भर्खरै :

यात्रा संस्मरण विश्व सम्पदा सूचीमा सूचिकृत अस्ट्रेलियाका जेल – १

लक्ष्मण जोशी
तीनपटक अस्ट्रेलिया जाँदा पनि घुम्ने चाँजो नमिलेको तास्मेनिया जाने अवसर पछिल्लोपटक मिल्यो । अगस्त २०१९ मा श्रीमती, छोरा, बुहारी र नातिसहित एक पारिवारिक कार्यक्रममा सहभागी हुन त्यहाँ जाँदा बेलायतबाट अस्ट्रेलिया जेलसार गर्दा राखिएका विश्व सम्पदा सूचीमा सूचिकृत दुई जेलको भ्रमण पनि ग¥यौँ ।
भिक्टोरियाको मेलबर्नबाट तास्मेनियामा हवाईजहाज र पानीजहाजबाट जान सकिन्छ । तर, हामी आन्तरिक उडानबाट गएका थियौँ । मेलबर्न विमानस्थलमा आवश्यक शुल्क तिरेर धेरै दिनसम्म कार पार्किङ गर्ने सुविधा छ । कार पार्किङ गर्ने ठाउँ पाउन खोज्नुप¥यो किनभने त्यहाँ हजारौँ कार पार्किङ गरिराखेका थिए । पछि कार भेट्टाउन गा¥हो होला भनेर मोबाइलबाट फोटो खिचेर राख्यौँ –’H’ को क्षेत्र ।
हवाईजहाजको टिकट पहिले नै बुकिङ गरेकोले सामानको तौल, सुरक्षा जाँच आदि प्रक्रिया पूरा गरी विमान चढ्यौँ । एक घण्टाको यात्रा गरी तास्मेनियाको राजधानी होबार्ट विमानस्थलमा ओल्र्यौं । अन्तर्राष्ट्रिय उडानमा खाना, चिया आदि दिइन्थ्यो तर आन्तरिक उडानमा पानी किनेरमात्र पाइने रहेछ । होबार्ट विमानस्थलमै भाडाको कार लिनको लागि प्रक्रिया पु¥याउन केही समय लाग्यो । कारको नम्बर दिएपछि खोजेर भेट्टायौँ । त्यहाँ भाडामा दिने त्यस्ता कारहरू दर्जनौँ थिए । हामीले लिएको कारको केही ठाउँमा कोरकार परेको देख्यौँ, पछि झमेला नहोस् भनेर सम्बन्धित मान्छेलाई बोलाएर देखायौँ । त्यसपछि होबार्टको सडकमा कारबाट बाहिरको दृश्यावलोकन गर्दै पहिले नै बुकिङ गरेको भिलामा पुग्यौँ । होटलमा बस्नुभन्दा परिवार जाँदा भिला (छुट्टाछुट्टै घरहरू भएको) सस्तो पर्नेरहेछ । कार र भिलाको भाडा दैनिक १००–१०० डलर पर्दोरहेछ ।
भिलामा दुई सुत्ने कोठा, बैठक, भान्छा र शौचालय एक–एकवटा भएको सानो घर सुविधाजनक लाग्यो । भान्छामा पकाउने र खाने भाँडाकुँडा, फ्रिज, चिया बनाउने सामग्री थिए भने शौचालयमा साबुन, रुमाल, तातो र चिसो पानीको व्यवस्था, बैठकमा एउटा टेलिभिजन, सोफा, कफि टेबल, मेच–टेबल, भुइँमा कार्पेट बिछ्याइएको, कोठाहरूमा खाट, कोठा या ओछ्यान तताउने बन्दोबस्त थियो ।
पुगेको दिन सामानहरू ठाउँमा राखेर आराम ग¥यौँ । बेलुका बजार घुम्दै नेपालीको पसल खोजेर ‘डाँफे’ रेष्टुराँमा खाना खायौँ ।
भोलिपल्ट होबार्टको प्रसिद्ध पहाड १,२७० मिटर अग्लो वेलिङटन घुम्यौँ । यो तास्मेनियाको ५१ औँ अग्लो पहाड रहेछ । फर्केर विश्व सम्पदा सूचीमा सूचिकृत क्यास्केड जेल हेर्न गयौँ ।
विश्व सम्पदामा गर्व
विश्व घुमेर पनि भक्तपुरको दरबार क्षेत्रको भ्रमण गरिएन भने आधा विश्वमात्र घुमेको ठहरिनेछ भनी पत्रकार र लेखक एडवार्ड अलेक्जेन्डर पावेल (सन् १८७०–१९५७) ले यतिविघ्न प्रशंसा गरेको अद्वितीय सम्पदा क्षेत्रमा दिनहुँझँै पुगेको भक्तपुरवासी भए पनि विदेशका सम्पदा अवलोकन गर्ने हुटहुटी लाग्नु स्वाभाविक छ । नेपालकै सबभन्दा अग्लो पाँचतले मन्दिरको भव्यता, स्वर्णद्वार र ५५ झ्याल दरबारको सुन्दरता, दत्तात्रय मन्दिरको वास्तुशैली र मयूर झ्याल हेरेर हामी अघाएका छैनौँ । त्यस्तै काठमाडौं र ललितपुरका समेत मूर्त र अमूर्त उत्कृष्ट र अद्वितीय वास्तुकला, काष्ठकला, प्रस्तरकला, धातुकलालगायतका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरू हेरेर नेपालीहरू गर्व गरिरहेका छन् । ती सम्पदाहरूले हाम्रो सभ्यता र संस्कृतिलाई उजागर गरिरहेका छन् । यसर्थ ‘पुर्खाले सिर्जेको सम्पत्ति–हाम्रो कला र संस्कृति’ भन्ने भक्तपुर नपाको नारा कालजयी छ भन्दा अतिशयोक्ति हुँदैन ।
नेपालले आप्mनो मौलिक सम्पदामा गर्व गरेझैँ विश्वका सबै देशले आ–आप्mना सम्पदामा गर्व गर्नु स्वाभाविक छ । सबै सम्पदाका आ–आप्mना गुण र लक्षण हुन्छन् । तर, सम्पदाको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक महत्व हुन्छ । त्यसैलाई जगेर्ना गर्न संयुक्त राष्ट्र सङ्घको शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदामा सूचिकृत गर्दछ । विश्व सम्पदामा सूचिकृत सम्पदाहरू तत् देशको राष्ट्रिय सम्पदामात्र नभई विश्वकै सम्पदाको रूपमा लिइन्छ ।
युनेस्कोले सम्पदाहरूलाई तीन वर्गमा वर्गीकरण गरेको छ –
१. प्राकृतिक (नेपालको चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज)
२. सांस्कृतिक (काठमाडौँ उपत्यकाका तीन दरबार क्षेत्र, चाँगुनारायणजस्ता मानव निर्मित)
३. मिश्रित (प्राकृतिक र सांस्कृतिक दुवै भएको)

चित्र १ – अस्ट्रेलियाका प्रदेशहरू


युनेस्कोले निर्धारण गरेका मापदण्ड पूरा भएका सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्छ । मापदण्ड प्रतिकूल भएमा खतराको सूचीमा राख्ने र सूचीबाट हटाउने पनि गर्छ । नेपालका सम्पदामध्ये काठमाडौँ उपत्यकाका सम्पदालाई सन् २००३ मा खतराको सूचीमा राखेको थियो, संरक्षण कार्य गरेपछि हटाइएको थियो । २०७२ सालको महाभूकम्पपछि युनेस्कोको प्रतिनिधिमण्डलले काठमाडौँ उपत्यकाको निरीक्षण भ्रमण गरेपछि फेरि खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ । २०७६ असोजमा पनि युनेस्कोको ‘मनिटरिङ मिसन’ ले सम्पदाको पुनः अध्ययन गरेको छ । अध्ययनको क्रममा बौद्धनाथ र पशुपति क्षेत्रमा मापदण्ड प्रतिकूल विश्व सम्पदाको गुण खस्किँदै गएको टोलीले ठहर गरेको छ । त्यसैले खतराको सूचीबाट हट्ने सम्भावना कम भएको आशङ्का गरिएको छ । स्मरणीय छ, भक्तपुर नगरपालिकाले भक्तपुर नगरमा रहेका विश्व सम्पदालगायतका राष्ट्रिय सम्पदाहरूको जीर्णाेद्धार, परम्परागत मौलिक शैली अर्थात् गुण र लक्षणअनुरूप पुनःनिर्माण, जीर्णोद्धार गरी संरक्षण गरिरहेको छ, करोडौँ रकम खर्चिरहेको छ । काठमाडौँ, ललितपुर र चाँगुको सम्पदा पनि जीर्णाेद्धार र पुनःनिर्माण भइरहेको छ । तर, पशुपति क्षेत्रको कारण भक्तपुर, काठमाडौँ र ललितपुरका बाँकी छ वटै विश्व सम्पदा सूचीबाट हटन सक्छ । किनभने काठमाडौँ उपत्यकालाई एउटा क्षेत्र मानेर विश्व सम्पदा सूचीमा राखेको हो । एक विश्व सम्पदा क्षेत्रको सातवटा अलग अलग घटकमात्र हुन् । ती सातवटा घटक हुन्–
१. भक्तपुर दरबार क्षेत्र
२. काठमाडौँ दरबार क्षेत्र
३. ललितपुर दरबार क्षेत्र
४. पशुपतिनाथ क्षेत्र
५. स्वयम्भूनाथ क्षेत्र
६. बौद्ध स्तुप क्षेत्र
७. चाँगुनारायण मन्दिर क्षेत्र
त्यसैले सातमध्ये एउटा सम्पदा वा घटकमा असर प¥यो र सूचीबाट हटायो भने उपत्यकाका सात वटै घटकको एक क्षेत्र नै सूचीबाट हट्छ ।
युनेस्कोको यो नीतिले विश्व सम्पदा सूचीका सम्पदाहरू भूकम्प वा अन्य कारणले बिग्रे–भत्के पनि यथास्थितिमा संरक्षणमात्र गर्नुपर्ने महसुस पङ्क्तिकारलाई अस्ट्रेलियाका विश्व सम्पदा सूचीमा सूचिकृत दुईवटा जेलको भ्रमण गरेपछि भएको छ ।
मन्दिर, दरबार, मठ–विहारजस्ता सम्पदालाई विश्व सम्पदामा सूचिकृत भएको धेरैलाई थाहा छ । तर, जेल पनि विश्व सम्पदा भन्दा केहीलाई आश्चर्य लाग्नसक्छ । विश्वमा झन्डै ६ दर्जन जेल र कैदीसँग सम्बन्धित राष्ट्रिय र विश्व सम्पदा रहेका छन् । छिमेकी भारतमा बेलायती उपनिवेशकालमा थुप्रै राजबन्दीहरूलाई अन्डमान टापुमा ‘कालापानी’ पठाइएको थियो । ती राजबन्दीलाई निर्मम यातना, कठोर परिश्रमका साथै तिनीहरूमाथि विभिन्न औषधिको प्रयोग पनि गथ्र्यो । त्यहाँबाट थोरैमात्र बाँचेर फर्केका थिए । त्यस्तै दक्षिण अफ्रिकाका तत्कालीन बेलायती कठपुतली गोरा सरकारले नेल्सन मण्डेलालाई रोबेन टापुमा थुनेको थियो । तीलगायत विश्वका अन्य जेलहरू विश्व र राष्ट्रिय सम्पदामा सूचिकृत गरिएका छन् ।
जेलसार
यहाँ अस्ट्रेलियाका जेलको कुरा गर्नुभन्दा पहिले जेलसार  (Transportation) को इतिहासको जानकारी दिनु समीचीन हुनेछ ।
‘प्रजातन्त्रको जननी’ भनिएको बेलायत ‘घाम नडुब्ने साम्राज्य’ को देश पनि थियो । विश्वमा प्रजातान्त्रिक पद्धतिको विकास बेलायतबाट भएको मानिन्छ । साथै विगतमा पृथ्वीको पूर्व–पश्चिम–उत्तर–दक्षिणका विभिन्न भागमा उसले उपनिवेश खडा गरेकोले ‘घाम नडुब्ने’ भनिएको हो । आजका दिनमा पनि उसलाई बुढो साम्राज्यवादी देश भनिन्छ ।
बेलायतले विगतमा आजको साम्राज्यवादी देश संरा अमेरिकामा पनि उपनिवेश कायम गरेको थियो । अमेरिकी स्वतन्त्रता आन्दोलनबाट अमेरिका स्वतन्त्र भएको थियो ।
आजको संयुक्त अधिराज्य (United Kingdom) विगतमा बेलायत (Britain) मात्र थियो । स्कटलान्ड, आएरलान्ड र वेल्स हड्पेपछि ग्रेट ब्रिटेन हँुुदै सन् १७०७ मा संयुक्त अधिराज्य बन्यो । यसमा स्कटलान्ड र वेल्स बेलायतसँग जोडिएको छ भने आएरलान्ड उत्तरी आन्ध्र महासागरको एउटा ठूलो टापू हो ।

चित्र २ – बेलायतबाट अमेरिका टाढा छ, अस्ट्रेलिया झन् धेरै टाढा छ ।


आएरलान्ड भाषा, साहित्य, सङ्गीत, कला, पाक विधि, परम्पराजस्ता संस्कृतिमा धनी र प्रसिद्ध छ । यहाँ झन्डै ११ हजार वर्ष पहिलेदेखि मानव अस्तित्वमा रहेको प्रमाण भेटिएको छ । पहिलेका स्कटलान्ड, वेल्स र आएरलान्ड देशका मानिसहरूमा आज पनि धेरै थोरै बेलायती वा अङ्ग्रेजहरूप्रति विरोधी भावना छ, आएरलान्डमा प्रवल छ । सन् ११०० को उत्तराद्र्धतिर बेलायतले आक्रमण गरी आप्mनो देश हड्पेकोमा विशेषगरी आएरलान्ड र स्कटलान्डका जनता संयुक्त अधिराज्यका अङ्ग्रेज सरकारसँग सङ्घर्ष र युद्ध गरेको लामो इतिहास छ । पछिल्लो घटना स्मरण गर्दा आएरलान्डमा बेलायती शासन समाप्त पार्न आइरिश रिपब्लिकन आर्मी (आइआरए) र आएरलान्डको कम्युनिस्ट पार्टीको अर्धसैनिक दस्ता आइरिश नेसनल लिबरेसन आर्मी (आइएनएलए) ले बेलायती सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरेका थिए र सङ्घष रोकिएको छैन । त्यसक्रममा ती सङ्गठनका बन्दीहरूले जेलमा ऐतिहासिक एवम् विश्व चर्चित भोक हडताल गरेका थिए । सन् १९८० र १९८१ मा गरेको राजबन्दीहरूको भोक हडतालले बेलायती सरकारको प्रजातान्त्रिक मुकुण्डो थुतिएर नालीमा बगेको थियो । सन् १९८० मा ७ जनाले गरेको भोक हडताल ५३ दिनसम्म चलेको थियो । त्यस्तै सन् १९८१ मा आइआरए र आइएनएलए का १० जना राजबन्दीहरूले राजनीतिक उद्देश्यका साथ जेलसँग सम्बन्धित ‘पाँच माग’ राखेर आमरण अनसन गरे । हडताल गरिरहेकै बेला आइआरएका बबी सान्डस् (Bobby Sands)संयुक्त अधिराज्यको संसदमा निर्वाचित भए । ती अनसनकारीहरू २३ देखि २९ वर्षका थिए । ४६ दिनदेखि ७३ दिनसम्म अनसन बस्दाबस्दै १० जनाकै निधन भएको थियो । २७ वर्षका बबीको अनशनको ६६ औँ दिनमा निधन भएको थियो । त्यसबेला मार्गरेट थ्याचर प्रधानमन्त्री थिइन् । सन् २०१३ मा थ्याचरको मलामीमा सडकमा उभिनेसहित हजारौँ सहभागी भए भने सन् १९८१ मा बबीको मलामीमा एक लाख सहभागी भएका थिए ।
आएरलान्डका विभिन्न स्थानमा ती सहिद अनसनकारीहरूको भित्तिचित्र (murals) आज पनि राखिएका छन् ।
यसरी चार देशबाट बनेको संयुक्त अधिराज्यको क्षेत्रफल २,४२,४९५ वर्ग किमि छ । त्यसो भनेको नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किमिभन्दा दोब्बर ठूलो पनि छैन । संयुक्त अधिराज्यमा त्यसबेला जनसङ्ख्या एक करोडको हाराहारीमा थियो । तर, कैदीहरूको सङ्ख्या ठूलो थियो । ती कैदीलाई राख्ने जेल पनि पुग्दो मात्रामा थिएन । जेलहरूमा कैदीहरू खचाखच भरिएका थिए । त्यसैले कैदीहरूलाई उसले आप्mना उपनिवेश देशमा जेलसार (Convicts transportation) गर्नथाल्यो । अर्को शब्दमा कैदीहरूलाई कालापानी पठाए । बेलायतकै जेलमा थुनिएको भए कैदीका परिवारले समय–समयमा भेट्न भए पनि पाउँथ्यो । तर, अर्को देश र गोलाद्र्धको भूमिमा जेलसार गरिंदा कैदी र तिनका परिवारलाई ठूलो मानसिक यातना पु¥याउने काम ग¥यो ।
अमेरिकामा उसले सन् १६१० देखि जेलसार गर्न थालेको थियो । अमेरिकी स्वतन्त्रता आन्दोलन सन् १७७६ सम्ममा झन्डै १ लाख २० हजार कैदी जेलसार गरेको थियो । अमेरिकी स्वतन्त्रता आन्दोलन चर्कंदै गएपछि त्यहाँ जेलसार गर्न सम्भव भएन । तब उसले अर्को उपनिवेश अस्टे«लियामा जेलसार गर्नथाल्यो । अस्ट्रेलियामा सन् १७८७ देखि १८६८ सम्म बेलायती कैदीहरूलाई जेलसार गरेको थियो । त्यस अवधिमा १ लाख ६४ हजारभन्दा बढी कैदीहरू अस्ट्रेलियाको मुख्त्ूमि र तास्मेनियाका विभिन्न स्थानमा बनाइएका जेलहरूमा जेलसार गरेको थियो ।
बेलायतमा त्यस समय चोरी, डकैती, लुटपाटलगायतका घटनाहरू धेरै बढ्नुका कारण औद्योगिक क्रान्ति पनि एक थियो । क्रान्तिबाट वस्तुहरूको उत्पादन ठूलो परिमाणमा भयो तर हातले गर्ने काम मेसिनले गर्न थालेपछि बेरोजगारहरूको सङ्ख्या अत्यधिक बढ्यो । यता कृषि क्रान्तिले गह्राहरू ठूल्ठूला फाँट बने तर स्वामित्व मुट्ठीभर जमिनदारहरूमा सीमित भयो । उत्पादन बढ्यो तर स–साना किसान र खेती मजदुरहरू बेरोजगार हुन थाले । बेरोजगारहरूले काम पाउन गाह्रो भयो, पाए पनि ज्याला थोरै र काम गर्ने समय लामो पारियो । यस्तो अवस्थामा भोकै बस्नु वा मर्नुपथ्र्यो वा चोर्नुको विकल्प रहेन । परिणाम जेलहरू छिटछिटो भरिन थाल्यो । मानिसहरूमा बाँच्ने स्वाभाविक तीव्र इच्छा हुन्छ, परिणाम मर्नुभन्दा बाँच्नको लागि अपराध गर्न थाले । सरकारले रोजगार दिनुको साटो कडा कानुन बनाउन थाल्यो, सानातिना अपराधमा पनि कठोर काराबास र मृत्युदण्ड दिनथाल्यो । मृत्युदण्ड पाएका, राजबन्दी, विद्रोहीलगायत सानातिना अपराधका दोषीलाई समेत कालापानी पठाएर बेलायती सरकारले जेलहरू केही होलो पारे, उपनिवेशहरूमा पकड दरिलो बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *