भर्खरै :

नेमकिपा स्थापना दिवस र साम्राज्यवादविरोधी सङ्घर्ष

नेपाल मजदुर किसान पार्टीले माघ १० लाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । नेमकिपाको स्थापना २०३१ माघ १० गते भएको थियो । यो वर्ष नेमकिपाको ४६ औँ स्थापना दिवस हो । स्थापना दिवसको अवसरमा विभिन्न जिल्लामा माघ महिनाभरि विविध गतिविधि हुँदै छ । नेमकिपाले स्थापना दिवसका गतिविधिबाट समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा व्यापक जनतालाई सचेत र सजग बनाउने अभियानको रूपमा उपयोग गर्दै आएको छ ।
नेमकिपाले स्थापनाकालदेखि साम्राज्यवादविरोधी सङ्घर्षलाई जोड दिँदै आएको छ । निरङ्कुश पञ्चायतकालमा पनि संरा अमेरिकी साम्राज्यवादले भियतनाममाथि थोपरेको युद्धको विरोधमा नेमकिपाले सङ्घर्ष गरेको थियो । भियतनाम युद्धविरूद्ध नेमकिपाले गरेको उक्त प्रदर्शन अन्तर्राष्ट्रिय मुद्दामा नेपालमा भएको सम्भवतः पहिलो प्रदर्शन थियो । संरा अमेरिकी साम्राज्यवादले इराक, इरान, लिविया, अफगानिस्तान, प्रजग कोरिया, सिरिया, प्यालेस्टाइन, क्युवा, भेनेजुयलालगायत संसारका देशमाथि गरेका अत्याचारविरूद्ध नेमकिपा सधैँ पहिलो पङ्क्तिमा उभिएको छ । साम्राज्यवादविरोधी सङ्घर्ष संसारको न्यायपूर्ण आन्दोलनकै हिस्सा हो । त्यसकारण नेमकिपाले साम्राज्यवादविरोधी सङ्घर्ष गर्नुलाई आफ्नो अन्तर्राष्ट्रिय दायित्व मानेको छ ।
संरा अमेरिकी साम्राज्यवाद आज नेपालको दैलोमा पुगेको छ । सहश्राब्दी चुनौती परियोजना (एमसीसी) को नाममा संरा अमेरिकी साम्राज्यवादले नेपालको सार्वभौमिकतामाथि खुलमखुला हमला गर्दै छ । संरा अमेरिकाले कुनै पनि देशलाई गर्ने ‘मद्दत’ को मूल्य के र कति हुन्छ भन्ने कुरा संसारको ऐनामा प्रस्ट देखिन्छ । हालसालै इराकको संसद्ले आफ्नो भूमि छोड्न संरा अमेरिकी सेनालाई आग्रह गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जवाफ दिएका थिए, “इराकमा हाम्रो लगानी परेको छ । लगानी फिर्ता नहुँदासम्म हामी फर्किने छैनौँ ।” इराक आज कुन हालतमा छ, संसारलाई थाहा छ । एमसीसीको नाममा नेपाललाई दिइने भनिएको सहयोग नेपालमा उसको लगानी हो । संरा अमेरिकी लगानी कति विषालु हुन्छ, मध्यपूर्वमा अहिले चहराइरहेको घाउबाट थाहा हुन्छ ।
नेपालको आर्थिक वा पूर्वाधार विकास संरा अमेरिकाको मूल चासोको विषय कदापि होइन । नेपाललाई आफ्नो सैनिक स्वार्थको निम्ति प्रयोग गर्न उसले बाटो खोजिरहेको हो । एमसीसी नेपालमा पस्ने संरा अमेरिकाको साम्राज्यवादी ब्वाँसे हात हो । यो परियोजनाले विकासको नाममा नेपाललाई साम्राज्यवादीको रणभूमि बनाउने छ । नेपाललाई छिमेकी देश चीनविरूद्ध अमेरिकी रणनीतिक चौकीमा रूपान्तरण गर्नेछ ।
नेमकिपाले ४६ औँ स्थापना दिवसको अवसरमा आयोजना गर्ने गतिविधिमार्फत दैलोमा आइपुगेको साम्राज्यवादविरूद्ध व्यापक नेपाली जनतालाई सजग बनाउन जरूरी छ । सत्तारूढ नेकपाले नेपाली जनतासामु जे र जस्तो कुरा गरे पनि उसको वास्तविकता के हो भन्ने कुरा क्रमशः उदाङ्गो बन्दै छ । साम्राज्यवाद र विस्तारवादप्रतिको उसको भक्तिमा उसले कुनै कमी गरेको छैन । नेपाललाई फेरि पनि साम्राज्यवादी ज्यावल र रणभूमि बनाउने खेलमा आजका सत्तारूढ शासक वर्ग हिजोका शासक वर्ग जत्तिकै सक्रियतापूर्वक लागेका छन् । एमसीसीको वर्षाले वास्तवमा नेकपाले आफ्नो शरीरमा पोतेको रङरगपखालिएको छ । नेकपा स्वयं पनि साम्राज्यवादी स्वार्थसिद्ध गर्ने ज्यावल पुष्टि हुँदै छ ।
नेकपाको नाममा झुन्डिएको ‘कम्युनिस्ट’ शब्द जनतालाई झुक्याउन लगाइएको अलङ्कार भएको सत्य एमसीसीप्रति शासक दलको तन्मयताबाट पुष्टि भएको छ । एमसीसीको विरोध र सत्य उद्घाटन नेपालको राजनीतिमा कम्युनिस्टको नाममा भइरहेको बदमासीविरूद्धको सङ्घर्ष पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *