भर्खरै :

प्रजातन्त्रप्रति सन्तुष्ट हुने आधार खोइ ?

– प्रकाश 
प्रजातन्त्रप्रति नेपालीहरूको असन्तुष्टि दक्षिण एसियामै सबैभन्दा बढी रहेको एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । बेलायतको प्रसिद्ध केम्ब्रिज विश्वविद्यालयका अध्ययनकर्ताहरूले सन् २००५ यता गरेका तीनवटा सर्वेक्षणहरूमा ‘सहभागीमध्ये आधादेखि तीनचौथाइसम्म नेपालीहरूले आफ्नो देशको प्रजातन्त्रको कार्यशैलीप्रति असन्तुष्टि देखाएको’ जनाइएको छ । दक्षिण एसियाका अन्य देशहरूमा प्रजातन्त्रप्रति मानिसहरूको विश्वास अन्यत्रको तुलनामा उच्च रहेको बेला नेपाल भने अपवाद बनेको उक्त अध्ययनको निष्कर्ष छ ।
उक्त प्रतिवेदनअनुसार विकसित देशहरूमा प्रजातन्त्रप्रतिको अविश्वास २५ वर्ष यता सबैभन्दा उच्चस्तरमा पुगेको छ । केम्ब्रिजका अध्येताहरूले सबैभन्दा ठूलो विश्वव्यापी तथ्याङ्कको अध्ययन गरेर निष्कर्ष निकालेको जनाएका छन् । उनीहरूका अनुसार उक्त अध्ययनका लागि गरिएका साढे तीन हजार सर्वेक्षणले चालीस लाख मानिस समेटेको छ ।
उक्त प्रतिवेदनको निष्कर्षलाई नेपालका सत्तासित नजिक रहेका विश्लेषक र विद्वानहरूले असहमति जाहेर गरेका छन् तर ती विद्वानहरूले नेपालको प्रजातन्त्रले दिएको के कुरामा जनता सन्तुष्ट हुनसक्छन् भनी भन्न सकेनन् । प्रजातन्त्रमा जनताले पाउने सबभन्दा ठूलो कुरा राजनीतिक र अभिव्यक्ति स्वतन्त्रता हो । तर नेपालमा आफूलाई प्रजातन्त्रवादी र जनवादी बताउने नेताहरूले राजनीतिलाई यसरी नियन्त्रण गरेका छन् कि नेपालको राजनीतिमा ती नेताहरूका परिवारका सदस्य, नातागोता वा आशीर्वाद प्राप्त सेवकहरूबाहेक अरु उठ्नै नसक्ने बन्दोबस्त गरिएको छ । शासक दलहरूले राजनीतिलाई निःस्वार्थरूपले जनताको सेवा गर्ने माध्यमभन्दा सत्ता र शक्तिमा रहेर पुस्तौँसम्मका लागि अकूत सम्पति कमाउने साधन बनाइरहेका छन् ।
यसका कारण सर्वसाधारण नेपाली जनता राजनीतिदेखि वाक्कदिक्क छन् भने प्रजातन्त्रले केही दिएको अनुभूति गर्न सकिरहेका छैनन् । त्यस्तै संविधानको मौलिक हकको रूपमा बन्दोबस्त गरिएका शिक्षा, स्वास्थ्योपचार, खाद्य सम्प्रभुता वा सुरक्षा, रोजगार सृजना, शोषणविरुद्धको हकलगायत यावत व्यवस्था लेखनमै सीमित छन्, व्यवहारमा लागू भएको पाएका छैनन् ।
हातमुख जोर्नकै लागि लाखौँ नेपाली युवाहरु छिमेकी देश भारत र विभिन्न देशमा भौतारिन बाध्य छन् । बरु जताततै अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती, गैरजिम्मेवारी, पक्षपात, नातावाद, कृपावाद, जनअनुतरदायी व्यवहार देखिइएका छन् । योग्यले भन्दा पनि धेरै पैसा खर्च गर्नसक्नेहरूले निर्वाचन जित्छन्, अधिकांश स्थानमा त्यस्ताले नै अवसर पाइरहेका छन् , योग्यहरू परपर मिल्काइएका छन् । जुनसुकै जोगी आए पनि कानै चिरेका उखानझैँ कुनै सरकार पनि भ्रष्टाचारबाट मुक्त हुन सकेको छैन । यस्तो अवस्थामा प्रजातन्त्रप्रति सन्तुष्ट हुने आधार खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *