पार्टी सदस्यले आफूलाई जनताभन्दा माथि राख्नु हुँदैन भन्ने पार्टीको नीति थियो ।’’ सांस्कृतिक क्रान्तिको बेला प्रचार गरिएको विषयमा ‘जनताको सेवा गर’ भन्ने माओको लेख थियो । सांस्कृतिक क्रान्तिमा पार्टीभित्र आलोचना र आत्मालोचनालाई कडाइपूर्वक लागू गर्न खोजिएको थियो । साथै, क्रान्तिकारीहरू सबै समान हुन्छन्, तह र पदले तात्विक फरक पर्दैन, सहर र गाउँका नेता भनी भेद गर्नु उपयुक्त होइन भन्ने मान्यता स्थापित गर्न खोजिएको थियो ।
जन शिक्षाले उत्पादनको वृद्धि
सांस्कृतिक क्रान्तिको सर्वाधिक बहसमा आएको विषय थियो, शिक्षा । त्यसबेला माओको निर्देशनमा उल्लेख थियो, “सांस्कृतिक क्रान्तिको कार्यभार भनेको पुरानो शैक्षिक प्रणाली, शैक्षिक दर्शन र विधिमा सुधार गर्नु हो ।” चीनका करिब ८० प्रतिशत जनता ग्रामीण क्षेत्रमा बस्थे । क्रान्तिमा माध्यमिक वा प्राथमिक तह उत्तीर्णलाई पनि शिक्षकमा नियुक्ति गरी शिक्षा प्रचारको अभियान अगाडि बढाइएको थियो । राम्रा शिक्षकको पर्खाइमा अरू थप पुस्ताले पढ्न नपाउने स्थिति नबनोस् भन्नेमा स्थानीय पार्टी समितिहरू सचेत थिए ।
ग्रामीण क्षेत्रमा विद्यालय खोल्ने लहर सृजना भयो । शिक्षा निःशुल्करूपमा उपलब्ध त थियो नै । शिक्षालाई उत्पादनसँग जोड्ने अभ्यास थालिएको थियो । किसानको कामको बेला ग्रामीण विद्यालयका विद्यार्थीलाई खेत लगिन्थ्यो । किसानको काममा सक्नेले सकेजति सहयोग गर्थे । कहिले नजिकैका उद्योगमा कामको निम्ति लगिन्थ्यो । श्रमप्रतिको आदरभाव जगाउनु, श्रमिकलाई माया गर्न सिकाउनु र उत्पादन बढाउनु नै यस्ता गतिविधिको उद्देश्य हुन्थ्यो ।
सांस्कृतिक क्रान्तिको सुरुमा मजदुर, सिपाही र किसानलाई विद्यालय व्यवस्थापन समितिमा राख्ने अभ्यास गरियो । औपचारिक शिक्षा नपाएका वा विद्यालय शिक्षाको सामान्य अनुभव पाएका मानिसले कसरी विद्यालय सञ्चालन गर्ने होलान् भन्ने प्रश्न नउठेको होइन । किसान र मजदुरको अनुभव र सीप कुनै पनि विद्यालय वा विश्वविद्यालयको ज्ञानभन्दा कम थिएन । यसले गर्दा किसान र मजदुरप्रति विद्यार्थीको सम्मान बढ्यो । यसबाट कृषि तथा औद्योगिक उत्पादन त बढ्ने नै भयो ।
विद्यार्थीमा आलोचनात्मक दृष्टिकोण
सांस्कृतिक क्रान्तिले विद्यार्थीलाई आलोचनात्मक दृष्टिकोण राख्न उत्साहित ग¥यो । गलत कामको खण्डन गर्ने र सत्यको पक्ष लिने विद्यार्थी तयार पार्नु क्रान्तिको एक मुख्य अभिभारा थियो । शिक्षककै पनि गलत व्यवहार तथा गतिविधिलाई अस्वीकार गर्ने विद्यार्थी तयार गरिँदै थियो । शिक्षकले भनेकै भरमा ठीक मान्ने वा पुस्तकमा लेखिएकै भरमा सही मान्ने नभई हरेक विचारमाथि प्रश्न उठाउने विद्यार्थी तयार हुँदै थिए । विद्यालयको शैक्षिक वातावरण सुधारको निम्ति विद्यार्थी लाग्थे । कक्षा कोठामा प्रश्न सोध्ने र छलफल गर्ने वातावरण बनाइएको हुन्थ्यो । विद्यार्थीलाई पढाउन शिक्षकले अरू बढी पढ्नु पथ्र्यो । विद्यार्थीकै कक्षा प्रतिनिधि हुन्थे, कक्षामा गर्नुपर्ने सुधारका काममा प्रतिनिधिको सहयोग हुन्थ्यो । कक्षा प्रतिनिधिको काम आफ्ना साथीहरूको सुझाव सङ्कलन गर्नु पनि हुन्थ्यो । विद्यार्थीका छलफल तथा बहस कहिलेकाहीँ शिक्षकको निम्तिसमेत चुनौति बन्थ्यो । कमजोर शिक्षक त लज्जित हुनुपर्ने वातावरण पनि बन्थ्यो । कक्षा जिवन्त बनाउन विद्यार्थी र शिक्षकबीचको अन्तरक्रियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्थ्यो ।
विद्यार्थीलाई गाउँको माया
सांस्कृतिक क्रान्ति अगाडिको शैक्षिक प्रणालीले ग्रामीण इलाका दक्ष जनशक्तिशून्य बनाएको थियो । क्रान्तिमा शिक्षित युवा गाउँ नफर्किने वातावरण थियो । गाउँ र सहरबीचको भेद कम भइरहेको थिएन । सांस्कृतिक क्रान्तिको मुख्य उद्देश्य ज्ञान र सीप ग्रामीण इलाकामा पु¥याउनु थियो । गाउँको आवश्यकताअनुसारको शिक्षा दिनु क्रान्तिको एक महत्वपूर्ण लक्ष्य थियो । क्रान्तिका शिक्षित युवालाई गाउँ फर्काउने वातावरण मिलाइएको थियो । यसरी सहरी उच्चमाध्यमिक विद्यालय उत्तीर्ण दसौँ लाख विद्यार्थी ग्रामीण इलाका छिरे । कलेज भर्ना हुनुभन्दा पहिले प्रत्येक विद्यार्थीले ग्रामीण इलाका अथवा कारखानामा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्ने बन्दोबस्त गरियो ।
गाउँबाट सहरमा पढ्न आएका विद्यार्थी अध्ययन सकाएर आफ्नै गाउँ जानुपर्ने व्यवस्था लागू गरिएको थियो । सहरबाट गाउँ आएका विद्यार्थीलाई गाउँका जनताले धेरै माया गर्थे । विद्यार्थीलाई कम्युनिस्ट पार्टी प्रवेश गर्नसमेत उत्साहित गर्थे । सेनामा भर्ति हुन चाहने विद्यार्थीलाई गाउँका जनता सिफारिससमेत गरिदिन्थे । यसरी गाउँ र सहरबीच राम्रो अन्तरक्रिया एवम् अन्तरसम्बन्धको विकास भएको थियो ।
सांस्कृतिक क्रान्तिको बेला द्रूतगतिमा विद्यालयको विस्तार भयो । इतिहासमा पहिलो पटक ग्रामीण क्षेत्रका केटाकेटीले राम्रो अध्ययन गर्ने अवसर पाएका थिए । सांस्कृतिक क्रान्ति चिनियाँ शिक्षामा अपूर्व विकासको अवधि थियो । निःशुल्क र अनिवार्य शिक्षाको सपना साकार भएको थियो । यसले ग्रामीण आर्थिक विकासमा अत्यन्तै सकारात्मक प्रभाव पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *