भर्खरै :

भागबन्डाकै मोलमोलाइ ¤

आर.के. श्रेष्ठ
केही समयअघि एउटा कार्यक्रममा पूर्वएमालेका जिल्ला प्रमुखले निकै चिन्तित मुद्रामा भन्नुभएको थियो, “राजनीति नेताहरूले नभई गुन्डाहरूले चलाए ।”
हिजो आजको नेकपाको कार्यक्रम र गतिविधिले त्यहीँ देखाउँछ । नेकपाको बैठक र कार्यक्रमहरूमा कुनै सर्वहारा वर्गका प्रतिनिधित्व वा नेता कार्यकर्ता नभई धनाढ्य र मालिकहरूको छलफल हुन्छ । देश र जनताको समस्या समाधानको विषयमा छलफल नभई नाफा, घाटा र भागबन्डाको मोलमोलाइमा विवाद भइरहेको हुन्छ । बैठक वा कार्यक्रममा आएका नेता कार्यकर्ताको रवाफ र ठूलठूला मोटर कारले त्यही देखाउँछ । नेताका ठूलठूला मोटर गाडीले चौडा सडक पनि साँघुरो गल्लीजस्तै भरिभराउ हुन्छ र जनताले सास्ती खेप्नुपर्दछ । नेताको त्यति महँगा गाडी र घर सम्पत्ति कहाँबाट आउँछ ? जनता अचम्ममा छन् ।
गुण्डाहरूको हालीमुहालीले भएका एकदुई जना राम्रा मान्छेहरू पनि गाँसेगुसे एकैनासे बनाएको छ । व्यापारी, ठेकेदार र अपराधी ठहरिएकाहरू ठूला दलमा निर्णायक बनेका छन् । कालो धन थुपार्न र आसेपासे शक्ति बटुल्न जस्तोसुकै कुकार्य गर्न पनि शासक दलका नेताहरू पछि परेनन् । यस्ता काममा नेका र नेकपाका नेता कार्यकर्ताहरू प्रतिस्पर्धामा छन् । देश र जनताको हितविपरीत असमान सन्धि सम्झौता र नियम कानुनहरू बनाउन र पारित गर्न यिनीहरू हतार गर्छन् । उनीहरू व्यक्तिगत स्वार्थको निम्ति आँखा चिम्लेर निर्णय गर्छन् । अझ यिनीहरू जनतामाझ अनेक जालझेल गर्दै छन् ।
दुःख गरेका र अन्य सामान्य कार्यकर्ताहरू ती पार्टीमा पछि पारिएका छन् । पैसा खर्च गर्नसक्नेहरूसँग घूस खाएर निर्वाचनमा टिकट दिइन्छ । पैसा खर्च गरेर चुनाव जिताइन्छ । लोभलालच र झूटा आश्वासन देखाएर चुनाव लड्छन् । असैद्धान्तिक गठबन्धन गरी जनताको मत लिन्छन् । विभिन्न कम्पनीका मालिक र ठेकेदारहरूसँग पछि हिसाब किताब मिलाउने सर्तमा पैसा असुल्छन् । विदेशीसँग हार गुहार माग्ने पनि हाम्रा नेताहरू नै हुन् । अनि त्यस्ताले चलाउने देश कस्तो होला ? दुःख पाउने त सोझा र गरिब जनताले नै हुन् । नेकपा कम्युनिस्ट रहेन । हँसिया हथौडा अङ्कित चिह्न बोक्न नेकपालाई नैतिकताले दिँदैन । सिद्धान्त र विचारको राजनीति छोडेको नेकपामा के सामान्य नैतिकता पनि छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *