भर्खरै :

ठगहरूको घर–घरानाबाट किसानलाई भुक्तानी देऊ

–प्रकाश
उखु चिनी मिल÷उद्योगलाई बेचेर वर्षौंसम्म त्यसको मूल्य भुक्तानी नपाएर तराईका विभिन्न जिल्लामा किसानले आन्दोलन गरेका समाचार हामी बरोबर सुन्दै आएका छौँ । किसानहरू आन्दोलित भएपछि मात्र केही उद्योगले क्रमशः उखुको मूल्य भुक्तान गरेको र केही उद्योगका मालिक÷सञ्चालकहरूले निश्चित भाकामा दिने भनी सम्झौता गरेर पछि दिने नगरेको यथार्थ पनि खुल्दै गएको छ । ती घटना चिनी उद्योगका मालिक कथित उद्योगपति घरानाहरूबाट भइरहेका ठगीका घटना हुन् । अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालिका सञ्चालक राकेश मिश्र त्यस्तै ठगहरूमध्ये एक हुन् । उनले किसानहरूबाट लिएको उखुको मूल्यबापतको करोडौँ रूपैया किसानलाई वर्षौंदेखि भुक्तान गरेका छैनन् ।
उद्योग प्रशासन र त्यसका सञ्चालकले एउटा चिट दिएर चिनी बेचेर पैसा आएपछि भुक्तानी दिन्छु, अर्को ६ महिनापछि दिन्छु र अर्को वर्ष व्याजसहित दिन्छु भनी किसानलाई झुलाउने गर्छन् । किसानहरू भने खेती गर्नलाई लिएको ऋण र त्यसको ब्याज तिर्ने र अर्को वर्ष खेती गर्ने पैसा नभएर इन्तु न चिन्तु हुन्छन् । कतिपयको बन्धकीमा राखेको घर–खेत नै लिलाम हुन्छ । त्यसपछि मालिक वा जवाफदेही म्यानेजरहरू किसानको अगाडि नै पर्दैनन् । पछि–पछि पैसा नै बाँकी नरहेको र केको पैसा भनी उल्टै किसानलाई धम्क्याउँछन् । यो नेपालका कथित चिनी उद्योगीहरूले सोझा–सिधा किसानहरूमाथि गर्दै आएको एक किसानको ठगी, शोषण र अत्याचार हो । त्यसरी अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालिका सञ्चालक राकेश मिश्रबाट पीडित भएका सर्लाहीका किसानहरू काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका छन् । ती किसानप्रति ऐक्यबद्धता जनाउनु सबै न्यायप्रेमी जनताको दायित्व हो । सरकारले त्यस्ता ठगहरूलाई पक्राउ गरी उनीहरूको बैङ्क ब्यालेन्स, सम्पति र घर–घरानाबाट असुलउपर गरेर भए पनि किसानको उखुको मूल्य भुक्तान गर्नुपर्छ । सरकारले यस्तो गर्दैन भने सरकार स्वयम् पनि ती ठगहरूका दलाल साबित हुने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *