भर्खरै :

के नेकपा सिद्धान्त र विचारअनुसार चल्छ ?

 – वस्तुराज ‘शीतल’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक चालू छ । बैठकमा नेताहरूले सरकार र पार्टी नेतृत्वको कडा आलोचना गरेको र नेतृत्वलाई प्रश्नैप्रश्न गरेको समाचार प्रकाशमा आयो । नेताहरूले नेतृत्वको कडा आलोचनामात्र गरेर पुग्दैन, पार्टीको नेतृत्वले लिएको सिद्धान्त र विचारअनुसार व्यवहारमा लागू गर्न र गराउन दबाब पनि दिनुपर्छ । यो सरकार कुनै पनि हालतमा कम्युनिस्टको सरकार नभएको भन्ने नेकपाका एक नेताको भनाइ ठिक्कै हो । अन्य कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू नेकपालाई कम्युनिस्ट मान्दैनन् या भन्न रुचाउँदैनन् । पार्टीले लिएको कार्यनीति, गतिविधि र घटनाक्रम हेर्दा र बुझ्दा नेकपा कम्युनिस्ट नाउँको पुँजीवादी पार्टी हो भन्ने अन्य कम्युनिस्ट नेता र राजनीतिज्ञहरूको विश्लेषण बेठीक होइन ।
नेकपाको केन्द्रीय समितिको बैठक नेकपालाई साँच्चै कम्युनिस्ट बनाउने र देशमा आमूल परिवर्तनको निम्ति तयार गर्नेतर्फ उन्मुख हुनुपर्छ । माक्र्सवादी र लेनिनवादी मूल्य र मान्यताअनुसार अघि बढाउन नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै बनाउन र एमसीसी अवधारणा अस्वीकार गर्ने निर्णय नेकपाले गरेर त्यसलाई व्यवहारमा उतार्नसके त्यो बैठकको ठूलो उपलब्धि हुनेछ । नेकपाभित्रकै नेताहरूले उठाएअनुसार नेताहरूको सम्पति छानबिन हुनुपर्छ । शिक्षा र स्वास्थ्यलाई व्यापारको थलो बनाइरहेको नेताहरूको कार्य रोकिनुपर्छ ।
व्यापारीहरूसँग पैसा मागेर, मतदातालाई मासुभात खुवाएर निर्वाचित नेताहरू व्यापारीप्रति बफादार हुने हो कि मतदाताप्रति भन्ने नेकपाकै नेताहरूको जिज्ञासा स्वाभाविक थियो । निर्वाचनताका ठूला दलहरूले व्यापारीहरूसँग करोडौँ रकम असुलेकै कारण निर्वाचन सक्नेबित्तिकै मालसामानको मूल्य बढ्छ या महँगो हुन्छ । त्यही कारण निर्वाचन प्रणाली महँगो हुन्छ र भइरहेको हो । नागरिकको शिक्षा र दायित्व सरकारले अवश्य लिनुपर्छ । शिक्षा प्रणाली महँगो र अवैज्ञानिक हुनुुहुँदैन । कुनै नेताहरूले अवैध ढङ्गबाट अकुत सम्पति जोडेका छन् या घर सम्पति जोडेका छन् भने ती नेताहरूको सम्पति छानबिन गर्नुपर्छ, आयस्रोतभन्दा बढी देखिएको रकम राष्ट्रिकरण गरिनुपर्छ या देश र जनताको सेवामा उपयोग गर्नुपर्छ । नेकपाका नेताहरूले उठाएका माग र विषयवस्तु काल्पनिक होइनन्, यथार्थ नै हुन् । नेताहरूले उठाएका मागको सम्बोधन नेकपाले गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *