भर्खरै :

सुशासनका लागि जनउत्तरदायित्व जरुरी

सृजना सैंजू
(माघ १३ गते सुशासन विधेयकमाथि प्रदेशसभामा भएको छलफलमा सृजना सैंजूले राख्नुभएको विचार)
सार्वजनिक प्रशासन सामाजिक परिवर्तन, देश विकासको निम्ति जिम्मेवार तथा संवेदनशील पक्ष हो । त्यसले निर्वाह गर्ने भूमिका र संरचनाकोे प्रकृतिको आधारमा स्थायी सरकार भनिएको हो । तर, सार्वजनिक प्रशासन जहाँ असक्षम, भ्रष्ट र पक्षपाती हुन्छ त्यो देश या प्रदेशमा विकास असम्भव हुन्छ या अत्यन्त ढिलो हुन्छ । परिवर्तनको अनुभव जनताले कहिल्यै गर्न पाउँदैनन् ।
सार्वजनिक प्रशासन सेवाभावले युक्त, मर्यादित, व्यवस्थित, प्रविधिले युक्त, इमानदार र जनताप्रति जवाफदेही नबनेसम्म सेवा प्रभावकारी, छिटो, छरितो र उपलब्धिमूलक हुने छैन । जब आपैmँ रोगी हुन्छ तब उसले सन्तोषजनक सेवा कसरी दिन्छ ? सार्वजनिक प्रशासन भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीबाट मुक्त बनाउन नसकेसम्म सुशासनको अपेक्षा गर्नु व्यर्थ हुनेछ ।
सुशासनको निम्ति राजनीतिक हस्तक्षेप आज ठूलो तगारोको रूपमा खडा छ । सक्षम, योग्य र दक्षलाई भन्दा पनि राजनीतिक निकटता तथा लेनदेनको आधारमा नियुक्तिको गलत प्रचलनको कारण आज सार्वजनिक प्रशासन जनविश्वास गुमाउँदै छ । शासक दलहरूले भित्याएको भागबन्डाको महारोगको कारण आज देशका हरेक निकाय डुब्दै छन् । संरचनाहरू ध्वस्त बन्दै छन् । गम्भीर प्रकृतिका अपराधमा संलग्न कर्मचारीलाई राजनीतिक संरक्षण दिने, छुट दिने र अझ पुरस्कृतसमेत गर्नेजस्ता गलत अभ्यासको कारण आज सार्वजनिक प्रशासन आलोचित छ र बदनाम छ । सरकारप्रति जनविश्वासमात्र घटिरहेको छैन बरू जनआक्रोश बढ्दो छ । स्वयम् कर्मचारीहरूमा मनोबल घट्दै गइरहेको प्रस्ट छ । यस्तो स्थिति कायम राखेर सुशासनको आश्वासन दिनु भनेको जगहँसाउने कार्यबाहेक केही हुनेछैन । आजको यो स्थितिमा पूरै हेरफेर ल्याउने सोच, प्रतिबद्धता, व्यावहारिक पाइला आजको आवश्यकता हो । हिजो भएका गल्ती, कमी–कमजोरीप्रति सार्वजनिकरूपमा क्षमा याचना गर्दै र ती नदोहो¥याउने इमानदारीका साथ प्रतिबद्धता जनाउनु सुशासनको पहिलो ढोका खोल्नु हुनेछ । अन्यथा सुशासन जनता ठग्ने नयाँ नाराबाहेक केही हुने छैन । यस कार्यको थालनी प्रदेशबाट गर्न असम्भव देखिन्न । यो हाम्रो नयाँ प्रदेशलाई परम्परागत बेथिति एवं विसङ्गतिबाट टाढा राखी नयाँ सकारात्मक तथा रचनात्मक अभ्यासको थालनी गर्ने थलोको रूपमा विकास गर्न सके केही हदमा भए पनि जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सकिनेमा विश्वास गर्न सकिएला ।
सार्वजनिक प्रशासनको सञ्चालन, परिचालन तथा नियन्त्रण स्वयम् राजनीतिक विषय पनि हो । त्यसको निम्ति प्रथमतः जिम्मेवार सरकार नै हुने गर्दछ । तसर्थ सरकार र शासक दल स्वयम् खराब छ, असक्षम छ, भ्रष्ट छ र जनउत्तरदायित्वप्रति विश्वास राख्दैन भने सुशासन आकाशको फल साबित हुनु अस्वाभाविक होइन । तसर्थ सुशासनले सर्वप्रथमतः असल तथा कुशल शासकको माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *