सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
–प्रकाश
जनताको अपेक्षाविपरीत जनप्रतिनिधिहरू धमाधम विभिन्न अपराधमा पक्राउ पर्न थालेका छन् । जनप्रतिनिधिहरू उच्च नैतिक अनुशासनमा रहेका र जनताको समस्या समाधान गर्न दिनरात लाग्ने समाजसेवी हुने आशा सर्वसाधारण जनताले गरेका थिए । वर्षदिन अगाडि नै नुवाकोटको एक स्थानीय तहका नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाअध्यक्ष चेलिबेटी बेचबिखनको कसुरमा अपराधी साबित भएका थिए । हालै जनकपुर उपमहानगरपालिकाका मेयर राजेश्वर साहले जनकपुरको बाटो फराकिलो बनाउने क्रममा एकातिरको व्यक्तिका घरजग्गा बचाएर अर्कोतिर रहेको जानकी मन्दिरको जग्गा मिच्न लगाएका थिए । त्यसबारे प्रश्न उठाएका पत्रकारहरूलाई आफ्नै कार्यकक्षमा गुण्डाहरू लगाएर कुटपिट गर्न लगाएका थिए । त्यसरी पत्रकार, प्रश्न उठाउने र विरोध गर्ने जनतालाई धम्की दिने र मारपिट गराउने जनप्रतिनिधिहरूको सूची त लामै छ ।
त्यस्तै हालै सुर्खेतमा जाजरकोटको एक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षकी श्रीमान् आठ लाख घूस रकमसहित पक्राउ परे । आइतबारमात्र सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा प्रदेश सांसद गुलेफुन मियाँलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला भएको छ । मोरङ्ग जिल्लाको तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छापा कीर्ते गरेको आरोपमा उच्च अदालत विराटनगरले सांसद मियाँलाई दोषी ठहर गर्दै एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ फैसला सुनाएको हो । आइतबारै कैलालीबाट अर्को समाचार आयो, कैलालीको जुवाघरमा प्रहरी छापा, वडाध्यक्षसहित १६ पक्राउ । आइतबार राति धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट गोदावरी नगरपालिका–१० का वडाध्यक्षसमेत रहेका २८ वर्षीय रवीन्द्र शाहीलगायत १६ जना पक्राउ परे । यी त सार्वजनिक भएका उदाहरणमात्र हुन् । यसले जनप्रतिनिधिहरू स्वयम् विभिन्नखाले अपराधमा संलग्न रहेको स्पष्ट सङ्केत गर्दछ । पैसा कमाउनकै लागि विकास निर्माणका आयोजनामा कमिसन खाने र आफ्नै लगानीका डोजर चलाउने जनप्रतिनिधिबारे पनि पटक–पटक समाचार आएकै हुन् । आखिर जनप्रतिनिधिहरू किन विभिन्न अपराधमा संलग्न भएका छन् त ? यसको कारण तिनीहरूको द्रव्यमोह त हुँदै हो, ठूला शासक दलहरूले हिजो उम्मेदवार चयन गर्दा योग्य, नैतिकवान र इमानदार व्यक्तिभन्दा जति पनि पैसा खर्च गर्नसक्ने र चुनाव जित्नसक्ने जस्तोसुकै व्यक्ति रोज्नुले गर्दा हो । अहिले विभिन्न तहका जनप्रतिनिधि भनाउँदाहरूले आ–आफ्नो रङ्ग देखाइरहेका छन्, तिनीहरू जसरी भए पनि मौका र अवसर पाउन तँछाडमछाड गरी लागेका छन् । नेपालीमा एउटा उखान छ– सिस्नु रोपेर तुल्सी उम्रिन्न । शासक दलहरूले हिजो सिस्नु रोपेकैले आज सिस्नु हुर्किरहेको हो ।
Leave a Reply