भर्खरै :

काठमाडौँ उपत्यकालाई किन ध्वस्त बनाउन खोजिंदै छ ?

काठमाडौँ उपत्यकामा अति जनसङ्ख्या केन्द्रीकरणका कारण उपत्यकाका बासिन्दाको जीवन दिनानुदिन कष्टकर बन्दै छ । अपराध, दुर्घटना, प्रदूषण, सवारी जाम आदि अनगिन्ती समस्याले उपत्यकावासीको जीवन दिनहुँ हैरानीमा बितिरहेको छ । सभ्यता र संस्कृतिको केन्द्र काठमाडौँ उपत्यकाका विशिष्ट सम्पदा आज क्रमशः नष्ट हुँदै छन् । तथापि सरकारले भने उपत्यकामा अझै ठूलो सङ्ख्यामा मानव बस्ती विस्तार गर्ने योजना अघि सारेको छ । ‘स्मार्ट सिटी’ को आकर्षक शब्दालड्ढार झुण्ड्याएर सरकारले उपत्यका वरपरका खेतीयोग्य जमिन म्हासेर बस्ती बसाउने योजना कार्यान्वयन गर्न खोजिरहेको छ । समृद्धि र विकास देखाउने हतारोमा सरकारले यो योजना अघि सारेको हुनसक्छ । तर, वास्तवमा यो योजनाले काठमाडौँ उपत्यकाको जनजीवन थप भयावह बनाउने निश्चित छ ।
देशको सन्तुलित विकास नै सम्पूर्ण नेपाली जनताको चाहना हो । एकाध सहरको विकास भएर समग्र देशको विकास हुँदैन । चुनावमा शासक दलले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पु¥याउने आश्वासन दिएको थियो । त्यही कुरामा विश्वास गरेर जनताले तिनलाई मत दिएका थिए । तर, सरकार भने सिंहदरबार फेरि पनि काठमाडौँ उपत्यकाभित्रै कैद गर्ने योजना अघि सारिरहेको छ । काठमाडौँ उपत्यकामा मात्र विकास गरेर फेरि पनि देशका अन्य क्षेत्रका जनतामाथि भेदभाव गर्ने सरकारको नीतिले देशमा विकासको असन्तुलन कायम रहने छ ।
देशको विकास र स्रोत परिचालनमा केन्द्रीकरण हुँदा सन्तुलित विकास हुन नसकेको निष्कर्षसहित नयाँ संविधानमा सात वटा प्रदेश र अधिकारसम्पन्न स्थानीय तहको व्यवस्था गरेको हो । काठमाडौँ मात्र होइन, सबैतिर विकास होस् भन्ने भावनाले नै संविधानमा त्यस्तो प्रावधान उल्लेख भएको हो । तर, सरकारले विकासलाई काठमाडौँमै थुपारेर सन्तुलित विकासको मूल मर्मलाई लत्याएको छ ।
सरकारले काठमाडौँ उपत्यकामा थप बस्ती विकास गर्ने योजना सच्याउन जरूरी छ । बरू देशैभरि साना–साना सहरको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । साना सहरको व्यवस्थापन ठूला सहरको तुलनामा सहज हुन्छ । साना सहरका समस्या साना हुन्छन् र तिनको समाधान पनि सोहीअनुसार सम्भव हुन्छ । नेपालको विकासको ढाँचा नेपाली माटो सुहाउँदो हुनुपर्छ । ठूला र विकसित देशको नक्कल गरेर नेपालको विकास गर्ने प्रयासले कदापि गतिलो नतिजा दिन सक्दैन ।
सरकारले अहिले काठमाडौँ उपत्यकाको सन्दर्भमा अघि बढाएको योजनाले यहाँका समस्या अझ जटिल बनाउने छ । अहिले नै काठमाडौँका समस्या समाधान गर्न धौधौ भइरहेको बेला आगामी दिनमा आउने थप समस्या निमिट्यान्न पार्न अझ कठिन हुने छ ।
शासक दलका नेताहरू देशका विभिन्न ठाउँका जनताको मतबाट निर्वाचित भएर काठमाडौँमा आउनु र काठमाडौँमा घर बनाएर बस्नु आफूलाई मतदान गर्ने जनताप्रति धोखा हो । काठमाडौँमा जसरी पनि घर बनाउने चिन्तनबाट ती नेताहरू मुक्त हुन जरूरी छ । नेतासँगै जिल्ला–जिल्लाका हुनेखाने मानिस सबै राजधानीमै जम्मा हुँदा देशको सन्तुलित विकास कहिल्यै पनि सम्भव हुने छैन । समृद्धि र विकास सीमित ठाउँमा मात्र कैद गरेर बाँकी देशलाई अविकास र पछौटेपनमै कैद गर्नु शासक दलको जनताप्रतिको धोखेबाजी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *