भर्खरै :

‘जनताको साहित्य’ र साम्राज्यवादविरोधी साहित्यको आवश्यकताबारे

 समा
पुस्तक परिचय
नेपाली साहित्य जगतमा जनताको साहित्य र साहित्यकार हुर्काउन ‘जनताको साहित्य’ ले निर्वाह गरेको भूमिका अतुलनीय छ । साहित्य आमूल परिवर्तन या क्रान्तिको हतियार बन्नुपर्छ, कामगरी खाने जनताको पक्षमा लेखिएका साहित्यले नै मात्र परिवर्तनको निम्ति भूमिका तयार गर्छ भन्ने ‘जनताको साहित्य’ को तर्क आज पनि अकाट्य छ । आजभन्दा ४४ वर्ष (मई १९७५) अगाडि प्रकाशित ‘जनताको साहित्य’ ले एकातिर नेपाली प्रगतिशील साहित्यको इतिहास पस्कन्छ भने अर्कोतिर यसभित्रका विचार र सन्देशले नेपाली समाजलाई शिक्षित बनाउँछ । ‘जनताको साहित्य’ जनताको न्यायोचित सङ्घर्षमाथि भएका सम्पूर्ण दमन, शोषण र अत्याचारविरुद्ध रातो झन्डा बनेर फरफराएको इतिहास ताजै छ । त्यसकारण यसका सम्पूर्ण अङ्कहरू आज फेरि खोजी–खोजी पढिँदैछ ।
जनताको साहित्य बुलेटिन नं २ ले भियतनामी क्रान्तिको विजय गाथा गाएको छ । साम्राज्यवाद र उपनिवेशवादविरुद्धको आक्रोश पोखेको छ । भियतनामी जनताको शक्तिले सन् १९७५ अप्रिल ३० मा उपनिवेशवादका पिछलग्गूहरूलाई धुलो चटायो । भियतनामी जनताको त्यो विजय एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका साम्राज्यवाद तथा उपनिवेशवादविरोधी जनताको निम्ति ठूलो ऊर्जा बन्यो । १५ वर्षको रगताम्य लडाइँबाट जीतको इतिहास कोरेका भियतनामी जनताले संसारलाई मातृभूमिप्रतिकोे माया, देशप्रतिको प्रेम सिकाए । सबैखाले विस्तारवाद, एकाधिकार पुँजी र बडाराष्ट्र अहङ्कारवादविरुद्ध साना र न्यायप्रेमी देशहरूलाई एक हुन हौस्याए । विदेशी शक्तिका थिचोमिचोविरुद्ध जनताको एकताको विकल्प छैन भन्ने सन्देश पनि भियतनामी सङ्घर्षबाट मिल्छ । भियतनामसँगै कम्बोडियाली जनताले पनि देशको मुक्ति सम्भव तुल्याए । कम्बोडिया सन् १९७५ अप्रिल १७ मा स्वतन्त्र बन्यो । लाओसका जनताले पनि अमेरिकी साम्राज्यवादी हस्तक्षेप र आक्रमणलाई हराए । अफ्रिकी देशहरू अङ्गोला, जिम्बावे, मोजाम्बिकमा पनि साम्राज्यवाद हार्दै थियो । नामिबिया र आजाबियाका जनताले विजय हासिल गर्दै थिए । पेलेस्टाइनी जनता देशभक्तिको भावना के हो संसारलाई सिकाउँदै थिए । भियतनामलगायतका यी सम्पूर्ण देशहरूले दमन र थिचोमिचोविरुद्ध सङ्घर्ष गर्न विश्वलाई आह्वान गरे । नभन्दै हिन्द–चीनमा सोही समय साम्राज्यवादले हार व्यहो¥यो । पोर्तगाली जनताले साम्राज्यवादीहरूसँगको लडाइँमा जिते । साम्राज्यवाद र उपनिवेशवादविरुद्धको लडाइँ आज पनि जारी छ । तिनलाई हराउन विश्वका न्यायप्रेमी जनता तयारी गर्दै छन् । साम्राज्यवादविरोधी लडाइँको इतिहास यो बुलेटिनले प्रस्तुत गरेर ठूलो गुण लगाएको छ ।
डाव–थानको कविता ‘शरद – मेरो स्कूल वर्ष’ ले भियतनामी गाउँको दुःख गाउँछ, वेदना पोख्छ । साम्राज्यवादीहरूको चङ्गुलमा फसेका भियतनामका जनता र किसानहरूले भोगेको गरिबी र अभाव कवितामा अभिव्यक्त छ । किसानका छोराछोरीले पढ्न नपाएको त्योभियतनामी समाजको तस्वीर कवितामा छ । भियतनामको सुखको निम्ति आफ्नो प्राण उत्सर्ग गरेका जनताको सङ्घर्षको कथा कवितामा प्रस्तुत छ ।
निबु क्वाङ – चिन लिखित र रमापतिद्वारा उल्था गरिएको एक चिनियाँ कविता ‘हाम्रो चौकीको अगाडिको सल्लो’ ले का. माओ त्सेतुङको जन्म थलोबारे बताउँछ । उहाँको योगदान कविताले यसरी पस्कन्छ ः
“सल्लोको नजिकै बसेर म अध्यक्ष माओको रचना पढ्छु
बिहानको घाममा मेरो हृदयको आगो रातो भई बल्छ
ठूल्ठूलो स्वरले म अन्तर्राष्ट्रिय गीत गाउँछु
र मेरो हृदयमा विश्व क्रान्ति उर्लन्छ ।”
गंगाले उल्था गरेको एक जिम्बावियाली कविता ‘रिसाएर उठ’ अत्यन्त जोशिलो छ । कविता भन्छ – जनता आफै दमन र शोषणको सिक्री चुँडाल्न उठ्दैनन् भने जीवनको कुनै अर्थ छैन । जिम्बावे मुक्तिका निम्ति सङ्घर्षका हरेक नागबेलीहरूमा मुठ्ठी कस्दै अगाडि नबढे जिम्बावेली जनताको स्वतन्त्रता सम्भव नहुने स्पष्ट विचार कवितामा छ । त्यसकारण सबै–सबै मुक्तिकामी जिम्बावेलीहरूलाई लड्न र सङ्घर्षको मैदानमा उत्रन हौस्याउने कविता आज पनि त्यत्तिकै सामयिक छ ।
एच कालुइन्जालिखित ‘नामिबिया, तिमी मुक्त गरिने छौ’ अत्यन्त मार्मिक कविता हो । साम्राज्यवादीहरूले आफ्नो बन्धनमा राखेको नामिबियालाई मुक्त र स्वतन्त्र गर्न नामिबियाका बहादुर लडाकुहरूले कुनै कसर बाँकी छोडेनन् । मातृभूमिको मुक्तिको निम्ति लडेका नामिबियाली जनताले अन्ततः विजय हासिल गरेको इतिहास छ । कविताले दमनदेखि मुक्तिसम्मको इतिहास बताउँछ ।
“ती सबैलाई नङ्ग्याइ देआँै” साहित्यकार एच.बी.श्रेष्ठ (बागमती अञ्चल) को क्रान्तिकारी भावनाले ओतप्रोत कविता हो । वि.सं.२०३२ सालको सुरुआततिर लेखिएको यस कविता आजको समाजमा पनि उत्तिकै सान्दर्भिक छ । आज पनि हरिया दुबोभित्र लुकेका हरिया सर्पहरू जनताले चिन्न सकेका छैनन् । कविताले तिनलाई नङ्ग्याउन यसरी आह्वान गर्छ –
“रातो झन्डालाई खसाल्न, रातो झन्डा उचाल्ने
शहिदलाई स्वार्थको हिलोमा मुछ्न शहिद गुहार्ने
यी भूत–प्रेत र विषालु झार–पातहरूलाई
‘आफै बोक्सी आफै धामीलाई’
यो नयाँ वर्षमा सबैको अगाडि नङ्ग्याइ देऔँ ।”
कवि श्रेष्ठले कवितामार्फत जनतालाई सङ्घर्षको जीवन रोज्न आग्रह गर्नुभएको छ ।
बुलेटिनमा का.फ्रेडरिक एँगेल्सको सङ्क्षिप्त जीवनी समेटिएको छ । एँगेल्सको जीवनका प्रत्येक चरणहरूको सङ्क्षिप्त जानकारी दिन बुलेटिन सफल छ । सम्भ्रान्त परिवारमा जन्मिएर पनि एँगेल्सले आफूलाई पुँजीपतिहरूको लर्कोमा उभ्याउनु भएन । अत्यन्त अध्ययनशील स्वभावका एँगेल्स धार्मिक ग्रन्थदेखि हेगेलको दर्शनसम्म पुग्दा हेगेलको ईश्वर नमान्ने नास्तिकवादको प्रभावमा पर्नुभयो । हेगेलको सामन्ती विचारधारालाई भने एँगेल्सले अस्वीकार गर्नुभयो । एँगेल्स भन्नुहुन्थ्यो –“म केवल त्यही राजाबाट राम्रो कुराको आशा गर्दछु, जसको दिमाग आफ्नो प्रजाको मुक्काबाट घाइते भएको होस् । जसको दरबार क्रान्तिको ढुङ्गाहरूले हिर्काएर भत्किरहेको होस् ।”
उहाँले ‘राइनिख जाइटुङ्’ पत्रिकामा लेखहरू छाप्न थाल्नुभयो । थुप्रै विश्लेषणात्मक लेखहरू लेख्ने क्रममा उहाँले ‘राजनैतिक अर्थनीतिको आलोचनाको रूपरेखा’ भन्ने लेख तयार पार्नुभयो । उहाँले समाजविरोधी अर्थशास्त्र माल्थसको आलोचना गर्नुभयो ।
एँगेल्स माक्र्सका सच्चा सहयोगी र मित्र हुनुहुन्थ्यो भन्ने थुप्रै दृष्टान्तहरू बुलेटिनले पस्केको छ । एँगेल्स अन्तर्राष्ट्रवादी हुनुहुन्छ । सङ्कीर्ण राष्ट्रवादविरोधी एँगेल्सको विचार मननीय छ – “अरू राष्ट्रलाई दबाई राख्ने कुनै पनि देश आफू स्वतन्त्र हुन सक्दैन ।”
दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र समाजवाद आदि विषयमा एँगेल्सका थुप्रै लेख र पुस्तक प्रकाशित छन् । माक्र्सको पुँजीको तेस्रो खण्डलाई एँगेल्सले नै पूरा गर्नुभयो । ७५ वर्षको उमेरमा उहाँले संसार त्याग्नुभयो । रुसी अक्टोबर क्रान्तिका महान् नेता लेनिनले एँगेल्सप्रति आफ्नो भावना यसरी राख्नुभयो –“सर्वहारा वर्गका महान् योद्धा र शिक्षक फ्रेडरिक एँगेल्सको स्मृति अमर रहोस् ।”
बुलेटिनमा मानव समाजको विकासक्रमबारे विवेचना प्रस्तुत गरिएको छ । मानिसको जङ्गली युगका खुड्किलाहरू, मानिसको असभ्य युग, दास युग, भू–दास प्रथा, सामन्तवादी युगबारे चर्चा बुलेटिनमा छ । मानिसको उत्पत्ति, सामाजिक बन्दोबस्त र आर्थिक क्रियाकलापबारे चर्चा बुलेटिनमा छ । त्यो सँगसँगै मानिसमाथिको शोषण र दमनको चक्र उल्लेख छ । पुँजीवादी समाजसँग लड्दै समाजवादी र साम्यवादी समाजमा मानिसहरूको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थिति कस्तो रहन्छ ? भन्नेबारे थप छलफल आवश्यक छ । यस बुलेटिन ऐतिहासिक साहित्यिक दस्ताबेजको रूपमा सङ्ग्रहणीयसमेत छ ।
स्पष्ट विचार तथा सैद्धान्तिक सन्देशले भरिएको साहित्यिक सङ्गालो विगतमा नेपाली साहित्याकाशमा हुनु तर आजको प्रजातान्त्रिक वातावरणमा कमी हुँदै जानु भने नयाँ पुस्ताको निम्ति अनौठो विषय बन्दैछ । ‘जनताको साहित्य’ आजको समयमा झन् बढी आवश्यक छ भन्नेबारे दुविधा पक्कै छैन ।
संरा अमेरिकी साम्राज्यवाद दिन प्रतिदिन आक्रामक बन्दै गइरहेको र नेपालसम्म पन्जा फैलाइरहेको यो परिस्थितिमा साम्राज्यवादविरोधी जनताका साहित्यको सचेत जनताबाट अपेक्षा हुनु अन्यथा जरुर होइन । आज त झन् जनता फासीवादविरोधी साहित्यको आवश्यकता अनुभव गर्दैछन् । यस्तो परिस्थितिमा जनताका स्रष्टाहरूले सक्रियता बढाएर जनतालाई उत्साहित गर्नु र मार्गनिर्देश गर्नु निश्चय पनि ऐतिहासिक जिम्मेवारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *