भर्खरै :

विदेशबाट फर्केका युवाको रोजाइमा च्याउ खेती

तानसेन, १६ माघ (रासस) । पाल्पामा विदेशबाट फर्केका युवाको च्याउ खेतीमा आकर्षण बढ्न थालेको छ । युवाहरूले निस्दी गाउँपालिका वडा नं ५ गेझा, ढुङ्गानाबेँसी, वेलडाँडामा विभिन्न च्याउ फार्म सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।
करीब एक दर्जनको हाराहारीमा पाल्पामा व्यावसायिक तवरले कृषकले च्याउ खेती गर्दै आएका छन् । बजारमा रू. २०० देखि ७०० प्रतिकिलोमा बिक्री हुने च्याउ गल्धा गेझाका पचभैंया मोटरसाइकलमा बिक्रीका लागि निस्दी, रामपुरलगायत जिल्लाका विभिन्न ठाउँ, स्याङ्जा, तनहुँ र नवलपुरसम्म पु¥याउनुहुन्छ ।
पाल्पाका शेरबहादुर सोतीलाई पनि यतिबेला च्याउ बिक्रीमा भ्याइनभ्याई भएको छ । विभिन्न मौसमी बेमौसमी तरकारी खेतीसँगै च्याउखेती थाल्नुभएका सोतीले च्याउ बिक्रीबाटै वर्षमा रू. चार लाख कमाउने बताउनुभयो । “वहराइनमा दुई वर्ष काम गरेर दुःख पाएँ, कमाइ राम्रो भएन, अब कहिल्यै विदेश नजाने गरी तरकारी खेतीमा लागेको आठ वर्ष भयो”, उहाँले भन्नुभयो ।
रामपुरका बलबहादुर रानाले पनि विगत ६ वर्षदेखि च्याउ खेती गर्दै आउनुभएको छ । विदेशबाट फर्केपछि च्याउ खेती थाल्नुभएका रानाले वेझाडमा च्याउगोठमा च्याउ उत्पादन गरी बिक्री वितरण गर्दै आएको बताउनुभयो । एक हजार २०० गोला राख्नुभएका रानाले प्रायः होलसेलमा रामपुरका बजारमा च्याउ बिक्री गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *