भर्खरै :

जनसेवा आधारभूत विद्यालयको ४८ औँ वार्षिकोत्सव सम्पन्न

जनसेवा आधारभूत विद्यालयको ४८ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर, ७ असोज । जनसेवा आधारभूत विद्यालयको ४८ औँ वार्षिकोत्सव, छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रमको भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख जोशीले नगरभित्रको शैक्षिक विकासका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । बालबालिकाको चौतर्फी विकासका लागि किताबी ज्ञानका साथै खेलकुद र अतिरिक्त क्रियाकलाप उत्तिकै महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
वार्षिकोत्सवको अवसर पारेर विद्यालयमा नवनिर्मित ‘प्ले स्टेसन’ (खेल कक्ष) को समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा साना बालबालिकाहरूको मनोरञ्जन र सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको उक्त प्ले स्टेसन निर्माणले विद्यालयको भौतिक सुन्दरता थप भएको प्रंशसा उहाँले गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिशु कक्षादेखि आदर निकेतनसम्मको कार्यलाई उत्तिकै महत्व दिएको तथा भक्तपुरलाई ‘जीवन्त नगर र बाजाको नगर’ को रूपमा अघि बढाउँदै लगेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले पूर्व बाल विकास तहको शिक्षालाई विशेष प्राथमिकता दिँदै क्षमतावान् शिक्षकले क्षमतावान् विद्यार्थी तयार गर्न सकिन्छ भन्नुभयो । उहाँले अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालयको भौतिक सक्षमताले गुणस्तरीय शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने पनि उहाँले औँल्याउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्यारी दुवालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधारको विकास र आगामी दिनमा चालिने कदमहरूबारे विस्तृत जानकारी दिनुका साथै विद्यालयको समग्र स्तर उन्नतिको लागि सहयोग गर्न अपिल गर्नुभयो ।
यस्तै, आधारभूत विद्यालय समितिका अध्यक्ष कृष्णगोपाल कर्माचार्य, बुद्धिजीवी राजेन्द्र श्रेष्ठ, समाजसेवी पशुपति प्रजापतिले विद्यालयको स्तरोन्नति र विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आ–आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति राजाराम सुवालले भन्नुभयो, “विद्यार्थीको भविष्यमा देशको भविष्य लुकेको हुन्छ । नियमित विद्यालय पठाएमा बालबालिकाको शैक्षिक प्रगति हुन्छ, अभिभावक बालबालिकाको शिक्षाप्रति सचेत र सजग हुनुपर्छ ।”
कार्यक्रममा कृष्णदेवी छात्रवृत्ति प्रज्वल सुवेदी र मेलिना राईलाई वितरण गारिएको थियो । कार्यक्रममा नृत्य विधामा उत्कृष्ट भएका छात्रातर्फ प्रनिशा तामाङ र छात्रतर्फ सोमेल ग्यावालाई नृत्य पदक २०८३ प्रदान गरिएको थियो । विविध खेलकुद र अतिरिक्त क्रियाकलापको समेत पुरस्कार वितरण गरिएको थियो ।
औपचारिक कार्यक्रमको समापनपछि विद्यार्थीहरूले विभिन्न लोकझाँकी, नृत्य र गीतसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *