भर्खरै :

शाहिन बागको कला

गायती सिंह
भारतको राजधानी नयाँ दिल्लीको शाहिन बागनजिकै एउटा ‘हाइवे साइनबोर्ड’ मा तीन रङ्गको हिजाब लगाएकी एक महिलाको एउटा ठूलो पोस्टर झुन्ड्याइएको छ । “बोल ¤ तिम्रा ओठ स्वतन्त्र छन् ¤”, पोस्टरमा एक महिलाले बोलिरहेको देखाइएको छ ।
नजिकैको मेट्रोको खम्बामा पनि त्यही पोस्टर टाँसिएको छ । शाहिन बागमा धर्ना बसिरहेका महिलाहरूको हात–हातमा र भारतभर अहिले चलिरहेको आन्दोलनमा सहभागी आन्दोलनकारीले आज त्यही र त्यस्तै चित्राङ्कित पोस्टर बोकेका छन् ।

भारतका मुसलमान, दलित र अन्य सीमान्तकृत समूहलाई भारतीय नागरिकको देशव्यापी गन्ती गर्ने सरकारको योजना राष्ट्रिय नागरिकता पञ्जीकरण–एनआरसीले आफूलाई राज्यविहीन बनाउने हो कि भन्ने आशङ्का छ । आसाम प्रान्तमा गत वर्ष भएको यस्तै अभ्यासले झन्डै दुई करोड नागरिकलाई नागरिकताबाट विमुख बनाइएको थियो ।

बितेका छ महिनादेखि विवादास्पद नागरिकता संशोधन ऐन (सीएए) को विरोधमा भारतभर सडक आन्दोलनको उभार उठेको छ । धर्मलाई नागरिकता दिने आधार बनाइँदा मुसलमानमाथि विभेद भएको आन्दोलनकारीहरूको असन्तोष छ ।
हिन्दु राष्ट्रवादी भारत सरकारले तीन छिमेकी देशहरू (पाकिस्तान, अफगानिस्तान र बङ्गलादेश) का दमनमा परेका अल्पसङ्ख्यक जनतालाई सहायता गर्न सो कानुन बनाउनुपरेको तर्क गरिरहेको छ । तर, आलोचकहरूले सो कानुनबाट भारतीय संविधानको धर्मनिरपेक्षताको अपमान भएको बताएका छन् ।
भारतका मुसलमान, दलित र अन्य सीमान्तकृत समूहलाई भारतीय नागरिकको देशव्यापी गन्ती गर्ने सरकारको योजना राष्ट्रिय नागरिकता पञ्जीकरण–एनआरसीले आफूलाई राज्यविहीन बनाउने हो कि भन्ने आशङ्का छ । आसाम प्रान्तमा गत वर्ष भएको यस्तै अभ्यासले झन्डै दुई करोड नागरिकलाई नागरिकताबाट विमुख बनाइएको थियो ।
‘प्रजातन्त्र उत्सव’
नयाँ दिल्लीको शाहिन बाग र अन्यत्रका सार्वजनिक थलोलाई प्रदर्शनकारीहरूले कलात्मक बनाएका छन् ।
“कलाले प्रतिरोध र प्रतिकारलाई सहयोग गर्छ”, तान्जिलाले भनिन् । उनी विज्ञापन व्यावसायिक हुन् । तीन रङ्गी हिजाब लगाएकी महिलाको निकै चर्चित चित्र उनले नै बनाएकी हुन् । आफूभित्रको आक्रोश नै सो चित्र बनाउनुको मूल उत्प्रेरणा भएको तान्जिलाले भनिन् ।

“यो ऐनले मलाई यति धेरै तरिकाले बिथोल्यो, मभित्रै देखि आक्रोशित भएँ”, उनले भनिन् ।
तान्जिलाले उक्त चित्र आफ्नो इन्स्टाग्राममा राखेकी थिइन् । उनको लागि त्यो आत्मअभिव्यक्तिको एउटा माध्यम थियो । “मलाई यो कला देशभरि यति लोकप्रिय होला भन्ने लागेको थिएन”, उनले भनिन् ।
तान्जियाको निम्ति यो चित्र आफ्नो पहिचानसँग नजिकबाट जोडिएको छ ।
“यो चित्रमा त्रिरङ्गी हिजाबले भारतीय मुस्लिम महिलाको प्रतिनिधित्व गर्छ । त्यसमा चित्रित महिलाले कवि फैज अहमद फैजको कविता वाचन गरिरहेकी छिन्”, पाकिस्तानी माक्र्सवादी लेखक फैजले लेखेको उर्दु कविता ‘हम देखेँगे’ (हामी देख्नेछौँ) उद्धृत गर्दै उनले भनिन् । सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेयता भारतकै सबभन्दा विशाल सरकारविरोधी आन्दोलनमा फैजको यो कविता आन्दोलनको गीत बनेको छ ।
“सबैलाई आवाज राख्न यो एउटा आह्वान हो किनभने धेरै भएपछि चिनी पनि तितो हुन्छ”, उनले भनिन् ।
विरोध प्रदर्शनको रूपमा सुरु भएको आन्दोलन आज ‘प्रजातन्त्रको उत्सव र फरक मतको सामथ्र्य प्रदर्शनको अवसर’ मा रूपान्तरण भएको छ”, कलाकर्मी अनिरव घोषले भने । घोष शाहिन बाग पुगेका थिए । त्यहाँको महिला आन्दोलनले उनलाई केही कुरा सिर्जना गर्न हौस्यायो । उनले सिर्जेको कलामा भारतीय महिलाहरूले हातमा मैनबत्ती र भारतीय झन्डा बोकेर विजयको मुठ्ठी उठाइरहेका छन् ।
“पछिल्लो इतिहासमा यति बृहत् विरोध प्रदर्शन भारतमा कहिल्यै भएको थिएन”, घोषले भने । कोलकोत्तामा बसेर कलाकर्म गर्ने घोष भन्छन्,“गान्धीको अहिंसाको दर्शन यो आन्दोलनमा प्रस्टै देखिँदैछ ।”
शाहिन बागको आन्दोलनअघि घोषका कला गैरराजनीतिक विषयमा केन्द्रित हुन्थ्यो । “प्रतिक्रिया जनाउने र अडान लिने सबैको लागि एउटा बिन्दु हुने रहेछ”, उनले भने । उनको कलाले शाहिन बागको पर्खाल आज पूरै ढाकेको छ ।
कला अर्थात् ऐक्यबद्धताको हतियार
लम्य खान आफ्नै अभ्यासले कला सिकेकी ग्राफिक डिजाइनर हुन् । भारतको आजको परिस्थितिमा मौन बस्नु अब उपयुक्त विकल्प उनलाई लागेन । “यही कुराले मलाई केही न केही काम गर्न अभिप्रेरित ग¥यो”, उनले भनिन् । “कला नै आफूलाई उत्कृष्ट तरिकाले व्यक्त गर्ने बलियो माध्यम लाग्यो । म लामो समयसम्म चुपचाप बसें । आज हाम्रोसामु प्रस्टतः एउटा विभाजनकारी कानुन छ । त्यसको विरोध नगरी बस्ने अवस्था रहेन”, उनले भनिन् ।
खानको कलाकृतिमा तीन महिला मुठ्ठी उठाइरहेका छन् । यो आज आन्दोलनमा उत्रेका महिलाहरूको साहसप्रति समर्पित कला हो ।
“सामान्यतः मानिसहरू मुसलमान महिला कमजोर हुन्छन् भनी सोच्छन् । उनीहरूलाई ‘राजनीतिमा सामेल हुन नदिइने’ कुरा गरिन्छ । परम्परागतरूपमा हिजाब लगाएका महिलाको लागि यो सत्य थियो । शाहिन बागको आन्दोलनले यी मुसलमान महिलाहरू पृथ्वीका भारमात्र होइनन्, आफ्नो भिन्न मत राख्न समावेशी र धर्मनिरपेक्ष मञ्चको पनि नेतृत्व गर्न सक्छन् भन्ने कुरा देखाएको छ ।”, खानको भनाइ ।
खानको लागि कला प्रतिरोधको शक्तिशाली माध्यम हो । कला र कलाकर्मीको सक्रियताले धेरैको ध्यानाकर्षण गर्न सक्छ । उनले आफ्नो कला धेरैभन्दा धेरै मानिसको सामाजिक भावना निर्माणमा उपयोगी हुनेमा आशा व्यक्त गरिन् ।

नयाँ मिडियाका कलाकर्मी अख्सत नौरियालको लागि कला ऐक्यबद्धताको निकै महत्वपूर्ण हतियार हो । उनले सीएएको विरोधमा इन्स्टाग्राममा नयाँ कलाको प्रयोग गरेका छन् । उनको नयाँ कलाले धेरैभन्दा धेरै मानिसलाई सामाजिक सञ्जालमार्फत आन्दोलनमा जोडिन मद्दत गरेको छ । दुई दिनमा ८० हजारभन्दा बढी मानिसले उनको सो कलामार्फत यो आन्दोलनमा ऐक्यबद्धता जनाए । आज संसारका धेरै मानिस विद्युत्तीय माध्यम र प्रविधिसँग जोडिएका छन् ।
“आन्दोलनको सौन्दर्यशास्त्रमा जब परिमार्जन आउँछ, तब सर्वसाधारण मानिसले पनि आन्दोलनमा सहभागी बन्ने अनेकन उपायको खोजी गर्छन्”, नौरियालले भनिन् ।
शाहिन बागमा ४० फिट (२० मिटर) अग्लो फलामको फ्रेममा ठूलो भारतीय नक्सा प्रतिस्थापन गरिएको छ । यसलाई वैचारिक रूपान्तरणको प्रतीक मानिएको छ । “यो आन्दोलनकारीहरूका मागको दृश्यात्मक कला अभिव्यक्ति हो”, सामाजिक कार्यकर्ता राकेश कुमारले भने ।
‘अस्तित्वको सम्मान गर वा प्रतिरोधको सामना गर’
कलाकार गार्गी चन्दोलाले कलाकार र व्यापक जनसमुदायबीच ‘सिर्जनात्मक सामूहिक चेतना’ को विकास भइरहेको बताइन् । कलाले मौन बसेका बहुमत मानिसलाई आन्दोलनमा समाहित हुन उत्साहित गरेको हुन्छ । यो कुरा आजको आन्दोलनमा पनि देखिएको चन्दोलाले भनिन् ।
उनले जामिया इस्मालिया विश्वविद्यालय क्याम्पसमा प्रहरीको निर्मम दमनपश्चात् सामाजिक सञ्जालमार्फत कलाकारहरूका गतिविधिले बितेका दुई महिनामा नागरिकता ऐनविरोधी आन्दोलन विकासमा मद्दत पु¥याएको अनुभव सुनाइन् ।
“हरेक दिन हामी विश्वविद्यालयको गेटमा बस्थ्यौं, विभिन्न सन्देश लेखिएका पोस्टर लिएका हुन्थ्यौं । हामी जामियाका विद्यार्थीलाई यो आन्दोलनमा उनीहरू एक्लै नभएको देखाउन चाहन्थ्यौं”, उनले भनिन् ।
चन्दोलाको भनाइमा विरोधका शान्तिपूर्ण उपायमाथि निषेधको हतियार चलाउँदा भिन्न मत राख्ने सबभन्दा शक्तिशाली हतियार भनेको कला नै हो ।
“कला नै कुनै पनि अधिनायकवादी शासनको प्रतिरोध गर्ने सबभन्दा शक्तिशाली हतियार हो”,उनले भनिन् ।
“उत्पीडकले कहिल्यै पनि कला कर्म गर्न सक्दैन । उनीहरूले कलाकारलाई थुन्न सक्छन् । प्रतिमा भत्काउन सक्छन् । ध्वस्त बनाउन सक्छन् र कलाकारलाई धम्की दिन सक्छन्”, उनले थपिन् ।
तान्जिलाले कलाले सबै भयका चक्र तोड्ने विश्वास गर्छिन् र भविष्यको पुस्तालाई आशावादी बनाउन सहयोग गर्ने बताउँछिन् । “आगामी दस वर्षपछिको पुस्ताले पनि कुनै भय मान्नुपर्ने अवस्था नरहोस् भनी हामीले आज बोल्न आवश्यक छ”, उनले भनिन् ।
शाहिन बागमा राखिएको तान्जिलाले बनाएको सानो पोस्टरमा लेखिएको छ ः ‘अस्तित्वको सम्मान गर वा प्रतिरोधको सामना गर ¤’
स्रोत ः अल जजिरा
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *