के जागिर दिएर समाजवाद आउँछ ?
- जेष्ठ ११, २०८३
केही दिन, महिना र वर्षदेखि नेपाली काङ्ग्रेस अनेक भित्री सङ्घर्षले थिलथिलो छ । नेपाली काङ्ग्रेसकै कार्यकर्ताहरू तथा ठेकेदार, व्यापारी र पद एवम् पेसाकै निम्ति पार्टी प्रवेश गरेकाहरू शेरबहादुर गुट र कोइराला गुटमा विभाजित छन् । नेकाका कार्यकर्ताहरूले प्रदेश, जिल्ला र स्थानीय निर्वाचनमा पार्टीको निर्णयको सीमा मिच्दै एमालेका उम्मेवारहरूलाई हाकाहाकी मत दिए र निर्वाचनमा ब्याज तोकेर ऋण लिए । कति प्रदेश र जिल्लामा नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ताहरूले मोटै रकम लिएर एमालेका कार्यकर्ता बने र आफ्नै नेता एवम् कार्यकर्तालाई हराउन सहयोग गरे ।
शेरबहादुर देउवाले नै योग्य ठानेका र विजयी हुने ठूलो आश गरिएका उम्मेदवारलाई काङ्ग्रेस कार्यकर्ताको पहिलो प्रश्न थियो– “थैलीमा कति रकम छ र खर्च कति ल्याएका छौ ?” बीपीको ‘समाजवाद’, प्रजातन्त्र, स्वतन्त्रता र समानता कता बिलायो थाहै भएन नेताहरूलाई ¤ ‘दुःख पायौ मङ्गले, आफ्नै ढङ्गले’ भन्ने उखानअनुसार निर्वाचनमा नेपाली काङ्ग्रेसको पराजय ‘शत्रु’ र ‘मित्र’ नचिनेरै हो, नयाँ युगको प्रवाह नबुझेर पनि हो । त्यस्तै भ्रष्टाचार, बहुराष्ट्रिय कम्पनीहरूको सेवाको निम्ति ७० लाख युवालाई विदेश पठाउनु, अपराधीको संरक्षक बन्नु, अमेरिकी साम्राज्यवादजस्तो अस्ताउँदो सूर्यको पक्ष लिनु तथा नेपाली काङ्ग्रेस झन् – झन् रुढीवादी र अनुदारवादी हुदै जानु हो ।
१४ सेप्टेम्बर २०१७ मा शेरबहादुरकै नेपाली काङ्ग्रेसको सरकारमा नेपाली काङ्ग्रेसबाट अर्थमन्त्री बनाइएका ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल र अमेरिकाबीच वासिङ्टन डीसीमा पाँच सय मिलियन अमेरिकी डलरको कम्प्याक्ट (योजना) मा हस्ताक्षर गरे । ‘अमेरिकी सहयोग परियोजना’ वा ‘एमसीसी’ मा हस्ताक्षर भएको कुरा नेकपाका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेपछि भन्डाफोर भयो । एमसीसीका कार्यवाहक सीईओ जोनाथनले हस्ताक्षर गरेको पनि भर्खरै हो ।
यसको अर्थ के ‘एमसीसी’ एक गुप्त सम्झौता हो ? वा ‘इन्डो–प्यासिफिक’ सैनिक सङ्गठनको पहिलो पाइला हो ? नेपालका केही अनुदार पार्टीका केही नेता र पत्रकारहरू संरा अमेरिकाका ५० वर्षयताका सबै कदमलाई ‘सकारात्मक’ ढङ्गले हेर्ने गर्छन् । त्यतिमात्रै होइन, त्योभन्दा पहिलेका ‘अमेरिका अमेरिकीहरूको’ र ‘ल्याटिन अमेरिका हाम्रो आँगन र करेसाबारी’ जस्ता नीति लिने अमेरिकी राष्ट्रपति मूनरोदेखिका कुन चाहिँ राष्ट्रपतिका पालामा संरा अमेरिकी प्रशासनले अन्य देशहरूमा आक्रमण गरेन र उपनिवेश बनाएन ? फिलिपाइन, कोरिया प्रायःद्वीप, भियतनाम र हिन्द–चीन, अफगानिस्तान, इरान, लिबिया, सिरिया वा ल्याटिन अमेरिका र अफ्रिकाको कुन देशमा संरा अमेरिकाले राम्रो वा ‘समारात्मक’ काम गरेको दावा कसले गर्न सक्छ ?
संरा अमेरिकी प्रशासनको विकास योजनाको हरेक पाइला युद्धको सुरुआत हो । यस्तो इतिहास र वर्तमानलाई देख्या नदेखेझैँ गर्ने नेपालीको दृष्टिकोण ‘अमेरिकीभन्दा पनि बढी अमेरिकी’ देखिन्छ । आफ्नै देश र आफ्नै घाँटीमा पासो हालेर नघिसार्दासम्म र आफ्नै देशमा आक्रमण नगर्दा वा आफ्नै टाउकोमा बम नहान्दासम्म ‘संरा अमेरिका’ लाई ‘मुक्तिदाता’ र ‘मानव अधिकारवादी’ मान्नु सरलताको पराकाष्ठा हो, इतिहास र उदाहरणबाट सिक्न नसक्ने जिद्दीपन हो । चिली, भेनेजुयला, पनामा, हाइटी, सुडान, इन्डोनेसिया आदि कुन देश छ जहाँ संरा अमेरिकाको सहयोगले विकासको बाटो पहिल्याउन सक्यो वा सुख शान्ति र अमनचैन छ ? उत्तर निश्चय पनि ‘नकारात्मक’ नै हुन्छ ।
आन्तरिक लडन्त–भिडन्तलाई मिलाउने उद्देश्यले बसेको बैठकले नेकाभित्र मात्र होइन, देशमै भाँडभैलो मच्चाउने परिणाम आउन बेर छैन । एकताको औषधि हो–‘एमसीसी चाँडो पारित गरः काङ्ग्रेस’ (अन्नपूर्ण–४ पुस २०७६)
५ देखि १० वर्षको निम्ति खर्च गरिने ५०० मिलियन् अर्थात् ५० करोड डलरको अर्थ हो वर्षको १ करोड डलर ¤ आजको समयमा नेपाली एक अरबको निम्ति देशको सार्वभौमिकतामा आँच आउने सम्झौता गर्नु ‘गहतको झोलमा जात फाल्नु’ हो ¤
Leave a Reply